Comments Add Comment

नरुलाल चौधरीः रेडियोको समाचार वाचकदेखि देशकै ठूलो उपमहानगरको मेयरसम्म

को हुन् नरुलाल ? कसरी सम्भव भयो नसोचेको परिणाम ?


२० असार, दाङ । नरुलाल चौधरीलाई एमालेले घोराही उपहानगरपालिकाको मेयरमा उम्मेदवार बनाएपछि थारु अध्येता तथा बौद्धिक नेता महेश चौधरीले लेखेका थिए– एमालेले थारुको मनको कुरा बुझ्यो । नरुलाल अब एमालेका मात्र उम्मेदवार रहेनन्, दाङ देउखुरीका भूमिपुत्र थारुले मनमनै निर्णय गरिसकेका छन् ।

नभन्दै देशकै सबैभन्दा ठूलो उपमहानगर घोराहीको मत परिणामले त्यहि साबित ग¥यो । एमालेका लागि नरुलालको सरप्राइज भो तर थारु समुदायका अगुवा बडघरहरले रातारात निर्णय गरिसकेका थिए–नरुलाललाई भोट दिने,थारुले नेतृत्व गर्ने यो अवसर कुनै हालतमा नगुमाउने ।

घोराहीको मेयरमा नरुलालको जितले एमाले पंक्तिलाईमात्र होइन दाङका थारु समुदायलाई पनि उत्साहित बनाएको छ । सधैं जैशी बाहुन र क्षेत्रीहरुको हैकममा परेका थारुले यसपटक घोराहीको नेतृत्वमा आफ्नै समुदायको मेयर पाएपछि अपनत्वको महशुस गरेका छन् ।

थारु बाहुल्य क्षेत्रमा अरु पार्टीले थारुलाई उपेक्षा गर्नु, रनीतिक र सामाजिक क्षेत्रमा नरुलालको सक्रियता अग्रभागमा रहनु र पार्टीमा पनि हाइ प्रोफाइल थारु नेता भएका कारण घोराहीमा एमालेको जित सम्भव रहेको विश्लेषण महेश चौधरीको छ । चौधरी भन्छन्, एमाले थारु विरोधी हो भन्ने जुन प्रचार थियो नरुलालको उम्मेदवारीले त्यो खण्डन गरेको थियो, उनको विजयपछि एमाले थारुको मुख्य आकर्षणको पार्टी हो भन्ने देखाएको छ । देशका ७ उपमहानगरपालिकामा चुनाव हुँदा २ जना थारुलाई मेयरमा टिकट दिएर एमालेले थारुको मन जित्न खोजेकै हो ।’

नरुलालको चुनावी रथ यस पटक एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले हाँकेका थिए । दाङमा ०७० सालको संविधानसभा चुनावमा पराजित भएपछि पोखरेलले पार्टीको साख फर्काउन यसपटक मिहिनेत गरेकै हुन् ।

घोराही र तुलसीपुर उपमहानगरपालिका जित्दा ठूलो सन्देश जाने भएकाले उनी पछिल्लो समय उतै अड्डा जमाएर बसे । यो अभियानमा शान्ता चौधरी, महेश चौधरी, मेटमणि चौधरी जस्ता थारु समुदायका अगुवा नेताहरु साथमा थिए ।

पटक पटक पराजयको पीडा भोगेको एमालेले दाङमा यसपटक प्रतिष्ठाको सवाल बनाएर लाग्यो । गुटबन्दीले ग्रस्त एमालेहरु यसपटक सबै बिगत बिर्सिएर नाम होइन घाम हेरौं भन्दै पार्टी जिताउन लागे । कांग्रेसभित्रको अन्तरबिरोधको पनि राम्रैसँग फाइदा लिने प्रयास गरे ।

को हुन् नरुलाल चौधरी

नरुलाल चौधरी एमालेका हाइ प्रोफाइल नेता होइनन् । जिल्ला अध्यक्ष हुँदाहुँदै नवौं महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवार बने । तर उनी केन्द्रीय सदस्यमा पनि पराजित भए र जिल्ला अध्यक्ष पद पनि गयो । पछिल्लो समय उनी पार्टीमा कुनै कार्यकारी जिम्मेवारीमा थिएनन् ।

उनी अनुभवले खारिएका किसान नेता हुन् । २०२४ साल वैशाख ३ गते घोराही–२ रामपुरमा जन्मिएका नरुलाल बुबा विलरा र आमा मन्धरी चौधरीको कान्छा छोरा हुन् । चौधरीका ६ जना दिदी बहिनी छन् ।

स्नातकोत्तरसम्मको अध्ययन गरेका चौधरी नेकपा एमालेको वडा, गाउँ, क्षेत्रका विभिन्न पदहरुमा रहेर काम गर्दै दाङ जिल्ला अध्यक्षसम्म भए । उनी ०५४ सालमा रामपुर गाविसको अध्यक्षमा निर्वाचित भएका थिए ।

गाविस अध्यक्ष भएका बेला बिकट रामपुरमा उनले गरेका भौतिक पुर्वाधार विकास,सामाजिक कामहरुले पनि उनलाई अघि बढ्न सघाए । त्यहि रामपुर अहिले उपमहानगरपालिकामा गाभिएको हो ।

चौधरीको नेतृत्वमा रामपुरका विकट ठाउँहरुमा समेत दर्जनाैं स्कूल, खानपानी, सिंचाइ, अस्पतालहरु निर्माण भएका छन् । रामपुरलाई कृषिको पकेट क्षेत्र घोषणा गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका चौधरीले पूर्वाधार विकासमा धेरै काम गरेको स्थानीयले बताएका छन् ।

राजनीतिमा प्रवेश गर्नु अगाडि दुई वर्ष शिक्षक र दुई वर्ष रेडियो नेपालमा जागिर समेत खाएका थिए चौधरीले । कुनैबेला उनी रेडियो नेपालमा थारु भाषामा समाचार पढ्थे ।

नरुलालका योजना

घोराही उपमहानगरका मेयर चौधरीले घोराही क्षेत्रलाई हरियालीयुक्त बनाएर प्रदुषणमुक्त बनाउने, धूलोरहित शहरका रुपमा विकास गर्ने, अन्य सबैखाले सुविधाहरु नगरबासीलाई प्रदान गर्ने प्रतिबद्धता जनाएका छन् ।

स्थानीय तहको निर्वाचनका लागि उनका चुनावी एजेण्डा यस्ता थिए:

– उपमहानगरका १९ वटै वडालाई घोराही नगरसँग जोडेर बाह्रै महिना गाडी चल्न सक्ने बनाउने ।

– घोराहीमा सबै जनताले अझै पनि स्वच्छ खानेपानी पाइरहेका छैनन् । त्यो समस्या सम्बोधन गर्न बोरिङ गरेर पानी निकाल्ने, कुवा खनाउने र धारा सञ्चालन गर्ने ।

– कृषिलाई व्यावसायिकरण र आधुनिकीकरण गर्नका लागि सिंचाइ सुविधाको व्यवस्था गर्ने ।  सिंचाइका लागि खोलानाला व्यवस्थित गर्ने र सकेसम्म हाई ड्याम निर्माण गरेर बहुउद्देश्यीय ढंगले त्यहाँ माछापालन, पर्यटकका लागि बोटिङ गराउनुका साथै त्यहाँको पानी सिंचाइ तथा खानेपानीका लागि पनि प्रयोगमा ल्याउने ।

– उपमहानगरका सबै ठाउँमा विद्युतीकरण हुन सकेको छैन । सम्भव भएका ठाउँहरुमा विद्युत् पुर्‍याउने र अन्य ठाउँमा सोलारको माध्यमबाट जनतालाई उज्यालो दिने ।

– प्रत्येक वडामा ५ बेडको मिनी हस्पिटल सञ्चालन गर्ने । घोराहीमा स्वास्थ्य विज्ञान प्रतिष्ठान खोल्न विशेष प्राथमिकता ।

– सामुदायिक विद्यालयहरूको खस्किएको शैक्षिक स्तर सुधार गर्ने । प्राविधिक शिक्षा लागू गर्ने र विषयगत शिक्षकहरुलाई अझ दक्ष बनाउने ।

– पर्यटनका हिसाबले धेरै सम्भावना रहेको घोराहीमा भ्यू टावर र पर्यटकीय पूर्वाधार निर्माण गरेर पर्यटक आकर्षित गर्ने । सवारीकोटबाट प्याराग्लाइडिङको परीक्षण सफल भइसकेकोले त्यसलार्इ सञ्चालनमा ल्याउने । मठमन्दिरको संरक्षण र प्रचार गरी धार्मिक पर्यटक पनि भित्र्याउने ।

– घोराहीमा रिङरोड बनाउने । हापुर, नारायणपुर, ढिकपुर, धर्ना हुँदै बबई नदीपारिबाट रामपुर लगेर फेरि हापुरमा जोड्ने ।

– बजारक्षेत्र रहेको उपमहानगरको सरसफाइका लागि फोहोर व्यवस्थापनमा ध्यान दिइने । एमालेका नेता तथा पूर्व मेयर अम्बरबहादुर डाँगीको पालामा बनाइएको ८६ बिगाहा क्षेत्रफलको ल्यान्डफिल्ड साइटलार्इ अझ व्यवस्थित गर्दै वैज्ञानिक ढंगले फोहोर व्यवस्थापन गर्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment