Comments Add Comment

सुरक्षित करोबार प्रणाली लागू, चल सम्पत्तिमा लिएको ऋण दर्ता हुने

व्यक्तिले गर्ने कर्जा लगानीलाई पनि मान्यता

२१ असार, काठमाडौं । ऐन बनेको ११ वर्षपछि सरकारले सुरक्षित कारोबार प्रणाली सञ्चालनमा ल्याएको छ । यससँगै अब बैंक तथा वित्तीय संस्थाले चल सम्पत्ति धितो राखेर दिने ऋण सुरक्षित र व्यवस्थित हुने छ ।

२०६३ मा नै सुरक्षित कारोबार ऐन आएको भए पनि अहिले आएर यसको कार्यान्वयन हुन सकेको हो । यो ऐनले नेपालमा पहिलोप्टक बैंक तथा वित्तीय संस्था बाहेकका व्यक्ति वा संस्थाले पनि कर्जा लगानी गर्न सक्ने व्यवस्था गरेको छ ।

‘यो प्रणाली लागु भएपछि चल सम्पत्तिको धितोमा दिइने ऋण दर्ता हुनेछ र एउटै धितो राखेर एकभन्दा बढि ऋणदाताबाट खाम्नेभन्दा बढि ऋण लिने अवस्थाको अन्य हुनेछ,’ नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले भने ।

कर्जा सुचना केन्द्र लिमिटेडले सञ्चालन गर्ने गरी सुरक्षित कारोबार दर्ता कार्यालय सञ्चालनमा आइसकेको छ । कार्यालयले हालसम्म कुनै पनि पक्षबीच भएको लेनदेन कारोबारको दर्ता गर्नसुचना जारी गरेको छ । जेठ १ गते तीन महिनाको म्याद राखेर सुचना जारी गरिएको थियो, जुन आजका मितिले २९ दिन बाँकी छ । यो अवधिमा कारोबार दर्ता गर्न पहिलो प्राथमिकता बैंक तथा वित्तीय संस्थाले पाउनेछन् ।

यसअघि पनि बैंक तथा वित्तीय संस्थाले चल सम्पत्तिको धितोमा छिटपुट कर्जा नदिएका होइनन् । राष्ट्र बैंकको गत बैशाखसम्मको तथ्यांक हेर्ने हो भने बैंक तथा वित्तीय संस्थाले जारी गरेकामध्ये ६१ प्रतिशत कर्जाको धितोको रुपमा घर–जग्गा राखिएको छ । त्यस्तै, सुन–चाँदीको धितोमा १.८ प्रतिशत कर्जा दिइएको छ । चल सम्पत्तिको धितोमा १३.९ प्रतिशत मात्र कर्जा गएको छ । अब चाहिँ चल सम्पत्ति धितो राखेर ऋण प्रवाह गर्न बैंक तथा वित्तीय संस्थाहरु उत्प्रेरित हुनेछन् ।

‘यो नेपालको आर्थिक बिकासमा कोशेढुंगा सावित हुन सक्छ, यसले व्यवसाय गर्न चाहनेहरुलाई सहयोग पुग्नेछ,,’ थापाले उल्लेख गरे ।

सुरक्षित कारोबार प्रणाली लागु हनु नसक्दा साना तथा मझौला कर्जा विस्तार हुन नसकेको बताउदै आएको राष्ट्र बैंकले यसमा पनि सुधार हुने अपेक्षा गरेको छ ।

‘यो प्रणाली अन्तरगत चल सम्पत्तीको धितोमा जारी हुने कर्जा मात्र दर्ता हुन्छ,’ कर्जा सुचना केन्द्रका प्रमूख कार्यकारी अधिकृत अनिलचन्द्र अधिकारीले भने, ‘त्यस्तै यसले एउटै धितोमा पटक–पटक ऋण लिन सक्ने अवस्थालाई व्यवस्थित गर्छ ।’

अधिकारीका अनुसार एउटै धितोले पनि खाम्ने ऋण छ भने एकभन्दा बढि ऋणदाताबाट कर्जा लिन सकिने अवस्थालाई यसले रोकेको छैन ।

पहिले दर्ता गर्नेको पहिलो दावी

सुरक्षित कारोबार दर्ता कार्यालयमा यसरी हुने कारोबारको दर्ता गर्नुपर्छ । यसले एउटा धितोमा कतिजनाले ऋण दिएका छन्, त्यो धितोमा थप ऋण दिन सकिने अवस्था छ/छैन् भन्ने जानकारी दिन सजिलो पर्नेछ । त्यस्तै, खराब कर्जा भएमा यो प्रणालीमा पहिले जसले कारोबार दर्ता गरेको हुन्छ धितोमा पहिलो दाबी पनि उसैको लाग्छ । कर्जा लिनेले कर्जा नतिरेको अवस्थामा उसले सोझै धितोको कारोबार रोक्का गरेर ऋण उठाउन पाउनेछ ।

ऋण उठाउन धितोको बिक्रीपछि आउने रकममा पहिलो दाबी पहिलो ऋणदाताको र त्यसपछि क्रमशः दर्ता क्रम अनुसार अन्यको दाबी लाग्नेछ । यस्तो कारोबारमा मतभेद भएर अदालतसम्म मुद्दा पुगेमा पनि पहिलो प्राथमिकता पहिलो ऋणदाताले नै पाउछ । यो मुद्धामा अदालती प्रक्रिया पनि चाँडो हुने व्यवस्था छ ।

बैंकहरुमार्फत् चल धितोमा जाने कर्जाको नियमन राष्ट्र बैंकले पनि गर्छ । तर सुरक्षित कारोबार प्रणालीमा दर्ता भएको कारोबारको नियमन भने अर्थमन्त्रालयले गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment