Comments Add Comment

सिजनमै नेपाली आँपको ‘खँडेरी’, ब्यवसायी भन्छन्-बैलैमा चाख्नुस्

कस्ता आँप खाने ?

 असार, काठमाडौं । अहिले ‘फलफूलको राजा’ मानिने आँपको मुख्य सिजन चल्दैछ । तर, यो वर्ष काठमाडौंको बजारमा राम्रो गुणस्तरका नेपाली आँप महंगो हुँदा उपभोक्ता मारमा परेका छन् । खुद्रा बजारमा किलोको सय रुपैयाँभन्दा कमका कुनै आँप नै पाइँदैन ।

भारतबाट प्रायः सबै सिजनमा आँप आउने भएपनि नेपालमै उत्पादन भएका आँप यो सिजनमा विशेष मानिन्छ । तर, यसवर्ष नेपालमा आँपको उत्पादन घटेको छ । यो वर्ष उत्पादन घट्दा स्वदिष्ट प्रजातिको आँप गतवर्षको भन्दा दोब्बर भएको ब्यवसायी बताउँछन् ।

सिजनमै नेपाली आँपको ‘खँडेरी’ छ भने उपलब्ध आँप नि महंगा छन् । प्रायः प्राकृतिक रुपमै आँप एक वर्ष बढी फल्ने र अर्को वर्ष कम फल्ने हुन्छ ।

गतवर्ष नेपालमा आँपको राम्रो उत्पदन भएको थियो । यो वर्ष भने उत्पादन निकै घटेको छ । तराईमा योवर्ष हावाहुरी र असिनाले धेरै आँपमा क्षति पुर्‍याएको थियो । त्यसैले बजारमा मागअनुसार आँप आउन नसक्दा मुल्य पनि आकासिँदो छ ।

दैनिक रुपमा आँपको मूल्य बढ्दै गर्दा बजारमा आँप खोज्नेहरु पनि बढिरहेका छन् । तर, उत्पादन कम भएकाले नेपाली आँप चाँडै सकिने अवस्था आएकाले अब भारतीय आँपमा भर पर्नुपर्ने अवस्था भएको नेपाल फलफूल तथा तरकारी ब्यवसायी महासंघले जनाएको छ ।

मुग्लिन-नारायणगढ सडक खण्डको दूरावस्थाका कारण बिगि्रएको आँप आउने र अन्य बाटोबाट आएपनि महंगो पर्ने कारण लागत बढेर आाप थप महंगो भएको नेपाल फलफूल तथा तरकारी ब्यवसायी महासंघका महासचिव रुद्रप्रसाद पाठक बताउँछन् ।

सिजनको सुरुवातमा आँप सस्तो भएपनि पछिल्लो दिनमा महंगिँदै गएको छ । नेपाली आँपको स्वादको मज्जा लिन चाहानेहरुले तत्काल आँप नकिने केही समयपछि बजारमा भारतीय आँप मात्रै रहने अवस्था आएको महासंघको दावी छ ।

अहिले बजारमा विभिन्न प्रजातिका आँप खरिद-बिक्री भइरहेका छन् । काठमाडौंमा पनि दैनिक ठूलो मात्रामा आँप भित्रिरहेको छ । काठमाडौंमा मुख्यतया मालदह, दशहरी, बम्बई र कृष्णभोग आँपको माग उच्च छ ।

फलफूल ब्यवसायी संघका महासचिव पाठक यी चार प्रजातिको आँप नै बढी खोजिने भएकाले आपूर्ति पनि यसैको बढी भइरहेको बताउँछन् । उनका अनुसार मुख्यतया मालदह आँपमा अधिकांश उपभोक्ता आकषिर्त छन् । धेरै गुलियो मन पराउनेहरुले भने दशहरी आँप खोज्छन् । यी आँपमा झुत्रा नलाग्ने र खान पनि स्वादिष्ट हुन्छ ।

‘यो वर्षनेपालमा उत्पादन कम भयो । त्यसैले राम्रो मालदह आँप त हामीले थोकमै किलोको १२० रुपैयाँसम्ममा बेच्नुपरेको छ’ पाठक भन्छन्-‘हामीले नै क्रेटको २५/२६ सय रुपैयाँमा बेच्नु परेपछि खुद्रा बजारमा त किनिनसक्नु नै भएको छ । एक क्रोट आँपमा करिब २५/२६ किलो आँप नै हुन्छ ।

बजारमा पैरी, सरपुरी, रुमानी, मलिका, लगंरा, नीलम, जर्दालु, गोपालभोग, गुलाब खस, अम्रपाली, खजरीलगायत प्रजातिका आँप पनि बजारमा छन् । आँपको प्रजातिअनुसार मूल्य फरक-फरक छ ।

बल्खुको फलफूल थोकबजारमा मालदह र दशहरी आँप किलोको ११० देखि १२० रुपैयाँमै पाइन्छ । तर, बाहिर खुद्रा बजारमा भने यही आँपको मूल्य २ सय ५० रुपैयाँ भन्दा बढी पनि लिने गरेको भेटिएको छ ।

बल्खु फलफूल बजारमा अन्य प्रजातिका आँप ४५ देखि ५० रुपैयाँ किलोमै किन्न पाइन्छ । तर, तिनै आँप बाहिर खुद्रामा किन्दा १ सय २० रुपैयाँभन्दा माथि तिर्नुपर्छ ।

फाइदाजनक आँप

टेक्सास एगि्रलाइफ रिसर्च सेन्टरका खाद्य वैज्ञानिकहरुले आँपलाई अन्य फलहरुको दाँजोमा स्तन क्यान्सरबाट बचाउ गर्नमा बढी फाइदाकारी मानेका छन् । यस्तै आँपलाई छालाको चाउरीपन रोक्न समेत प्रभावकारी मानिन्छ ।

आँपमा हानिकारक स्याचुरेटेड ˆयाट, कोलेस्टेरोल तथा सोडियमको मात्रा निकै कम हुन्छ । साथै यसमा फाइबर, भिटामिन बी, भिटामिन ए तथा भिटामिन सी प्रसस्तै पाइन्छ ।

दुब्लोहरुका लागि वजन बढाउन समेत यसले सहयोग गर्छ । आँपमा पोटासियम, म्याग्नेसियम तथा कपर जस्ता खनिजका लवण पाइन्छ । साथै क्वारसिटिन, बिटाक्यारोटिन र एस्ट्राग्यालिन जस्ता शरीरलाई आवश्यक पर्ने पोषकतत्वहरु पनि पाइन्छन् । यो एन्टीअक्सिडेन्टको पनि मुख्य श्रोत हो, जसले शरीरमा कोषको क्षयीकरण रोक्छ र शारीरिक तन्दुरुस्ती बढाउँछ ।

आँपको नियमित उपभोगले हृदय सम्बन्धी रोग, छिटै बुढ्यौली देखिने समस्या, क्यान्सरजस्ता स्वास्थ्य समस्या कम गर्न सहयोग पुग्छ । आँपमा घुलनशील फाइबर पाइन्छ जसले रगतमा कोलेस्ट्रोलका मात्रा कम गर्ने र ग्रन्थीमा हुने क्यान्सरबाट समेत बचाउँछ ।

अपच तथा अम्लीयपना जस्ता समस्या हटाउन पनि आँपको सेवन लाभदायक हुन्छ । गर्भवती र रक्तअल्पता भएका विरामीहरुले आँप खानु फाइदाजनक हुन्छ ।

कार्बाइडको डर

अहिले बजारमा आएका अधिकांश आँप नेपाली उत्पादन नै भएको व्यवसायी बताउँछन् । सिराहा, सप्तरी, सर्लाही, महोत्तरी, धनुषा, कपिलवस्तुलगायतका क्षेत्रबाट आँप ल्याउने गरिएको छ । बोटबाट टिपेर ल्याएको आँपलाई काठको धुलोबाट पात दिने भट्टीमा राखेर पकाउने गरिएको महासचिव पाठक बताउँछन् ।

तर, विभिन्न समूहले कार्बाइड राखेर पकाएको आँप पनि बजारमा आउने गरेका छन् । त्यसैले उपभोक्ता सचेत हुनुपर्ने उनको भनाइ छ ।

कार्बाइड प्रयोग गरिएको आँप प्राकृतिक रुपमा पकाएको भन्दा झण्डै ५ दिन अघि नै नष्ट हुने भएकाले धेरै ब्यापारीहरुले त्यसको प्रयोग छाडेको संघले जनाएको छ ।

मुसामा गरिएको एक अनुसन्धानले कार्बाइड प्रयोग गरेर पकाइएका फलफूलको सेवनले फोक्सो र मिर्गौलामा धेरै नकारात्मक असर पर्छ । क्याल्सियम कार्बाइडले पानीसँग प्रतिक्रिया गरी एसिटिलिन ग्यास बनाउँछ, जसले गर्दा मस्तिष्कमा अक्सिजनको मात्रामा असन्तुलन हुन जान्छ ।

मस्तिष्कमा अक्सिजनको मात्राको कमी हुँदा टाउको दुख्ने, आँखा धमिलो देखिने, रिंगटा लाग्ने, बोली लर्बराउने, सास फेर्न समस्या हुनेजस्ता असर देखिने चिकित्सकहरु बताउँछन् ।
क्याल्सियम कार्बाइडले पकाएको फलफूल खाँदा पेट दुख्ने, बान्ता हुने, पखाला लाग्नेजस्ता सामान्य समस्यादेखि फोक्सो, मुटु, मिर्गौलाको स्वाथ्यमा समेत घातक असर पर्छ ।

गर्भवति महिलाले कार्बाइड धेरै सेवन गर्दा गर्भ तुहिने र क्यान्सरसमेत हुने सम्भावना हुने क्यानेडियन वैज्ञानिकहरुले गरेको एक अध्ययनले देखाएको छ ।

कार्बाइडले शरीरमा भएको पानीसँग प्रतिक्रिया गरी एक प्रकारको क्षार बनाउँछ, जसबाट श्वास नली, घाँटी, आँखा र छालामा धेरै खालका समस्या देखा पर्छन् । धेरै मात्रामा खाँदा यसले आँखा पोल्ने, पाक्ने गराउनुका साथै अन्धो पनि बनाउन सक्ने विज्ञहरु बताउँछन् ।

कसरी चिन्ने स्वस्थ आँप ?

क्याल्सियम कार्बाइड हालेर पकाइएका फलफूल सजिलै चिन्न सकिन्छ । यदि फलफूल बोक्राको सबै भाग एकनासले पहेंलो हुने गरी पाकेको छ भने त्यसमा कार्बाइड हालेको हुनसक्छ । किनकि प्राकृतिकरुपमा फलफूल प्रायः सबैतिर एकनासले पाक्दैनन् ।

आँप, केरा, अंगुरजस्ता फलफूलको भेट्नोमा अप्राकृतिक कालो दाग छ भने त्यसले कार्बाइड हालेको संकेत दिन्छ ।

हेर्दा पहेलो, खाउँ-खाउँ लाग्ने फलफूल पनि छाम्दा साह्रो र कम बासनादार हुन्छन् । त्यस्तो हुनुको कारण पनि कार्बाइड हुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment