Comments Add Comment

तपाईको मुटुको चाल ठीक त छ ?

यस्तो अवस्थामा अपनाउनु पर्छ सावधानी

मर्निङ्ग वाक गर्दा होस् वा उफ्रदा, मुटुको चाल अचानक बढ्नु सामान्य हो  । तर कहिले कहिँ खाँदा, बस्दा वा सुत्दा मुटुको चाल अनावश्यक बढी भइदिन्छ ।  किन ?

सामान्य अवस्थामा मुटुको चालमा जुन किसिमको गडबढी हुन्छ, त्यो खतरनाक  हुनसक्छ । कतिसम्म भने, सहि समयमा उपचार गरिएन भने यसले ज्यान लिन सक्छ ।

किन हुन्छ गडबढी ?

सामान्य अवस्थामा एक मिनेटमा ६० देखि १०० पटक सम्म मुटु धड्किने गर्छ ।

यदि सोहि अवधीमा यो भन्दा कम वा बढी पटक मुटु धड्किएको अवस्था असामान्य हो । यसलाई ‘मुटुको चालमा गडबढी’ भएको मानिन्छ ।

मुटुको चाल कम भएमा– मुटुको चाल आवश्यक्ता भन्दा कम भएमा रिंगटा लाग्ने, थकान महसुस हुने, बेहोस होला जस्तो हुने वा बेहोश हुने तथा ज्यानै जाने सम्मको खतरा हुन्छ । मुटुको चाल प्रति मिनेट ६० भन्दा कम हुनलाई मुटुको चाल कम भएको मानिन्छ । तर सुतेको बेलामा मुटुको चाल ५०-५५ हुनु स्वभाविक हो ।

हिडेको बेलामा, कुदेको बेलामा पनि मुटुको चाल ६० भन्दा नबढेमा शरीरमा राम्रोसित रक्तप्रवाह हुन पाउँदैन । जसले गर्दा  रिंगटा लाग्ने, रिंगटा लागेर वेहोस हुने, सास फेर्न गाह्रो हुने या कहिलेकाहीँ ज्यान समेत जान सक्दछ ।

मुटुको चाल बढी भएमा– यो समस्या भएमा मुटु ढुकढुक गर्ने, रिंगटा लाग्ने, बेहोश हुने तथा  ज्यान पनि जान सक्छ ।

कहिलेकाही बसेको बेलामा, सुतेको बेलामा अनावश्यक रुपमा नै मुटुको चाल एक्कासी बढी बढ्ने गर्छ । जसलाई चिकित्सकिय भाषामा प्याथोलोजिकल भन्ने गरिन्छ । यदी कसैलाई प्याथोलोजिकल समस्या छ भने त्यसलाई समस्या अर्थात ‘रोग’ छ भन्ने बुझिन्छ, जसको उपचार आवश्यक छ ।

किन हुन्छ यस्तो ?

यस कसिमको समस्या कसैलाई जन्मजात हुन्छ । कतिलाई मुटुको संक्रमण र हृदयघातको कारण हुनसक्छ ।

के छ उपचार ?

१. मुटुको चाल आवश्यक्ता भन्दा बढी हुने रोगको उपचार औषधीद्वारा गर्न सकिन्छ । तर सबै मानिसलाई औषधीले काम गर्दैन । २० -३० प्रतिशतमा मात्र काम गर्ने त्यस्ता औषधी जीवनभर खानु पर्ने हुन्छ । कसैकसैलाई त्यस्ता औषधीले साइड इफेक्ट समेत हुने गर्छ ।

२. इलेक्ट्रोफिाजियोलोजिकल स्टडी तथा रेडियो फ्रिक्वेन्सी  एबलेसन (इपीएस र आरएफरए) नामक उपचार पद्धती अपनाएर यो रोगबाट छुटकारा पाउन सकिन्छ ।

३. इलेक्ट्रोफिाजियोलोजिकल स्टडी (इपीएस) मा मुटुमा चाल गडबढी गराउने असामान्य तन्तुहरु पत्ता लगाइन्छ र रेडियो फ्रिक्वेन्सी  एबलेसन (आरएफरए)द्वारा चाल गडबढी उत्पन्न गराउने असामान्य तन्तुहरुलाई जलाएर नष्ट तथा निष्किय पारिन्छ । यस्ता तन्तु सामान्यदेखि जटिल प्रकारका हुन्छन् ।

४. विना शल्यक्रिया  तथा बेहोस नपारी पनि धेरैजसो यस्ता रोगहरु सधैका लागि निको पार्न सकिन्छ । यस्तो उपचार मा विरामी भोलीपल्टै घर जान सक्छ । एकपटक रोग निको भएपछि विरामीले फेरी औषधी सेवन गर्नु पर्ने झन्झटबाट मुक्ति पाउन सक्नेछन् ।

५. शहीद गंगालाल राष्ट्रिय हृदयारोग केन्द्रकै तथ्यांक अनुसार यो उपचारका सफलता दर ९९ प्रतिरशत रहेको छ । एक प्रतिशतलाई भने पुनः बल्झने सम्भावना रहन्छ ।

६. मुटुको चाल आवश्यक्ता भन्दा कम भएमा सबैलाई उपचार आवश्यक हुँदैन । यसमा मुटुको चाल कम भएकै कारण विरामीलाई गार्‍हो भएको छ कि छैन भन्ने मुख्य हो । यदी विरामीलाई मुटुका चाल कम भएकै कारण सास फेर्नमा कठिर्नाइ उत्पन्न भएमा, रिंगटा लाग्ने, बेहोस हुने तथा ज्यानै जोखिममा पर्न सक्ने खतरा देखिएमा भने पेसमेकर जडान गरेर उपचार गर्न सकिन्छ ।

७. पेसमेकर विभिन्न किसिमका हुन्छन् । कसलाई कस्तो किसिमको पेसमेकर राख्ने भन्ने विषयमा चिकित्सकले विरामीको अवस्था हेरेर निधो गर्दछन् ।

८. मुटुुको चाल अत्याधिक रुपमा बढेर ज्यान जाने खतरा भएमा विशेष किसिमको पेसमेकर (आईसिडी) को प्रयोग गर्न सकिन्छ ।

९. एक तथ्यांक अनुसार मुटुुको चाल अत्याधिक रुपमा बढेर ज्यान जाने खतरा भएका २० मध्ये १९ जना मानिसको ज्यान जाने गर्छ तर आईसिडि राखेको खण्डमा २० मध्ये १९ जनाको ज्यान जोगाउन सकिन्छ ।

१०. मुटुको काम गर्ने शक्ति कम छ र सास फेर्न गार्‍हो छ भने सिआरटी नामक पेसमेकरको प्रयोगले पनि तपाईको समस्या सामाधान गर्न सकिन्छ । यसको प्रयोगले मुटुको काम गर्ने शक्ति बढाउँछ र सास फेर्न गार्‍हो हुने समस्यामा सुधार ल्याउँछ ।

किन सुस्त हुन्छ मुटुको चाल ?

मुटुमा विद्युत उत्पादन गर्ने विशेष प्रकारको ठाउँ हुन्छ, जसलाई साइनस नोड भनिन्छ । यदी साइनस नोडले शरीरलाई आवश्यक पर्ने विद्युत उत्पादन गर्नै नसकेको खण्डमा मुटुको चाल कम हुने गर्छ ।

त्यस्तै, सााइनस नोडले विद्युत उत्पादन गर्‍यो तर तारमै अवरोध सिर्जना भयो वा विद्युत उत्पादन गर्ने ट्रान्समिसन लाइनमै समस्या उत्पन्न भयो भने पनि मुटुको चाल आवश्यक्ता भन्दा कम हुने गर्छ । मुटुको चाल कम हुने कारणहरुमा जन्मजात कम हुने, मुटुमा संक्रमण भएर, हृदयघात पश्चात् र बढ्दो उमेर पर्दछन् ।

जन्मजातै मुटुमा करेन्ट उत्पादन गर्ने ‘साइनस नोड’ बाहेक अर्को ठाँउ भएमा वा अर्को ठाँउबाट पनि साइनस नोडलाई जितेर करेन्ट उत्पादन भएको खण्डमा मुटुको चालमा बढी हुने गर्छ । यस बाहेक विद्युत प्रवाह हुने एउटा तार हुदाँ हुदै अर्को तार भएमा र त्यसबाट पनि विद्युत प्रवाह भएमा कहिलेकाहीँ दुईतिरको करेन्ट आपसमा जुध्ने गर्छ । दुवै करेन्ट एक आपसमा जुध्दा सर्ट सर्किट भएर करेन्ट छिटो बग्ने र मुटु बढि चल्ने हुन्छ ।

कसरी धड्किन्छ मुटु ?

मुटु संचालन एवं धड्किनका निम्ती मुटुमा करेन्ट बग्न आवश्यक छ । मुटुमा करेन्ट बग्नालेे मुटु धड्किन्छ र शरीरमा रक्तप्रवाह हुने गर्छ ।

मुटुमा करेन्ट बग्नको लागि मुटुमा विद्युत (करेन्ट) उत्पादन गर्ने विशेष ठाँउ हुन्छ । जसलाई ‘साइनस नोड’ भनिन्छ । यस नोडले मुटुमा विद्युत उत्पादन गर्छ । नोडद्धारा उत्पादित विद्युत प्रवाहको लागि मुटुमा विशेष किसिमको तारको व्यवस्था हुन्छ । जुन मुटुको चारवटा कोठालाई समेट्ने गरी माथिबाट तलतिर बसेको हुन्छ । यसै तारबाट करेन्ट बग्ने गर्छ र मुटु धड्किन्छ ।

 (डा. रोशन राउतसँगको  कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment