News Summary
Generated by OK AI. Editorially reviewed.- कोलेस्टेरोल शरीरका लागि आवश्यक भए पनि यसको स्तर उच्च भएमा मुटु र मस्तिष्क रोगको जोखिम बढ्छ।
- उच्च कोलेस्टेरोलले धमनीहरू साँघुरो र कडा बनाउँछ, जसले हृदयघात र स्ट्रोकको खतरा बढाउँछ।
- अत्यधिक कफी, तनाव, चुरोट र मदिरा सेवनले कोलेस्टेरोल स्तर बढाउन सक्छ, र यसको नियन्त्रणका लागि जीवनशैली परिवर्तन आवश्यक छ।
कलेजोले मैनजस्तो चिल्लो पदार्थ उत्पादन गर्छ, त्यो हो कोलेस्टेरोल । यो शरीरका लागि अत्यावश्यक हुन्छ ।
यसले कोषिकाको झिल्ली, भिटामिन डी र केही हर्मोनहरू बनाउन आवश्यक हुन्छ । कोलेस्टेरोलले सूर्यको किरणसँग मिलेर भिटामिन डी बनाउँछ । पित्त रस बनाएर खानाको चिल्लो पचाउन मद्दत गर्छ ।
कोलेस्टेरोल आफैंमा नराम्रो कुरा होइन । तर, यसको मात्रामा गडबड आएमा स्वास्थ्य अवस्था बिग्रिन सक्छ ।
ठिक्क मात्रा कति ?
कोलेस्टेरोल मापनगर्दा २०० मिलिग्राम प्रति डेसीलिटर वा त्योभन्दा माथिको स्तरलाई उच्च कोलेस्टेरोल मानिन्छ, जब कि स्वस्थस्तर २०० मिलिग्राम प्रति डेसीलिटर भन्दा कम हुनुपर्छ । कुनै कारणवश यसको उत्पादन बढेमा शरीरका लागि घातक साबित हुनसक्छ ।
कोलेस्टेरोल बढे के हुन्छ ?
रगतमा कोलेस्टेरोलको स्तर बढेमा मुटु रोग, मस्तिष्कघात र अन्य स्वास्थ्य समस्याहरूको जोखिम बढाउँछ ।
मुटुमा समस्या
कोलेस्टेरोल रगतको माध्यमबाट धमनीहरूको भित्री तहमा जम्मा हुन्छ । त्यो जम्मा भएको कोलेस्टेरोलको लेदो क्याल्सियम र अन्य पदार्थहरू हुन्छन् ।
समय बित्दै जाँदा लेदोले धमनीहरू साँघुरो र कडा बनाउँछ, जसलाई ‘एथेरोस्क्लेरोसिस’ भनिन्छ । एथेरोस्क्लेरोसिसले रक्तप्रवाहमा अवरोध ल्याउँछ, जसले अंगहरूमा अक्सिजन र पोषक तत्वको कमी गराउँछ ।
यसले एनजाइना (छातीको दुखाइ) वा मुटुको रोग लाग्न सक्छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार उच्च कोलेस्टेरोल मुटु रोगको प्रमुख कारण हो, जसले विश्वभर हरेक वर्ष १७.९ मिलियन मृत्युको कारण बन्छ ।
हृदयघातको जोखिम
यदि धमनीमा जम्मा भएको कोलेस्टोरको लेदो फुट्छ वा रक्तनली पूर्णरूपमा बन्द हुन्छ भने मुटुको मांसपेशीमा रगत र अक्सिजनको आपूर्ति बन्द हुन्छ । यसलाई मायोकार्डियल इन्फार्कसन (हृदयघात) भनिन्छ। उच्च कोलेस्टेरोलले रक्तनलीमा अवरोध गराई ८० प्रतिशत हृदयघातको कारण बन्छ ।
स्ट्रोक
मस्तिष्कमा रगत पुर्याउने धमनीमा कोलेस्टेरोल जम्मा भएर रक्तप्रवाह अवरुद्ध हुन्छ वा रक्तनली फुट्छ । यसले मस्तिष्कको कोषिकालाई हानि पुर्याउँछ, जसलाई स्ट्रोक अर्थात मस्तिष्कघात भनिन्छ ।
उच्च कोलेस्टेरोलले इस्केमिक स्ट्रोक (रक्तनली अवरुद्ध हुने) को जोखिम २५–३० प्रतिशतले बढाउँछ ।
उच्च रक्तचाप
साँघुरो धमनीले रगतको प्रवाहमा दबाब बढाउँछ, जसले उच्च रक्तचाप बढाउँछ । उच्च रक्तचापले मुटु र रक्तनलीमा थप तनाव सिर्जना गर्छ ।
प्याङ्क्रियाटाइटिस
उच्च कोलेस्टेरोल भएमा प्यान्क्रियाज सुन्निन सक्छ । जसलाई प्याङ्क्रियाटाइटिस भनिन्छ । जसले पेटमा अत्यधिक दुखाइ, वाकवाकी र बान्ता हुनसक्छ ।
कलेजो र मिर्गौलामा असर
उच्च कोलेस्टेरोलले कलेजोमा चिल्लो जम्मा हुने (फ्याटी लिभर) र मिर्गौलाको धमनीमा अवरोध सिर्जना गर्न सक्छ । उच्च कोलेस्टेरोलले मुटु र मस्तिष्क रोगहरूको जोखिम बढाएर औसत आयु ५ देखि १० वर्षले कम गर्न सक्ने विज्ञानले पुष्टि गरिसकेको छ ।
उच्च कोलेस्टेरोलको जोखिमलाई विभिन्न कारकहरूले प्रभाव पार्छन् ।
कारक
पारिवारिक इतिहासमा कोलेस्टेरोलको समस्या भएमा उमेर बढेसँगै कोलेस्टेरोलको स्तर बढ्ने जोखिम रहन्छ । किनकि, जीनले कोलेस्टेरोलको स्तरलाई प्रभाव पार्न सक्छ ।
बढ्ने कारण
अत्यधिक कफी सेवन
कफी विश्वभरि लोकप्रिय पेय हो, तर यसको अत्यधिक सेवनले कोलेस्टेरोलको स्तरमा असर पार्न सक्छ । कफीमा पाइने क्याफिन, डिटरपेन्स (जस्तै क्याफेस्टोल र काहवेओल) ले रक्तचाप र कोलेस्टेरोल दुवैलाई बढाउन सक्छ ।
सन् २०२३ को एक अध्ययन अनुसार दैनिक ४ कप वा सोभन्दा बढी कफी पिउने व्यक्तिहरूमा खराब कोलेस्टेरोलको स्तरमा वृद्धि देखियो । विशेषगरी, एस्प्रेसो–आधारित कफीहरू, जस्तै क्यापचिनो वा लाटेमा डिटरपेन्सको मात्रा बढी हुन्छ, जसले कोलेस्टेरोललाई छिटो बढाउन सक्छ ।
समाधान के ?
सन् २०१८ को एक अध्ययनले पनि युवा वयस्कहरूले एक हप्तासम्म एस्प्रेसो–आधारित पेयहरू पिउँदा कोलेस्टेरोल स्तरमा वृद्धि भएको पाइयो । यसको प्रभाव कम पार्न दिनमा १ देखि २ कप कफीमा सीमित रहनु उचित हुन्छ ।
मानसिक तनाव
मानसिक तनाव र कोलेस्टेरोल स्तरबीच पनि सम्बन्ध छ । तनावको समयमा शरीरमा कोर्टिसोल हर्मोनको उत्पादन बढ्छ, जसले कोलेस्टेरोलको स्तरलाई बढाउन सक्छ ।
सन् २०२० मा भएको एक अध्ययनले उच्च कोर्टिसोल स्तरले लिपिड मेटाबोलिज्ममा परिवर्तन ल्याउँछ, जसले कोलेस्टेरोल वृद्धिको जोखिम निम्त्याउछ । दीर्घकालीन तनावले यो जोखिमलाई अझ बढाउँछ ।
समाधान के ?
तनाव व्यवस्थापनका लागि नियमित व्यायाम, योग, ध्यान र गहिरो श्वासप्रश्वास अभ्यासहरू उपयोगी हुन्छन् । तनाव कम गर्न पर्याप्त निद्रा र स्वस्थ जीवनशैली पनि महत्त्वपूर्ण छन् ।
यदि तनाव धेरै छ भने मनोवैज्ञानिक वा परामर्शदातासँग कुरा गर्नु उपयोगी हुन सक्छ ।
अत्यधिक चुरोट सेवन
चुरोट र अन्य सुर्तीजन्य उत्पादनहरूमा पाइने निकोटिनले राम्रो कोलेस्टेरोलको स्तर घटाउँछ । नराम्रो कोलेस्टेरोलको स्तर बढ्छ, जसले मुटु रोगको जोखिमलाई बढाउँछ।
समाधान के ?
चुरोट सेवन पूर्णरूपमा बन्द गर्नु नै सबैभन्दा प्रभावकारी उपाय हो । चुरोट छोड्न गाह्रो भएमा विशेषज्ञसँग परामर्श लिनुपर्छ ।
औषधि
केही औषधिले कोलेस्टेरोलको स्तरलाई असर गर्न सक्छ । उदाहरणका लागि, एमियोडारोन (मुटुको समस्याका लागि खाइने), डानाजोल, मूत्र औषधि, रेटिनोइडहरू, एन्टिकन्भल्सेन्टहरू, इम्युनोसप्रेसेन्ट र एन्टिभाइरल औषधिहरूले कोलेस्टेरोल बढाउन सक्छ ।
यी औषधिहरूले पनि तौल वृद्धि गराएर कोलेस्टेरोल बढाउँछन् ।
समाधान के ?
यदि यस्ता औषधिहरू प्रयोग भइरहको छ भने चिकित्सकलाई बताउनुपर्छ । उनीहरूले कोलेस्टेरोलको स्तर परीक्षण गरेर त्यो अनुसार उपचार गर्न सक्छन् ।
गर्भावस्था
गर्भावस्थामा कोलेस्टेरोलको स्तर ३० देखि ४० प्रतिशतसम्म बढ्नु स्वाभाविक हो, किनकि यो भ्रूणको वृद्धि र विकासका लागि आवश्यक हुन्छ ।
यो वृद्धि इस्ट्रोजेन, प्रोजेस्टेरोन, प्लासेन्टल ल्याक्टोजेन र इन्सुलिन प्रतिरोध जस्ता हर्मोनल परिवर्तनहरूका कारण हुन्छ । तर, कतिपय अवस्थामा कोलेस्टेरोल धेरै बढेर गर्भकालीन हाइपरकोलेस्टेरोलेमिया हुनसक्छ। जसले आमा र बच्चा दुवैको स्वास्थ्यलाई जोखिममा पार्न सक्छ ।
तीव्र तौल घटाइ
छिटो तौल घटाउनाले पनि कोलेस्टेरोलको स्तरमा अस्थायी वृद्धि हुन सक्छ । सन् २०१९ को एक अध्ययन अनुसार कम क्यालोरी खाना खाएर अस्थायी रूपमा बढ्को कोलेस्टेरोलको स्तर पछि सामान्य भएको थियो ।
समाधान के ?
तौल घटाउन स्वास्थ्य विशेषज्ञको सल्लाहमा विस्तारै र सुरक्षित रूपमा प्रयास गर्नुपर्छ । सन्तुलित आहार र नियमित व्यायामले कोलेस्टेरोल र तौल दुवैलाई नियन्त्रणमा राख्न मद्दत गर्छ।
कोलेस्टेरोल बढेमा के गर्ने ?
— खाना खाएको करिब एक घण्टापश्चात् मनतातो पानी पिउने ।
— खाना खाएपछि करिब पाँच मिनेटसम्म आरामले बस्ने । त्यसपछि केही समय हल्का टहलिने ।
— खानाको बीचमा पानी नपिउने । खाना खाँदा आरामले बस्ने ।
— लसुन, प्याज, सोयाबिन आदि खानेकुरा पर्याप्त मात्रामा खाने ।
— टुसा उम्रेका खानेकुरा खाने ।
प्रतिक्रिया 4