+
+
Shares

इटहरीमा साझा पार्टीको विजोग, चुरेभावरलाई शुन्य भोट

काठमाडौंको सिको गर्न खोज्दा जनताले पत्याएनन्

अनलाइनखबर अनलाइनखबर
२०७४ असार २३ गते १८:२३

२३ असार, इटहरी । औपचारिक रुपमा पार्टी नै गठन नभई काठमाडौं र ललितपुर महानगरपालिकामा चुनाव लडेको साझा पार्टीले पहिलो चरणमा सम्मानजनक मत पायो । काठमाडौंको मेयरमा किशोर थापाले १८ हजार बढी मत पाए भने ललितपुरमा उपमेयरकी उम्मेदवार शोभा शाक्यमा निकटतम प्रतिद्वन्द्वी नै बनिन् ।

यो मतलाई साझा पार्टीले आफूलाई जनताले भरपर्दो विकल्पका रुपमा लिएको विश्लेषण गर्‍यो । र, यसबाट हौसिँदै दोस्रो चरणमा केही स्थानमा उम्मेदवारी दियो ।

तर, हालै सम्पन्न दोस्रो चरणको चुनावमा भने साझा पार्टीले निकै निराशाजनक मत पाएको छ ।

दोस्रो चरणको चुनाव भएका ३३४ स्थानीय तहमध्ये साझा पार्टीले सुनसरीको इटहरी उपमहानगरमा मेयर र उपमेयर दुबै पदमा स्वतन्त्र उम्मेदवार उठाएको थियो ।

साझा पार्टीबाट मेयरकी उम्मेदवार डा. तारा काफ्लेले १८१ मत मात्रै पाएकी छन् भने उपमेयरका उम्मेदवार प्रकाशचन्द्र दर्जीले १७१ मत मात्रै पाएका छन् ।
इटहरीमा साझा पार्टीले भन्दा नयाँ शक्तिले केही बढी मत ल्याएको छ ।

नयाँ शक्ति र संघीय समाजवादी फोरमका संयुक्त उम्मेदवार देविप्रसाद खनालले ३७० मत पाए । नयाँ शक्ति पार्टीकी उपमेयर उम्मेदवार यमुना गुरागाईले ४२८ मत पाइन् ।

मेयरमा जितेका एमालेका द्वारिकलाल चौधरीले २२६८९ र उपमेयरमा निर्वाचित एमालेकै लक्ष्मीकुमारी गौतमले २१८४२ मत पाएकी छन् ।

निकटतम प्रतिद्वन्द्वी कांग्रेस रहृयो । मेयरका उम्मेदवार रोहितप्रसाद प्रसाईले १९९८५ र उपमेयरकी उम्मेदवार विमला सिवाकोटीले १८३५२ ले मत पाएकी छन् ।

राप्रपा तेस्रो स्थानमा रहृयो । उसका मेयरका उम्मेदवार रोहितबहादुर कार्कीले ३७१५ र उपमेयरकी उम्मेदवार माया रायमाझीले ३९१९ मत पाएकी छन् ।

चौथो स्थानमा रहेको माओवादी केन्द्रका मेयरका उम्मेदवार हरिमाया जिमीले ३३६४ र उपमेयरका उम्मेदवार भीमप्रसाद सुवेदीले ४८३१ मत पाए ।

फोरम लोकतान्त्रिकका मेयरका उम्मेदवार अरुण चौधरीले १४३७ मत पाएका छन् ।

अन्यले हजार कटाएका छैनन् । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका इन्द्रबहादुर कन्दङवाले ४१६ र नयाँ शक्ति र संघीय समाजवादी फोरमका देवीप्रसाद खनालले ३७० मत पाए ।

पार्टी बनाउन सजिलो छैन भन्ने शिक्षा इटहरीका मतदाताले साझा पार्टीका संयोजक रविन्द्र मिश्रलाई दिएका छन् । यहाँबाट मतदाताले साझा पार्टीलाई पनि भुरेटाकुरे दलकै सूचीमा राखेका छन् । यही स्थिति कायम रहेमा आगामी संसदीय चुनावमा थ्रेस होल्डका कारण साझा पार्टी थला पर्ने सम्भावना देखिएको छ ।

चुरेभावरलाई शुन्य भोट

इटहरीमा चुनाव लड्नेहरु अधिकांशले जनमत पाएनन् । तामझामका साथ उम्मेदवार उठेकाहरुलाई जनताले पत्याएनन् । केवल उम्मेदवार भए र विभिन्न नारा लाए ।

चुरेभावर लोकतान्त्रिक पार्टीको उपमेयरकी उम्मेदवार रुजा घिमिरेलाई त एक मत पनि परेन । घिमिरेको चुनाव चिन्ह कप प्लेटमा कुनै मत खसेन । मेयरमा पनि चुरेभावरका उम्मेदवार रामप्रसाद रेग्मीले चुनाव चिन्ह केटाकेटीमा ८ मत मात्रै पाप्त गरे ।

त्यस्तै मेयरका स्वतन्त्र उम्मेदवार वीरबहादुर काफ्लेले चमेरो चुनाव तिन्हमा ६ मत मात्र पाए । मेयरका उम्मेदवार पानालाल चौधरीको ज्याबलमा २२ मत खस्यो ।

नेपाल परिवार दलकी सीतादेवी ढकालको साँचो चुनाव चिन्हमा ८४ मत खसेको निर्वाचन अधिकृतको कार्यालय इटहरीले जनाएको छ ।

मेयरकै उम्मेदवार राष्ट्रिय जनमोर्चा बालकृष्ण सुवेदीको गिलासमा ३६ मत खस्यो । खुम्वुवान राष्ट्रिय मोर्चा नेपालको हथौडा चुनाव चिन्हमा उम्मेदवार मचिन्द्र राईले ८५ मत पाए ।

बैद्य माओवादीका स्वतन्त्र उम्मेदवार पदम तामाङले १२४ मत पाए ।

कुमार लिङदेनको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका इन्द्रबहादुर कन्दङवाले ४१६ मत पाए गोपीमाया लिम्वुले ४२८ मत पाइन् ।

खुम्वुवान राष्ट्रिय मोर्चाकी उममेयरमा भद्रकुमारी राईले ८७ मत, उपमेयरमा नारायण दाहालले १३ मत, नेपाल परिवार दलका अशोक कुमार चौधरीले १३८ मत पाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?