Comments Add Comment

प्रिय पाँच: ‘खबुज’ देखि ‘उर्गेनको घोडा’ सम्म

प्रगति राई कवि तथा उपन्यासकार हुन् । उनका ‘वादी विज्ञप्ति’ कवितासङ्ग्रह र ‘लेखककी स्वास्नी’ उपन्यास प्रकाशित छन् । उनी पछिल्लो समय नयाँ उपन्यास ‘बिर्सिएको मृत्यु’ प्रकाशनको तयारीमा छिन् ।

राईको रोजाइका पाँच पुस्तक यस्ता छन्: 

खबुज 

यो उपन्यास भारतको मलयाली साहित्यकार बेन्यामिनले लेखेका हुन् । दिनेश काफ्लेले गरेको नेपाली अनुवाद गजब छ । वैदेशिक रोजगारीमा गएका एक भारतीय युवाले खेपेको कष्टको कहानी पढ्दा मन गाँठो पर्छ ।

विदेशको सास्ती उपन्यासको कथा भएर आए पनि यो पाटो आजको दिनमा वास्तविक भोगाइ नै बनिरहेको छ ।

भारतबाट काम गर्न खाडी मुलुक जाने नजिब मुहम्मद नामक पात्र हाम्रै नेपाली दाजुभाइ जस्तै लाग्छ । उसले भोग्ने पीडा र खाने हण्डर खाडी भासिने नेपाली युवाहरुसँग मिल्दोजुल्दो लाग्छ । वैदेशिक रोजगारीको कहर अहिले विश्वव्यापी रुपमा साझा मुद्दा बनेको छ ।

ह्वाइट केन 

मनीषा गौचनको यो उपन्यासमा सामान्य कथा छ, तर मलाई बेस्सरी छोयो ।

हामी जसरी दृष्टिविहीनहरुको जीवन असाध्यै गाह्रो होला, आँखा नदेखेर कसरी दिनचर्या चलाउलान् भनेर सोच्छौं, खासमा उनीहरुको जीवन त्यस्तो कठिन हुँदैन । हामी सद्दे आँखा भएकाहरु जसरी सामान्य जीवन बाँचिरहेका हुन्छौं, उनीहरु पनि त्यसरी नै सहज रुपमा बाँच्ने गर्छन् । हिँड्ने, महसुस गर्ने, मान्छे चिन्ने कुरामा उनीहरुको आफ्नै तौरतरिका हुन्छ, तिनमा उनीहरु अभ्यस्त भइसकेका हुन्छन् । हामीले देख्दा मात्र उनीहरुको जीवन अप्ठेरो लाग्छ ।

उपन्यास पढिसक्दा दृष्टिविहीनहरुको जीवन त्यस्तो असहज हुँदैन भन्ने ज्ञान दिन्छ ।

किताबभित्र केही पंक्ति सारै चोटिला छन् । आँखा देख्ने पात्रले कौतुहल व्यक्त गर्छ, ‘अन्धाहरुले पनि सपना देख्छन् र ?’

अर्को पात्रले जवाफ दिन्छ, ‘सपना त आँखा चिम्लिएरै देखिने हुन्छ नि !’

मनीषाले अहिलेसम्म नेपाली साहित्यमा अरुले नलेखेको विषयमा उपन्यास लेख्ने आँट गरिन् । यो निकै गजब कुरा हो ।

चीरहरण

यो उपन्यासमा महाभारतका पात्रहरुको चारै पुस्ताभित्रको सबै व्याख्या गरिएको छ । त्यतिबेलाका महिलाहरु र अहिलेका महिलाहरुमा कति फरकपन छ भन्ने कुरा नीलम कार्की निहारिकाले यो किताबबाट देखाएकी छन् ।

खासमा हेर्ने हो भने उहिलेका र अहिलेका महिलाको हविगत उस्तै रै’छ । थिचोमिचो सहनुपर्ने अवस्था ज्युँका त्युँ छँदै छ । समाजको नीति-नियम र अनेक कुराबाट महिलाहरु आज पनि थिचिएकै छन् ।

यो उपन्यास जति मोटो छ, उति नै गुदीले भरिएको लाग्यो ।

उर्गेनको घोडा

युग पाठकको यो उपन्यासले खासगरी माओवादी युद्धमा महिलाको भूमिकाबारे बताउँछ । पुस्तकले दसवर्षे द्वन्द्वको कथा भन्ने प्रयास गरेको छ ।

उपन्यासको केन्द्रीय पात्र महिला लडाकु छे, म्हेन्दो । उर्गेन चाहिँ म्हेन्दोको सहयोगी हुन्छ । ऊ छाया पात्रको रुपमा आएको छ । ऊसँग घोडा पनि हुन्छ ।

लडाइँका क्रममा म्हेन्दोले बच्चा जन्माउँछे । तर, बच्चालाई घरमा छोडेर ऊ छापामारहरुको कमाण्डर बनेर काठमाडौं कब्जा गर्न जान्छे ।

सामान्यतया नेपाली आख्यानमा महिला पात्रहरुलाई मुख्य पात्र बनाएको विरलै पाइन्छ । उनीहरुलाई ‘सहभागी’ अर्थात् छाया पात्रको रुपमा प्रस्तुत गरिन्छ । तर, टोलीकै कमान्ड गर्ने म्हेन्दोलाई मुख्य र निर्णायक पात्र बनाएर ‘उर्गेनको घोडा’ ले नेपाली महिलाको अग्रगामी सोच र कदमलाई न्याय गरेको छ ।

सेवा र सिर्जनाका परिधिमा भद्रकुमारी घले 

भद्रकुमारी घलेबारे विभिन्न व्यक्तिले लेखेका आलेख र विचारहरुको संकलन हो यो । भद्रकुमारीले गरेका संघर्ष र जीवनका विविध पाटोबारे साक्षात्कार गराउने यो पुस्तक निकै प्रेरणादायी छ । संघर्षबाट गरेका प्राप्तिले ऊर्जा दिन सक्छ ।

सामान्यतया हाम्रो समाजमा सबै मान्छेहरु विवाह गरेर घरबार स्याहारेर, पूजापाठ गरेर बसिरहेका हुन्छन् । यो अवस्थामा भद्रकुमारी चाहिँ राजनीति, सामाजिक काम आदिबाट उदाहरणीय बनेकी छन् ।

मैले उनको काम नजिकबाट हेरेको पनि छु । उनले स्कूल खोलेकी छन्, पुस्तकालय सञ्चालन गरेकी छिन् । उनीसँग व्यक्तिगत सरसंगत भएको हिसाबमा म भन्न सक्छु, उनीबारे यो किताबमा जसरी लेखिएको छ, उनको जीवन पनि त्यस्तै प्रेरक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment