Comments Add Comment

बढ्यो पेट्रोलको भण्डारण, थानकोटमा मटितेलको ट्यांकीमा पेट्रोल भरियो

प्रतिकात्मक तस्वीर

२५ असार, काठमाडौं । नेपाल आयल निगमले काठमाडौंको थानकोट डिपोमा पेट्रोल भण्डारणको क्षमता विस्तार गरेको छ । यसअघिको मट्टीतेल ट्यांकीलाई पेट्रोल भर्न मिल्ने गरी स्तरोन्नति गरिएको हो ।

मट्टीतेलको माग ज्यादै न्यून भएपछि उपयोगबिहीन भएर बसेका २ वटा ट्यांकलाई पेट्रोल भण्डारका रुपमा परिवर्तन गरिएको निगमका प्रवक्ता सीताराम पोखरेलले अनलाइनखबरलाई जानकारी दिए ।

झण्डै ४२ सय किलोलिटर पेट्रोल भण्डारण गर्न मिल्ने गरी २१/२१ सय किलोलिटरका २  वटा ट्यांकीको स्तरउन्नति गरिएको हो । आइतबारबाट दुबै ट्यांकीमा पेट्रोलको भण्डारण सुरु गरिएको छ । यो विस्तारको जिम्मा भारतको ट्यांकटेक कम्पनीले पाएको थियो ।

डेढ करोड रुपैयाँभन्दा बढीको लागतमा निगमले भण्डारण विस्तार सकेको हो । डिपोको स्तरउन्नतीको काम सुरु गर्न ट्यांकटेकले भारतबाट प्राविधिक सामग्री ल्याएको थियो ।

अब थानकोट डिपोमा कुल ५ हजार ३ सय किलोलिटर पेट्रोलको भण्डारण सुरु भएको छ । अहिले निगमसँग १८ सय किलोलिटर मात्रै पेट्रोल भण्डारण गर्ने क्षमता थियो । तर, त्यसमध्ये पनि ७ लाख लिटर क्षमताको ट्यांकी बिग्रिएपछि आजसम्म ११ सय किलोलिटर मात्रै पेट्रोल भण्डारण भइरहेको थियो ।

‘मट्टीतेलका पुराना दुईवटा ट्यांकीलाई अब पेट्रोल राख्न मिल्ने गरी तयार गरिएको छ’ पोखरेलले भने, ‘या ेसँगै बिगि्रएको एउटा ट्यांकीको पनि मर्मत भएर ६ हजार लिटर पेट्रोल भण्डारण गर्न मिल्ने क्षमतासहित डिपोको विस्तार भएको छ ।’

‘१० दिनको माग धान्छ’

अहिले काठमाडौंमा दैनिक ५ लाख लिटरभन्दा बढी पेट्रोलको माग छ । यसअनुसार निगमले आजबाट भण्डारण क्षमता बढाएकाले कम्तिमा १० दिनलाई भण्डारणले माग थेग्न सक्नेछ । निगमका अधिकारीहरु भने एक महिनालाई पुग्ने गरी थानकोटमा भण्डारण क्षमता विस्तार गर्न लागिएको दावी गर्छन् ।

काठमाडौंमा पेट्रोलको भण्डारण क्षमता निकै कमजोर छ । कुनै कारण दुई दिन तेल काडठमाडौं नआए हाहाकार सुरु भइहाल्ने गरेको छ ।
अब आपूर्ति नभएको अवस्थमा पनि कम्तिमा १० दिनलाई पेट्रोलको अभाव नहुने दावी निगमको छ ।

नगमले ९० दिनलाई पुग्ने गरी तेल भण्डारण गर्ने भनेपनि त्यसअनुरुप पूर्वाधार निर्माणको काम भने सुरु भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment