Comments Add Comment

म्यादीको कमाई : पुजनले गरे प्रहरी गुठीलाई सहयोग

२६ असार, काठामाडौं । स्थानीय तहको चुनावमा म्यादी प्रहरीमा कार्यरत पुजन बरालले सेवा वापतको रकम नेपाल प्रहरी स्मारक गुठीलाई प्रदान गरेका छन् ।

पूर्व प्रहरी महानिरीक्षक (आइजिपी) खड्गजीत बरालका नाति समेत रहेका उनले तलब बापत प्राप्त ५० हजार रुपैयाँ प्रहरी प्रधान कार्यालयमा सोमबार एक समारोहवीच गुठीलाई हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा प्रहरी महानिरीक्षक प्रकाश अर्यालले आफूले दुःखका साथ आर्जन गरेको तलब बापतको रकम नेपाल प्रहरी स्मारक गुठीलाई खुसी साथ हस्तान्तरण गरी बरालले विशाल हृदयको परिचय दिएको बताए ।

साथै यस्तो कदमले समाजका अन्य वर्गलाई समेत प्रहरीलाई सहयोग गर्न प्रेरित गर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक अर्यालले म्यादी प्रहरीको रुपमा केही समय नेपाल प्रहरीमा आबद्ध रही स्मारक गुठीलाई रकम हस्तान्तरण गरेकोमा बराललाई धन्यवाद दिए ।

कार्यक्रममा बरालले म्यादी प्रहरीको रुपमा समाजसेवा गर्ने अवसर प्रदान गरेकोमा नेपाल प्रहरीलाई धन्यवाद ज्ञापन गर्दै सो बापत पहिलो आम्दानीको रुपमा प्राप्त गरेको रकम नेपाल प्रहरी स्मारक गुठीलाई हस्तान्तरण गर्न पाउँदा खुसी लागेको बताएका थिए ।

कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै स्मारक गुठीका कार्यकारिणी निमित्त अध्यक्ष प्रहरी नायब महानिरीक्षक पशुपति उपाध्यायले बरालले स्थानीय तह चुनावमा काम गरी गुठीलाई सहयोग गरेकोमा ध्न्यवाद व्यक्त गरे ।

कार्यक्रममा नेपाल प्रहरी स्मारक गुठीका कार्यकारिणी समितिका पदाधिकारीहरुका साथै बरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment