Comments Add Comment

हातमा प्रमाणपत्र, आँखामा आँसु लिएर विदा भए म्यादी प्रहरी

२७ असार, सिन्धुपालचोक। चुनावी सुरक्षाका लागि सिन्धुपाल्चोकमा भर्ती भएका म्यादी प्रहरी जिम्मेवारी पुरा गरेर विदा हुँदा भावुक बनेका छन् । उनीहरुले छोटो समय भए पनि देशका लागि योगदान दिन पाएकोमा सन्तोष व्यक्त गरे ।

सिन्धुपाल्चोकमा स्थानीय तह निर्वाचनका लागि ९ सय ५२ जना म्यादी प्रहरी छनोट भएका थिए । एक हप्ताको तालिमपछि फिल्डमा खटाइएका उनीहरु करिब तीन महिनापछि औपचारिक रुपमा बिदा भएका हुन् । जिल्ला प्रहरी प्रमुख एसपी रविन्द्र केसीले उनीहरुलाई रातो टिका लगाइदिए र काम गरेको प्रमाणपत्र दिएर बिदा गरे ।

पहिलो चरणको निर्वाचन सकिएपछि धेरै म्यादी प्रहरीहरु बिदा भइसकेका थिए । दोस्रो चरणको निर्वाचनमा जिल्लाका प्रहरी अन्य जिल्लामा खटिएपछि झण्डै एक महिना यहाँको शान्ति-सुरक्षाको जिम्मेवारी म्यादी प्रहरीले नै धाने । सुरुमा भर्ना भएका ९ सय ५२ मध्ये अन्तिमसम्म ४ सय ७१ जना म्यादी प्रहरी जिल्लामा नै खटिएका थिए । दोस्रो चरणको निर्वाचन सकिएको र अन्य जिल्लामा गएका प्रहरीहरु फर्केपछि म्यादीहरुलाई बिदाइ गरिएको थियो ।

भावुक बन्यो माहोल

टुडिखेलमा आयोजित बिदाइ कार्यक्रममा धेरै म्यादी प्रहरीहरुको अनुहार मलिन थियो भने आँखामा आँशु देखिन्थ्यो । यतिका दिनसम्म सँगै काम गरेका साथीहरुसँगको बिछोडको पीडा उनीहरुसँग थियो । उनीहरुमध्ये केही आफूहरुबीचको सम्वन्धलाई स्मरणीय बनाउन मोबाइलमा सेल्फी खिचीरहेका देखिन्थे ।

तीन महिनासम्म सँगै ड्यूटी गरेका प्रहरीहरु पनि उनीहरुको बिदाइमा दुःखीत थिए । कार्यक्रम सञ्चालन गर्दै जिल्ला प्रहरी प्रमुख डीएसपी श्यामकृष्ण अधिकारी भन्दै थिए, ‘तपाईहरुलाई यो अवधीमा गाली पनि गरियो होला, तर यो फौजी नियम नै हो, दुःख नमान्नुहोला ।’

बिदाइ कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रविन्द्र केसी पनि भावुक बने ।

उनले भने, ‘तीन महिनासम्म एउटै परिवारभित्र रहेर काम गर्नुभयो, आज बिदा हुँदै हुनुहुन्छ । भविष्यमा पनि तपाईंहरुबाट सहयोगको अपेक्षा गरेका छौं ।’

एक हप्तामा प्रहरी बनाएर फिल्डमा फठाउनु कठिन कार्य भए पनि सबैको सहयोगले आफूहरु सफल भएको केसीले बताए ।

उनले भने, ‘हाम्रो एउटा मिसन थियो, यो पुरा गर्नुभयो, यस्ता धेरै मिसनमा यहाँहरुको साथ चाहिन्छ ।’

प्रहरीमै जागिर खाने धोको


हेलम्बु गाउँपालिका-४ की १९ वर्षीया शोभा लामिछानेको निधारमा रातो टिका र हातमा प्रमाणपत्र थियो । उनले आफ्नो अनुभूति सुनाउँदै भनिन्, ‘सुरुमा त कसरी काम गर्ने होला भन्ने डर थियो तर भर्ना भएपछि एकदमै सजिलो भयो । थोरै समय भएपनि देशको सेवा गर्ने अवसर पाएकोमा खुशी छु ।’

उनले अगाडि भनिन्, ‘अब सधैंका लागि देश सेवामा आफूलाई समर्पित गराउनका निम्ति प्रहरीमा भर्ना हुने सोच बनाएको छु, हेरौं समयले साथ दिन्छ की दिँदैन ।’

तीन महिनासम्म अस्थायी प्रहरी भएर काम गर्दा प्रहरी संगठनलाई हेर्ने नजर परिवर्तन भएको जुगल गाउँपालिका-१ का सुर्य रोक्काले बताए ।

उनले भने, ‘हामीलाई सधैं काम गर्नका लागि प्रहरीहरुले सहयोग गर्नुभयो, थोरै समयमा पनि प्रहरीको भूमिकाको विषयमा जान्ने अवसर पायौं ।’

बिदाइ हुँदै गरेकी पुष्पा तामाङले स्थानीय चुनावमा आफूहरुले मताधिकार प्रयोग गर्न नपाए पनि चुनावलाई सफलतापूर्वक सम्पन्न गराउन भूमिका खेल्न पाएको भन्दै खुशी व्यक्त गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment