News Summary
Generated by OK AI. Editorially reviewed.- आयरल्यान्डका पूर्व क्रिकेटर केभिन ओ’ब्रायन तेस्रो एनपीएलको विशेष प्रसारणका लागि हिमालय स्पोर्ट्समा विशेषज्ञ विश्लेषक बनेका छन् ।
- स्टार स्पोर्ट्सका पूर्व प्रस्तोता नवनीथ कृष्ण र पूर्व नेपाली क्रिकेटर बर्दान चालिसे पनि ‘रेड बुल क्रिकेट लाइभ’ को विश्लेषक प्यानलमा रहनेछन् ।
- हिमालय स्पोर्ट्सले थप अन्तर्राष्ट्रिय र नेपाली क्रिकेट हस्तीहरूलाई प्रसारण प्यानलमा समावेश गर्ने तयारी गरेको छ ।
२८ असोज, काठमाडौं । आयरल्यान्डका पूर्व क्रिकेटर केभिन ओ’ब्रायन तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को विशेष प्रसारणका लागि हिमालय स्पोर्ट्समा विशेषज्ञ विश्लेषकका रूपमा आबद्ध भएका छन् ।
ओ’ब्रायन हिमालय स्पोर्ट्समार्फत हुने प्रसारणअन्तर्गत ‘रेड बुल क्रिकेट लाइभ, इन एसोसिएसन विथ बजाज पल्सर’ कार्यक्रममा प्रतियोगिताभर सहभागी हुनेछन् ।
ओ’ब्रायन सन् २०११ को आईसीसी क्रिकेट विश्वकपमा इंग्ल्यान्डविरुद्ध खेलेको अविस्मरणीय इनिङ्सका कारण विश्व क्रिकेटमा विशेष रूपमा परिचित छन् । भारतको बैंग्लोरमा भएको उक्त खेलमा इंग्ल्यान्डले दिएको ३२८ रनको लक्ष्य पछ्याउने क्रममा आयरल्यान्ड १११ रनमा पाँच विकेट गुमाएर कठिन अवस्थामा पुगेको थियो ।
त्यही अवस्थामा ओ’ब्रायनले मात्र ५० बलमा शतक पूरा गर्दै विश्वकप इतिहासकै तीव्र शतकको कीर्तिमान बनाएका थिए । उनले ६३ बलमा ११३ रनको विस्फोटक इनिङ्स खेल्दै आयरल्यान्डलाई इंग्ल्यान्डविरुद्ध तीन विकेटको ऐतिहासिक जित दिलाएका थिए । उक्त जित विश्वकप क्रिकेट इतिहासकै सर्वाधिक चर्चित अप्रत्याशित नतिजामध्ये एक मानिन्छ ।
ओ’ब्रायन नेपाली क्रिकेटका लागि पनि परिचित नाम हुन् । उनी यसअघि नेपालमा आयोजित विभिन्न फ्रेन्चाइज क्रिकेट प्रतियोगितामा खेलाडीका रूपमा सहभागी भइसकेका छन् । सन् २०२४ मा भएको पहिलो संस्करणको एनपीएलमा उनले विराटनगर किंग्सको मुख्य प्रशिक्षकको जिम्मेवारीसमेत सम्हालेका थिए ।
नेपालको फ्रेन्चाइज क्रिकेटलाई खेलाडी र प्रशिक्षक दुवै भूमिकाबाट नजिकबाट अनुभव गरेका ओ’ब्रायनको सहभागिताले एनपीएल प्रसारणलाई थप प्रभावकारी बनाउने विश्वास हिमालय स्पोर्ट्सले लिएको छ । अन्तर्राष्ट्रिय क्रिकेटको लामो अनुभवसँगै नेपाली क्रिकेटको विकासक्रम, घरेलु प्रतिभा र प्रतिस्पर्धात्मक वातावरणबारे उनको बुझाइ दर्शकका लागि विशेष आकर्षण रहने अपेक्षा गरिएको छ ।
ओ’ब्रायनसँगै स्टार स्पोर्ट्सका पूर्व प्रस्तोता नवनीथ कृष्णले ‘रेड बुल क्रिकेट लाइभ’ को प्रस्तुति सम्हाल्नेछन् । अन्तर्राष्ट्रिय क्रिकेटका प्रतिष्ठित प्रतियोगिताहरूको प्रस्तुति अनुभव भएका कृष्णले स्टार स्पोर्ट्स तथा रोयल च्यालेन्जर्स बेंगलुरुको डिजिटल प्लेटफर्ममा समेत काम गरिसकेका छन् । उनी यसअघि नेपालका फ्रेन्चाइज क्रिकेट प्रतियोगिताहरुको प्रसारणमा पनि सहभागी भइसकेका छन् ।
त्यस्तै, नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व खेलाडी तथा क्रिकेट उद्यमी बर्दान चालिसे पनि विश्लेषक प्यानलमा रहनेछन् । अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको प्रतिनिधित्व गरिसकेका चालिसे फ्रेन्चाइज क्रिकेटमा टोलीको स्वामित्व तथा व्यवस्थापनमा समेत सक्रिय रहँदै आएका छन् । उनी लुम्बिनी अल स्टार्सका पूर्व सहमालिक तथा जनकपुर बोल्ट्सका क्रिकेट निर्देशकसमेत रहिसकेका छन् । खेलाडी र फ्रेन्चाइज व्यवस्थापकका रूपमा हासिल गरेको उनको अनुभवले कार्यक्रममा नेपाली क्रिकेटको प्राविधिक तथा व्यावसायिक पक्षबारे थप गहिरो विश्लेषण प्रदान गर्ने अपेक्षा गरिएको छ ।
हिमालय स्पोर्ट्सले आगामी दिनमा थप चर्चित अन्तर्राष्ट्रिय तथा नेपाली क्रिकेट हस्तीहरूलाई आफ्नो प्रसारण प्यानलमा समावेश गर्ने तयारी गरेको छ । ती व्यक्तित्वहरूको घोषणा क्रमश: गरिने हिमालय स्पोर्ट्सले जनाएको छ ।
विश्वस्तरीय क्रिकेट प्रसारणको अनुभव, अन्तर्राष्ट्रिय खेलाडीहरूको विशेषज्ञता र नेपाली क्रिकेटका अनुभवी व्यक्तित्वहरूलाई एउटै मञ्चमा ल्याउँदै हिमालय स्पोर्ट्सले नेपालमा खेल प्रसारणको स्तरलाई नयाँ उचाइमा पुर्याउने लक्ष्य राखेको छ ।
‘रेड बुल क्रिकेट लाइभ, इन एसोसिएसन विथ बजाज पल्सर’ मार्फत दर्शकहरूले प्रत्येक खेलअघि र खेलपछि विस्तृत विश्लेषण, रणनीतिक छलफल, खेलाडीहरूको प्रदर्शनको समीक्षा, विशेषज्ञहरूको दृष्टिकोण तथा विशेष क्रिकेट संवादहरू हेर्न पाउनेछन् । तेस्रो संस्करणको एनपीएल प्रसारणसँगै हिमालय स्पोर्ट्सले नेपाली क्रिकेटप्रेमीलाई अन्तर्राष्ट्रिय स्तरको प्रसारण अनुभव प्रदान गर्ने प्रतिबद्धता गरेको छ ।
प्रतिक्रिया 4