Comments Add Comment

तीन करोड बढीको जग्गा दिने दातालाई प्रहरीको सम्मान


२८ असार, नुवाकोट । सशस्त्र दशवर्षे द्वन्द्व र भूकम्पले क्षति पुगेका यहाँको प्रहरी युनिटको पुनःनिर्माण गर्न जग्गा दान दिएका आठ दातालाई जिल्ला प्रहरी कार्यालय नुवाकोटले सम्मान गरेको छ ।

आफ्नो जग्गा नभएको तर कार्यालय निर्माणका लागि बजेट विनियोजित भएर आएपछि भवन निर्माणमा सहयोग पुर्याउन जग्गादान गरेका आठ दातालाई नुवाकोट प्रहरी प्रमुख प्रहरी उपरीक्षक देवबहादुर बोहराले जिल्ला प्रहरी कार्यालयमा मङ्गलबार आयोजित विशेष कार्यक्रम बीच प्रशंसापत्रले सम्मान गरेका हुन् ।

भूकम्पपछिको पुनःनिर्माण अभियानमा यहाँका ११ वटा प्रहरी युनिटको पुनःनिर्माणअन्तर्गत आठवटा प्रहरी युनिटका भवन दाताले दिएको जग्गामा निर्माण भइरहेका छन् ।

जग्गा दान दिएर सम्मानित हुनेमा इलाका प्रहरी कार्यालय ढिकुरेलाई जग्गा दिने निर्मला गुरुवाचार्य, प्रहरी चौकी फिकुरीलाई जग्गा दिने देवनाथ भट्ट, प्रहरी चौकी पाटीभञ्ज्याङलाई जग्गा दिने तिलकुमारी विष्ट, प्रहरी चौकी झिल्टुङ्गलाई जग्गा दिने गोपिनी घिमिरे, प्रहरी चौकी तारुकालाई जग्गा दिने उत्तरकुमार अधिकारी, प्रहरी चौकी किम्ताङ्गका लागि जग्गा दिने न्युलाली गुराँस युवा क्लब, अस्थायी प्रहरी पोष्ट छहरेका लागि जग्गा दिने रामकुमार लामिछाने र दिलीप भट्टराई रहेका छन् ।

आठजना दाताले दिएको जग्गा करिब १८ रोपनी रहेको छ भने त्यसको मूल्य रु तीन करोडभन्दा बढीको छ ।

तत्कालीन समयमा चलेको नेकपा (माओवादी) को सशस्त्र १० वर्षे युद्धमा ध्वस्त बनेका तथा भूकम्पले क्षति पुर्याएका भवन निर्माणमा नागरिकको सहयोगले मातहतका प्रहरी युनिट स्थापना गर्न पुर्याएको भूमिकाको प्रशंसा गर्दै अहिले निर्माण भइरहेका भवनलाई गुणस्तरीय बनाउन र तोकिएको समयमै पूरा गर्नदेखि समुदायमा शान्तिसुरक्षा स्थापनामा समन्वयकारी भूमिका निर्वाह गर्न प्रहरी प्रमुख बोहराले आग्रह गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment