Comments Add Comment

गृहमन्त्री शर्माले भने- आतंकवादको सामना गर्न कठिन

'आतंकवादविरुद्ध ७ वटा कानुन बनाउँदैछौं'

२९ असार, काठमाडौं । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले आतंकवाद र आपराधिक क्रियाकलाप विरुद्ध उच्चतम प्रयास चाले पनि समस्या समाधानमा कठिनाइको सामना गर्नुपरेको बताएका छन् । सार्क गृहमन्त्रीस्तरीय बैठकलाई बिहीबार श्रीलंकाको कोलम्बोमा सम्बोधन गर्दै मन्त्री शर्माले अहिलेको परिवेशमा साइबर ठूलो चुनौती बनेको बताए ।

उनले आतंकवाद विरुद्ध नेपालले ७ वटा महत्वपूर्ण कानुनहरु बनाउन लागेको जानकारी पनि दिएको मन्त्री शर्माको सचिवालयले जनाएको छ । तर, ति कुन-कुन कानुन हुन् भन्नेबारे भने सचिवालयले खुलाएको छैन ।

साथै सम्पत्ति शुद्धिकरण सम्बन्धी विषयहरुलाई सम्बोधन गर्नका लागि पुनरावलोकन समिति समेत गठन भएको जानकारी गराउँदै मन्त्री शर्माले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार काम अगाडि बढेको बताएका थिए ।

प्रजातन्त्र र कानुनी शासनको मुख्य बाधक भ्रष्टाचार भएको बताउँदै मन्त्री शर्माले भ्रष्टाचारले राजनीति, त्यससँग सम्बन्धित संस्थाहरु र नेतृत्वमाथी समेत जनताको विश्वास गुम्ने अवस्था आएको टिप्पणी गरे ।

उनले नेपालमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट देशमा राजनीतिक स्थायित्व, आर्थिक समृद्धि र सामाजिक रुपान्तरण हुने विश्वास व्यक्त गरे ।

गृहमन्त्री शर्माले श्रीलंकाली सरकारलाई भव्य स्वागत सत्कारकालागि धन्यवाद दिँदै सार्कको महासचिव पदभार ग्रहण गरेका अहमद हुसेन बी सीयललाई बधाई दिएका थिए ।

सार्क गृहमन्त्रीस्तरीय आठौं बैठकमा सहभागी हुन मन्त्री शर्मा, गृहसचिव लोकदर्शन रेग्मी, प्रवक्ता दीपक काफ्ले र मन्त्री शर्माका स्वकीय सचिव गोपाल शर्मा ‘अनल’ श्रीलंका गएका हुन् । उनीहरु शुक्रबार दिउँसो स्वदेश फर्किने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment