Comments Add Comment

गाउँमै मतदाता नामावली संकलन गर्न सांसदहरुको माग

२९ असार, काठमाडौं । सांसदहरुले मतदाता नामावली दर्ता गर्नका लागि जिल्ला सदरमुकाम जानुपर्ने निर्वाचन अयाोगको निर्णय अव्यवहारिक भएको भन्दै गाउँमै नामावली संकलन गर्न माग गरेका छन् ।

बिहीबारको व्यवस्थापिका संसद बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले जनताको सुविधाका लागि मतदान केन्द्रमै नामावली संकलनको व्यवस्था गरिनुपर्ने माग गरे ।

संसद बैठकमै नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले मतदाता नामावली संकलन प्रत्येक स्थानीय तहको कार्यालयमा हुनुपर्ने माग गरिन् । चुनाव नभएका जिल्लाका हकमा बिशेष केन्द्र तोकेर नामावली संकलन गर्नुपर्ने माग उनको छ ।

संघीय लोकतान्त्रिक मञ्चकी सांसद रुक्मिणी चौधरीले पनि निर्वाचन आयोगको निर्णय व्यवहारिक नभएको भन्दै सच्याउन आग्रह गरिन् ।

यता राष्ट्रिय जनमोर्चाले बिज्ञप्ति निकालेर मध्यवर्षामा मतदाता नामावली संकलन मिति ब्यवहारिक र जनपक्षीय नरहेको बताएको छ ।

मध्य वर्षामा मतदाता नामावली दर्ताका लागि जनता सदरमुकामसँग जान नभ्याउने उल्लेख गर्दै पार्टी अध्यक्ष चित्रबहादुर केसी हस्ताक्षरित बिज्ञप्तिमा भनिएको छ, ‘मध्य वर्षाकाल र खेतिपातिको बेला श्रावण १ गतेदेखि १५ गतेको समयमा जनता जिल्ला वा क्षेत्रका सदरमुकामसम्म पुगेर आफ्नो नाम दर्ता गर्न वा अध्यावधिक गर्न मुस्किल पर्छ, चुनावको मिति घोषणा भएपछि नामावली संकलन गर्न कानूनले दिँदैन, त्यसैले जनताको अधिकार हनन नगरी मिति थप्नुपर्छ ।’

आसन्न प्रदेश र केन्द्रीय चुनावका लागि निर्वाचन अयोगले आगामी साउन १ देखि १५ गतेेसम्म देशैभर मतदाता नामावली संकलन गर्ने बताएको छ । मध्य वर्षा र खेती लगाउने समयमा मतदाता नामावली संकलन गर्न लागेको भन्दै त्यसको विरोध भएको छ । नामावली दर्ताका लागि सम्बन्धित जिल्ला सदरमुकाममै पुग्नुपर्ने पनि आयोगले जनाएको छ ।

राष्ट्रिय जनमोर्चाले दैनिक ठूलो संख्यामा बिदेश पलायन भइरहेका नागरिकका लागि पनि त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलसहित मुलुकका मूख्य भन्सार कार्यालयमा पनि मतदाता नामावली संकलन केन्द्र स्थापना गर्न माग गरेको छ ।

साना दलहरुलाई मारमा पर्नेगरी आएको थ्रेसहोल्डको व्यवस्था तत्काल खारेज गर्न पनि राजमोले विज्ञप्तिमार्फत माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment