Comments Add Comment

एमालेको बृद्धभत्ता र सामुदायिक संगठनले कांग्रेसलाई हरायो

संविधान संशोधन र स्थानीय तह बढाएर मात्र २ नम्बर प्रदेशमा चुनाव गरौं

 

स्थानीय तहको दुई चरणको चुनाव परिणामले नेपाली कांग्रेसलाई नेकपा एमालेले ५० सिट पछि पारेको छ । कम्तिमा ५ वा बढी साबिक गाविसहरु मिलाएर बनाइएका गाउँपालिका र ठूलो जनसंख्या ओगट्ने नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका हामी यसरी ५० सिटले पछि पर्नु भनेको अवश्य पनि धेरै ठूलो अन्तर हो । यो हामी कांग्रेसजनका लागि सुखद कुरा होइन ।

चुनाव परिणाम आइसकेको अवस्थामा जनादेशलाई सम्मान गर्नुपर्छ । यस अर्थमा हामी सन्तुष्ट छौं । अब २ नम्बर प्रदेशको चुनावमा कांग्रेसलाई पहिलो बनाउन लाग्नुपर्छ । हुन त २ नम्बर प्रदेशमा पहिलो भए पनि हामी समग्रमा एमालेभन्दा अगाडि जान नसक्ने भयौं । किनकि ५० सीट भनेको धेरै ठूलो अन्तर हो ।

अहिलेसम्म चुनाव परिणामको विषयलाई लिएर कांग्रेसभित्र औपचारिक समीक्षा भएको छैन । तर, पनि हामीले अनौपचारिक छलफल गर्दा केही कुरामा हामी चुकेका छौं, केही कुरामा एमालेले योजनाबद्ध जितेको छ । एमालेले चुनावी रणनीति जसरी अघि बढायो, कांग्रेस त्यसमा कमजोर भएकै हो ।

तालमेलमा गोलमाल

स्थानीय तहको संख्या निर्धारण गर्ने बेलामै कांग्रेस चुक्यो । एमाले र माओवादी मिलेर गाउँपालिका र नगरपालिकाको सिमाना निर्धारण गरे, किनकी त्यो बेला उनीहरु सरकारमा थिए । कतिपय सिमाना उनीहरुलाई अनुकुल हुने गरी मिलाइए, त्यसले पनि कांग्रेसलाई असर गरेकै हो । तर मूल रुपमा त्यो होइन ।

हामीले चुनावमा मूलतः माओवादी केन्द्रसँग धेरै ठाउँमा तालमेल गर्‍यौं । अन्य पार्टीहरुसँग पनि चुनावी तालमेल भयो । तर, हाम्रो तालमेलको तरिका नै मिलेन । प्रमुख र उपप्रमुखमा तालमेल गर्‍यौं तर, वडा तहमा तालमेल भएन । जसका कारण तालमेल भएका ठाउँमा धेरै ठाउँमा सफल भएन ।

भरतपुर र पोखरा महानगरपालिकाको कुरा गर्नुस् वा बुटवल र हेटौंडा उपमहानगरकै कुरा गर्नूस् । माथिमाथि तालमेल भयो तर, वडा तहमा माओवादी र हामीबीच मिलेन । वडामा एकले अर्कोविरुद्ध मत माग्ने भएपछि माथि सग्लै भोट आउने कुरा भएन ।

अब तालमेल गर्दा हामीले माथिदेखि तलसम्मै गर्नुपर्छ भन्ने पाठ सिकेका छौं । आउने सबै चुनावहरुमा हामी सत्तारुढ गठबन्धन भएकाले तालमेल हुन पनि सक्छ । तर, त्यस्तो तालमेल गर्दा माथिबाट लाद्ने होइन, तल स्थानीय तहको आवश्यकता अनुसार गर्नुपर्छ ।

यसपटक स्थानीय तहमा भएको तालमेल सफल भएको छ । तर, केन्द्रबाट गरिएको तालमेल असफल भएको छ । यो अनुभवबाट सिकेर आउने चुनावमा स्थानीय कमिटीहरुलाई नै तालमेलको निर्णय गर्ने अधिकार दिनुपर्छ ।

मुद्दाले चुनाव हारेको होइन

कतिपय हाम्रै नेताहरुले पनि पार्टीले लिएको नीतिका कारण चुनाव हारियो भनेका पनि सुनियो । कतिपयले चुनावको मुखमा गरिएका निर्णयहरुका कारण पनि असर परेको तर्क गरेका छन् । तर, मैले चुनावका क्रममा धेरै जिल्लामा पुगेर अनुभव गरेको छु, अधिकांश गाउँमा राजनीतिक एजेण्डा चुनावी मुद्दा बनेका छैनन् ।

काठमाडौं लगायत केही शहरमा महाअभियोग प्रकरण र यस्तै कुराले हामीलाई हराएकै हो । साझा पार्टी र विवेकशील नेपाली दलले काठमाडौंमा जुन मत पाए, अन्यत्र कतै पनि नपाउनुले त्यो पुष्टि गर्छ । अन्यत्र चुनावको बेला स्थानीय विकास निर्माणकै एजेण्डाहरुमा चुनाव भएको छ । एमालेको राष्ट्रवादी अडानले चुनाव जित्यो भन्ने कुरा पनि मलाई लाग्दैन ।

चुनाव जितेपछि एमालेको घमण्ड अझ बढेको देखिन्छ । केपी ओलीको दम्भ पनि निकै बढेको छ । तर, दम्भले मुलुकलाई फाइदा गर्दैन । चुनाव त अझै बाँकी पनि छन् । हामी आफ्नो अवस्था सुधार्छौं । महागठबन्धन त नेपालमा बन्दैन तर आवश्यकता अनुसार तलसम्म तालमेल गरेर हामी एमालेको घमण्ड झार्न सक्छौं ।

एमालेको जितका आधारः बृद्धभत्ता र सामुदायिक संगठन

एमालेले कित यति धेरै जित्यो ? यो प्रश्न अहिले सबैतिर उठेको छ । मैले धेरै ठाउँमा पुगेर अनुभव गरेको कुरा के हो भने चुनावमा एमाले एकदमै अफेन्सिभ ढंगले गयो । कांग्रेस सुरुदेखि नै डिफेन्सिभ भयो । चुनावको लागि एमालेको तयारी निकै अगाडि थियो । हामीले एमालेलाई सुरुदेखि नै पछि पर्न सकेनौं ।

अर्को, एमालेको बजेट र बृद्धभत्ताले हामीलाई डिफेन्सिभ बनायो । बृद्धभत्ताले हामीलाई यसरी लखेट्यो कि, एमालेले यसलाई धेरै हदसम्म प्रयोग गरेको देखियो । बृद्धभत्ता सुरु गरेदेखि २ हजार पुर्‍याएको कुरालाई हामीले चिर्न सकेनौं । हामीलाई मुख्यतः बृद्धभत्ताले नै डिफेन्सिभ बनायो । एमालेले जित्यो भने अझ बढाउने कुरालाई जनताले पत्याइदिए ।

दोस्रो कुरा चाहिँ एमालेले सामुदायिक संघ संस्थाहरु लामो समयदेखि आफ्नो पकडमा राखेको थियो । स्थानीय चुनावमा तीनै संस्थाहरु एमालेलाई जिताउन प्रयोग भए । एनजीओहरुमा एमालेको यस्तो पकड रहृयो कि जिल्लादेखि गाउँ तहसम्म सन्जाल भएका ती ठाउँमा एमालेका कार्यकर्ता सेट छन् । चुनाव जिताउने माध्यम उनीहरु बने ।

गाउँ गाउँमा वन उपभोक्ता समिति, सहकारी, विद्यालय व्यवस्थापन समिति, बिभिन्न उपभोक्ता समितिहरुमा एमालेले आफ्ना क्याडर छिराएर राखेको छ । स्थानीय तहमा राम्रो काम गरेका, सधैं साथ दिएकाहरुलाई जनताले रोज्दा एमालेका मान्छे परे । जहाँ हाम्रा मान्छे पनि त्यस्ता संस्थामा थिए उनीहरुले जिते । धेरै ठाउँमा एमालेले प्राकृतिक स्रोत साधनहरु कब्जा गरेको छ । त्यस्ता ठाउँमा एमालेका मान्छे पहिलेदेखि नै समुदायमा स्थापित छन् । चुनावमा त्यो देखियो ।

मधेशमा एमाले प्राविधिक रुपमा पहिलो

एमाले मधेस बिरोधी पार्टी हो भने र हामीले पनि भन्यौं । वास्तवमा एमालेले मधेशको इस्युमा आफूलाई सच्याउनैपर्छ । तर, मधेसमै एमाले किन पहिलो भयो भन्ने प्रश्न पनि उठेका छन् । मलाई लाग्छ, मधेसमा एमाले मधेसी जनताको भावनात्मक मत पाएर पहिलो भएको होइन । प्राविधिक रुपमा एमालेले मधेशमा कांग्रेसको भन्दा बढि सिट जित्यो ।

कोर मधेस भनेको २ नम्बर प्रदेश हो, त्यहाँ चुनाव हुन बाँकी नै छ । जहाँसम्म ११ जिल्लाको कुरा छ, त्यहाँ मिश्रित बसोबास हो । पहाडे, थारु, मधेसी र मुस्लिमको बसोबास भएको ठाउँमा एमाले किन पहिलो भयो भन्दा त्यहाँ कांग्रेसको भोट फोरम र फोरम लोकतान्त्रिकले काटे । अनि एमाले प्राबिधिक रुपमा माथि आयो ।

भारतीय सीमाक्षेत्र सुस्ता महेशपुरदेखि त्यत्रो घटना भएको टीकापुरसम्म एमालेले जितेको कुरा पनि प्राबिधिक हो । सुस्तामा धेरैले नागरिकता पाएका छैनन् । नागरिकता नभएपछि मतदाता नामावली हुने कुरा भएन । जतिको मतदाता नामावली थियो, त्यहाँ एमालेले बढी मत पाएकै हो । टीकापुरमा हाम्रो र फोरम लोकतान्त्रिकको मत बाँडिदा एमालेले थोरै मतले जितेको हो ।

यसपटक कैलाली र कञ्चनपुरका धेरै स्थानीय तहमा फोरम लोकतान्त्रिकले कांग्रेसको मत प्रशस्त काट्यो, जसका कारण एमाले फुत्तफुत्त उम्कियो । दाङमा हामी हाम्रै आन्तरिक कारणले हारेका हौं । नवलपरासी र कैलालीको समग्र नतिजा हाम्रो पक्षमै छ । सुनसरी र मोरङमा पनि कांग्रेसको राम्रो भएकै हो ।

समग्रमा कुरा गर्दा एमालेले मधेसमा पहिलो पार्टी बने पनि उसले मधेसी जनताको भावनात्मक प्रतिनिधित्व गर्दैन । हामी अब २ नम्बर प्रदेशमा जितेर त्यसको क्षतिपूर्ति गर्छौं । एमालेले मधेसी जनताको भावना बुझेर संविधान संशोधनमा सघाउनुपर्छ । नत्र चुनाव जितेरमात्र मधेसमैत्री हुन सकिन्न ।

२ नम्बर प्रदेशमा एमाले तेस्रो वा चौथो

२ नम्बर प्रदेशमा पनि एमाले नेताहरुले हामी नै पहिलो हुन्छौं भनेको सुनियो । तर, त्यसमा कुनै दम छैन । २ नम्बर प्रदेशमा एमालेको संगठन नै छैन । राजमार्ग क्षेत्रमा एमालेको राम्रो छ, तर त्यहाँ हामी मुख्य प्रतिस्पर्धी हौं । कोर मधेसमा एमालेको संगठन नै छैन ।

अर्को कुरा मधेश मुद्दामा एमाले अनुदार भएकाले पनि २ नम्बर प्रदेशमा एमालेले चुनाव जित्न सक्दैन । कांग्रेस पहिलो हुनेछ । दोस्रो स्थानमा लागि संघीय समाजवादी फोरम, राजपा र फोरम लोकतान्त्रिक प्रतिस्पर्धामा आउनेछन् । समग्रमा एमाले तेस्रो वा चौथो स्थानमा रहने हो ।

मधेसमा कांग्रेसले चुनाव जित्छ तर, हामीले २ नम्बर प्रदेशमा चुनाव हुनुभन्दा पहिले संविधान संशोधनको छिनोफानो गर्नुपर्छ । स्थानीय तहको संख्या बृद्धि गर्नुपर्छ । यति गर्न सकिएन भने कांग्रेस फेरि पनि डिफेन्सिभ हुनुपर्छ । किनकी त्यो अवस्थामा मधेसवादी अफेन्सिभ हुनेछन् । एमालेले हाम्रो जित भयो भन्छ । अनि कांग्रेस अप्ठेरोमा पर्छ ।

जनताको रिस पोखियोः अब योजना बनाऊँ

अब दुई चरणको चुनावको समीक्षा पार्टीले केन्द्रीय समिति बैठक बोलाएर गर्नेछ । २ नम्बरमा कसरी जाने भन्ने पनि टुंगो लगाउनुपर्छ । हामीले दुई चरणका चुनावमा जुन कमजोरी भयो त्यो दोहोरिन नदिन पनि सचेत हुनुपर्छ ।

अब तेस्रो चरणका र अन्य दुई चुनावको अगाडि कांग्रेसले गर्नुपर्ने मुख्य काम भनेको संविधान संशोधन टुंगो लगाउनुपर्छ । टिकट वितरण समयमै गरेर आन्तरिक व्यवस्थापन गर्नुपर्छ ।

तालमेलका सन्दर्भमा केन्द्रबाट होइन, स्थानीय कमिटीहरुलाई नै जिम्मा दिनुपर्छ । प्रचारको योजना व्यवस्थित गर्न नसक्दा एमालेले हामीलाई शुरुदेखि नै पेल्यो । अब पार्टीले योजना बनाएर चुनावको परिचालन गर्नुपर्छ । गाउँ गाउँका विद्यालय, वन-जंगल जस्ता सामुदायिक संगठनहरुमा सचेत ढंगले कांग्रेसका मान्छे प्रवेश गराउन सकिएन भने एमालेले पेल्ने रहेछ । हाम्रो ध्यान त्यहाँ पुगेन । माथिमाथि हिँड्दा तल गुम्यो ।

स्थानीय चुनावमा हामी हारेकै हौं । जनताको आक्रोश थियो त्यो रिस स्थानीय चुनावमा पोखियो । अब जनताको रिस सकियो, हामी प्रदेश र संघीय चुनावमा फेरि पहिलो हुन्छौं । त्यसका लागि योजना बनाउनुपर्छ ।

(गुरुङ नेपाली कांग्रेसका युवा नेता हुन् )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment