Comments Add Comment

काठमाडौंको पहिलो नगरसभामा कांग्रेस नेताको उदासीनता

३० असार, काठमाडौं । शुक्रबार आयोजित काठमाडौं महानगरपालिकाको पहिलो नगरसभा उद्घाटन समारोहमा काठमाडौंका १० निर्वाचित सांसदमध्ये एमालेका रामेश्वर फुयाँल र रामवीर मानन्धरमात्रै मञ्चमा देखिए । कांग्रेसका सांसदहरु भने मञ्चमा देखिएनन् ।

जतिबेला महानगरको पहिलो नगरसभाको उद्घाटन एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गरिरहेका थिए, त्यति नै बेला कांग्रेस नेता तथा काठमाडौं १ का सांसद प्रकाशमान सिंह नागार्जुन नगरपालिकाको नगरसभामा अतिथि बन्न पुगेका थिए । नागार्जुनको मेयर नेपाली कांग्रेसले जितेको छ ।

त्यस्तै कांग्रेसका अर्का नेता तथा ८ नम्बर क्षेत्रका सांसद नविन्द्रराज जोशी पनि महानगरपालिकाको नगरसभा उद्घाटन समारोहमा देखिएनन् । उनी पनि सोही समयमा नागर्जुन नगरपालिकामै थिए ।

निम्ता पाए पनि आफू नागर्जुन नगरसभामा गएकाले महानगरको कार्यक्रममा सहभागी हुन नपाएको प्रतिक्रिया जोशीले दिए । काठमाडौं महानगरको मेयरमा कांग्रेसबाट नविन्द्रराज जोशीका सहोदर दाजु राजुराज जोशीलाई प्रकाशमानको जोडबलमा टिकट दिइएको थियो, र उनी विद्यासुन्दर शाक्यसँग पराजित भएका थिए ।

काठमाडौंको नगर सभामा कांग्रेसका अन्य सांसदहरु नरहरी आचार्य, भीमसेनदास प्रधान र ध्यान गोविन्द रञ्जित पनि देखिएनन् । यीमध्ये रञ्जित पनि नागर्जुनकै नगरसभामा थिए । सांसद गगन थापा भने विदेश भ्रमणमा रहेकाले काठमाडौंमा छैनन् ।

काठमाडौं महानगरको मेयर पद एमालेले जिते पनि उपमेयर पद नेपाली कांग्रेसले जितेको छ । त्यस्तै ३२ वडाहरुमध्ये १४ वटामा नेपाली कांग्रेसले जितेको छ ।


प्रकाशमान सिंह नागार्जुन नगरपालिकाको कार्यक्रममा सहभागी भएका थिए । भीमसेनदास प्रधानचाहिँ तारकेश्वर नगरपालिकाको नगरसभामा विशेष अतिथि थिए । उनले समय नपाएका कारण महानगरको सभामा सहभागी हुन नसकेको प्रतिक्रिया दिए । आफूलाई महानगरका मेयरले निम्ता पठाएको उनले अनलाइनखबरलाई बताए ।

प्रधानले भने-तारकेश्वरको नगरसभामा एमालेका रामवीरजी प्रमुख अतिथि र मलाई विशेष अतिथि बनाइयो । मैले अब तपाईहरु एमालेको मात्र होइन भनेर सबैलाई मिलाएर काम गर्न सुझाव दिएँ । तारकेश्वर नगरपालिकामा एमालेले जितेको छ ।

उता बिहीवार नै आयोजित बुढानीलकण्ठ नगरपालिकाको नगरसभाको उद्घाटन एमालेका सांसद राजन भट्टराईले गरेका छन् ।

त्यसैगरी विहीबार नै टोखा नगरपालिकाको पनि पहिलो नगरसभा सम्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment