Comments Add Comment

काठमाडौं विश्वविद्यालय बन्यो टिम च्याम्पियन

३१ असार, काठमाडौं । दोश्रो प्रधानमन्त्री कप विश्वविद्यालय खेलकुदमा काठमाडौं विश्वविद्यालय टिम च्याम्पियन बनेको छ ।

साविक विजेता काठमाडौंले ४ स्वर्ण, १ रजत र २ कांस्य जित्दै उपाधि रक्षा गर्‍यो । तीन खेल भलिबल, ब्याडमिन्टन र टेबलटेनिस समावेश खेलकुदमा काठमाडौंले चारै स्वर्ण टेबलटेनिसतर्फ जित्दै टिम च्याम्पियनको उपाधि उचालेको हो ।

टेबलटेनिसतर्फ सिंगल्सको छात्रमा करण राई र छात्रामा दीपिका श्रेष्ठले काठमाडौंलाई स्वर्ण दिलाएका थिए । त्यस्तै डबल्सको छात्रमा करण र युगेश राई तथा छात्रामा इशिका रेग्मी र दीपिको जोडीले काठमाडौंका लागि स्वर्ण जितेका थिए ।

राष्ट्रिय खेलकुद परिषद्द्वारा आयोजित प्रतियोगितामा त्रिभूवन विश्वविद्यालय -टीयू) ३ स्वर्ण, ३ रजत र ४ कांस्यसाथ दोश्रो भयो । तेश्रो स्थानको पोखरा विश्वविद्यालयले २ स्वर्ण, २ रजत र ३ कांस्य जित्यो ।

प्रतियोगिताको अन्तिम दिन शनिबार त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको छात्र भलिबलमा टीयू पहिलो भयो । टीयूले उपाधि भिडन्तमा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयलाई २५-१९, २५-२१ र २५-१५ को सोझो सेटमा पराजित गर्‍यो । मध्यपश्चिमाञ्चल र काठमाडौंबीच तेश्रो स्थानका लागि भएको प्रतिस्पर्धामा मध्यपश्चिमाञ्चल २५-१६, २५-१९ र २५-२१ को सीधा सेटमा विजयी भयो ।

तीनदिने प्रतियोगिताको भलिबलमा ८ छात्र टिम सहभागी थिए । ब्याडमिन्टन र टेबलटेनिसको छात्रमा ९ विश्वविद्यालय तथा छात्रामा ७ विश्वविद्यालयबाट समान ४-४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment