Comments Add Comment

छत्याउने खोलाले नित्याएको विनाशः राति गफिएका गाउँलेलाई विहान खोतलेर निकाल्यौं

लिखु गाउँपालिका उपाध्यक्ष मन्छिन्-बाढी र पहिरोको प्रकोप हाम्रो नियमित नियती बन्यो

१ साउन,काठमाडौं । रामेछापको लिखु गाउँपालिका वडा नम्बर ६ खिम्ती बजार जिल्लाकै उर्बर र रहरलाग्दो बेसी हो । कुनै बेला खिम्ती बजार रामेछाप मात्र होइन, छिमेकी जिल्लामा ओखलढुंगा र दोलखाका जनताको ठूलो बजार थियो ।

अहिले पनि खिम्ती बजार उत्तरी रामेछाप र दोलखाका स्थानीयको बजार हो । तर, हरेक वर्ष यहाँ प्राकृतिक विपत्तिले खिम्तीलाई जोखिमपूर्ण बनाउँदैछ । ४ वर्षअघि ८ जनाको ज्यान जाने बाढीको कहर बिर्सन नपाउँदै खिम्तीमा शनिबार राति पुनः त्यो भन्दा डरलाग्दो घटना भएको छ ।

छत्याउने खोलाको भेलले २ जनाको ज्यान लिइसकेको छ भने कम्तिमा ३ जना बेपत्ता भएका छन् । बाढीपहिरोमा बेपत्ता हुनेको संख्या अझ बढि हुनसक्छ, किनकी त्यहाँ सडक निर्माणमा संलग्न मजदूरका टहरा पनि थिए ।

लिखु गाउँपालिकाकी उपाध्यक्ष दिपशीखा दाहाल सोही गाउँकी बासिन्दा हुन् । उनी खिम्तीका हरेक प्राकृतिक विपत्ति र मानवीय बियोगका साक्षी पनि हुन् । शनिबार मध्यरातमा यो घटना हुनुभन्दा करीव ३ घण्टाअघिमात्र उनी एमालेका जिल्ला नेता र सांसदहरुसँगै सोही खोलाको पुल तरेर घरमा आइपुगेकी थिइन् ।

विहान उनी आफैं संलग्न रहेर कतिपयलाई जमिन मुनी खोतलेर जीवित उद्दार गरेकी छन् । घटनास्थलमै रहेका उपाध्यक्ष दाहालले सुनाएको विवरण यस्तो छ ।

***

हिजो शनिबार राति ९ बजे म त्यहि पुल तरेर खिम्बी बजार आएकी थिएँ तर, विहान ५ बजे पुग्दा पुल कहाँनिर थियो भन्ने नामोनिशान थिएन । छिमेकी गोकुलगंगा गाउँपालिकाको प्रथम गाउँसभा सकेर सांसद कमला सुवेदी, एमाले जिल्ला अध्यक्ष शान्ति पौडेल, सचिव आनन्द श्रेष्ठ र म राति जुन ठाउँबाट आएका थियौं, आज त्यहि ठाउँ चिहानमा परिणत भइसकेको थियो ।

गोकुलगंगाको फर्पु र लिखु गाउँपालिकाको खिम्तीलाई छुट्याउने छत्याउने खोलामा हामी पुग्दा सिमसिम पानी परेको थियो । खोला छेउका घरहरुमा बत्ति बलिरहेको थियो र गाउँलेहरु खेति किसानीका गफ गरेर बसेका थिए । अबेर भएकाले हामीले उनीहरुलाई हाइ हेल्लो नगरी अघि बढ्यौं ।

एकाबिहानै ४ बज्नुअघि नै मलाई फोन आयो-छत्याउने खोलाले गाडी चल्ने पक्की पुल र छेउछाउका घरहरु बगायो । धेरै मान्छे बेपत्ता छन् । गाउँपालिका उपाध्यक्ष म आफैं सोही गाउँको बासिन्दा भएका कारण वडाध्यक्ष शिव न्यौपाने र म घटनास्थलमा पुग्दा हृदयविदारक अवस्था थियो ।

दिपशीखा दाहालउपाध्यक्ष दिपशीखा दाहालहिजो राति यहि ठाउँबाट हामी हिडेका थियौं भन्ने कुनै नामोनिशान थिएन । छत्याउने खोला र वरपरका अन्य सानातिना खोल्साहरुले खिम्ती बजारको साँघुटारबाट अघि बढ्ने सबै बाटाहरु बन्द गरेर बस्ती र खेती तहसनहस पारेको छ । यस्तो दर्दनाक दृष्य देखेर सम्हालिँदै उद्दारमा खटिनु परेको छ ।

हामी पुग्दा बाढी र पहिरोले पुरिएको जमिन मुनी कतैकतै मान्छेको आवाज आइरहेको थियो । प्रहरी र स्थानीयको पहलमा ९ जनालाई जीवितै उद्दार गर्न सफल भइयो । उद्दार गरिएकामध्ये केहीलाई जमिन मुनीबाट खोतलेर जीवितै निकाल्न सकियो । केहीले पाखामा भागेर रातभरी झुण्डिएर ज्यान जोगाएका छन् ।

घाइतेहरुलाई हेलिकोप्टरबाट उद्दार गरिएको छ । बेपत्ता भएका कम्तिमा ३ जनाको जीवितै उद्दार हुने आशा मरेको छ । तर, पनि अरुलाई जस्तै कतै खोतलेर जीवितै निकाल्न सकिन्छ कि भनेर सबै परिचालित भएका छन् । हामीले दुईजनालाई जीवित उद्दार गर्न सकेनौं । एकजनाको शव करीव ३ किलोमिटर तल हलेदेमा तामाकोशीले किनारामा फालेको अवस्थामा भेटिएको छ ।

यहाँ राति १२ बजेबाट ठूलो पानी परेपछि निकै ठूलो आवाज आएको थियो । फर्पुको सिरानबाट आउने खोलाले माथि पनि निकै क्षति पुर्‍याएको भन्ने खबर आएको छ । तर, सबैभन्दा पहिलो काम जीवितै उद्दार गर्नेतर्फ नै हुनुपर्ने भएकाले हामी त्यसमा केन्दि्रत भयौं । मानवीय क्षति र भौतिक क्षतिको यकिन अझै हुन बाँकी छ ।

राति २ बजेतिरै खोलाले पुल र घरहरु बगाएको देखिन्छ । ५ ओटा घरको त नामोनिशान नै छैन । भर्खरै निर्माण सम्पन्न भएको पक्की पुल समेत बगाएपछि अब उत्तरी रामेछाप सडक सन्जालबाट बिच्छेद भएको छ । तत्काल सडक सञ्चालनको सम्भावना निकै कम छ ।

खिम्तीले हरेक वर्षामा यस्तो कहर भोग्नु परेको छ । ४ वर्षअघि यस्तै बेला खिम्बी बजारकै पुल र घरहरु बगाउँदामा यहाँ ८ जनाको ज्यान गएको थियो । हिजो रातिको बाढीले अस्थायी पुल पनि बगाएको छ । खानीखोलाबाट गाडी अगाडि बढ्न सकेको छैन ।

बाढीले पुष्पलाल मार्ग अवरुद्ध भएपछि अब मन्थली सदरमुकाम पनि सडक सम्बन्धबाट बिच्छेद भएको छ । उत्तरी रामेछापमात्र होइन, दोलखाको जिरी क्षेत्र र सोलुखुम्बु र ओखलढुंगाका उत्तर पश्चिमी क्षेत्र जाने सडक सन्जाल पनि बिच्छेद भएको छ ।

सडक निर्माणमा संलग्न मजदुरले बनाएका टहराहरु पनि बगाएको छ । मानवीय क्षति नबढोस भन्नेमा हामी साह्रै चिन्तित छौं । सिमित साधन स्रोत र भौगोलिक प्रतिकुलताका बीच सुरक्षाकर्मी, प्रशासन, जनता र जनप्रतिनिधिहरु उद्दारमा खटिएका छौं ।

उद्दार कार्य सकिनासाथ पीडितलाई राहत र क्षतिपूर्ति दिनेतर्फ हामीले पहल गर्नुपर्नेछ । गाउँपालिकाले पीडितलाई राहत र पुनस्र्थापनाका लागि कुनै कमी हुन दिने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment