Comments Add Comment

यी हुन् पति–पत्नी झगडाको अदृश्य कारण, यसरी सुल्झाउने समस्या


किन पती-पत्नीबीच झगडा हुन्छ ? ठाकठकु पर्छ ? मनमुटाव हुन्छ ?

यसको एउटै मात्र जवाफ छैन । बिचारमा तालमेल नमिल्दा, घरको आर्थिक स्थिती खस्किदा, आपसमा आशंका र अविश्वास बढ्दा दम्पतीबीच मेलमिलाप टुट्छ ।

जव पती-पत्नीबीच कलह हुन्छ, त्यो घर अशान्त हुन्छ । उसको परिवार खासगरी बालबच्चाले त्यसको सोझो पीडा भोग्नुपर्छ । आमाबुवाको झगडा र तनावले बच्चाको पढाई, करियर समेत बर्वाद हुन्छ ।

पारिवारिक कलहको कारण

अक्सर पति पत्नीमा विश्वासको वातावरण बनेन भने कलह सुरु हुन्छ । एकअर्कामा शंका गर्ने र अविश्वास गर्ने प्रवृत्ति र व्यवहारले दाम्पत्य-सुख हराइदिन्छ । यसले सम्बन्ध विच्छेदको मोडमा समेत पुर्‍याउँछ ।

यस्ता अरु थुप्रै कारण छन्, पारिवारिक कलहको । त्यसमध्ये आर्थिक कारण एक प्रमुख हो ।

आर्थिक कारणले कलह

परिवारको इच्छा, अपेक्षा पुरा गर्नका लागि आर्थिक पक्ष महत्वपूर्ण हुन्छ । जब आर्थिक अवस्था कमजोर हुन्छ, परिवारका इच्छा, आकंक्षा त्यस अनुरुप साँघुरिदैन । यसैले कलह पैदा गर्छ ।

परिवारको आधारभूत आवश्यक्ता टार्ने खर्चको अभाव भएपछि त्यसले कलह निम्त्याउँछ । खर्च अभावकै कारण औषधी उपचार गर्न नसकेको, छोराछोरीलाई पढाउन नपाएको कुराले परिवारमा खिन्नता ल्याउँछ । चाडपर्व मनाउन मनाउन, किनमेल गर्न, घुमफिर गर्न पुग्दो पैसा नहुनुले पनि तनाव हुन्छ । यसलाई सहि ढंगले व्यवस्थापन गर्न नसक्दा कलह हुने हो ।

के छ समाधान ?

दाम्पत्य जीवन खल्लो हुनु वा कलह पैदा हुनुमा आर्थिक कारण एक प्रमुख हो । आर्थिक स्थिती कमजोर भएपछि नै अरु समस्याहरु आउने हो ।

त्यसैले घर व्यवहार कुशलतापूर्वक सञ्चालन गर्नका लागि वा दाम्पत्य जीवन सुमधुर राख्नका लागि आर्थिक व्यवस्थापनले महत्वपूर्ण भूमिका खेल्छ । के छ त यसको उपाय ?

१. घरको आर्थिक व्यवस्थापनको लागि कमाईको स्रोत बढाउनु पर्छ । तर, यसले मात्र पुग्दैन । खर्च व्यवस्थापन पनि सहि ढंगले गर्नुपर्छ ।

२. घरको आर्थिक अवस्था बलियो बनाउनु भनेको कमाइ गर्नु मात्र होइन, खर्चको मात्रा घटाउनु पनि हो । त्यसैले अनावश्यक खर्च कटौती गरौ । दबुैले सल्लाह गरेर कुन कुन शीर्षकमा खर्च घटाउन सकिन्छ, सूची तयार गरौ । यसरी कम प्राथमितामा परेका कुरालाई कटौती गरौ ।

३. मासिक रुपमा घरको खर्च कति हुन्छ ? त्यसको आंकलन गरेर मासिक बजेट तयार गर्नुपर्छ । यस्तो बजेट तयार गर्दा आयस्रोतलाई मुख्य आधार बनाउनुपर्छ ।

४. खर्च शीर्षक तयार गर्दा प्राथमिकताको अधारमा सूची बनाउनुपर्छ । कम प्राथमिकताका सूचीलाई हटाउन पनि सकियोस् ।

५. पती-पत्नी मिलेर अतिरिक्त खर्च हुने कारणहरु खोजौं । जस्तो कि, बिमारी वा औषधी उपचारमा हुने खर्च । यस्ता खर्चलाई कटौती गर्न सकिन्छ ।

६. घुम्ने, भोज गर्ने, फिल्म हेर्ने, किनमेल गर्ने जस्ता गतिविधीलाई घटाउन सकिन्छ ।

७. घरको व्यायभार एक जनाको टाउकोमा मात्र थोपर्नु हुँदैन । सकेसम्म आ-आफ्नो क्षमता अनुसार सबैले आयस्रोतका काममा लाग्नुपर्छ ।

८. घर खर्च बचाउने भनेको खानपान वा सुविधामा कटौती गर्ने होइन, जो अत्यावश्यक छ । बरु, परिवारलाई वस्थ्य राख्नुपर्छ । परिवारका सदस्य रोगी वा बिमारी भए अनावश्यक व्यायभार, तनाव बढ्छ । समय पनि खर्च हुन्छ ।

९.परिवारलाई स्वस्थ्य राख्नु पनि घरखर्च घटाउनु हो । यसका लागि स्वस्थ्य, पोषिलो र सन्तुलित खानपानसँगै नियमित दिनचर्या आवश्यक हुन्छ । परिवारको खाने, बस्ने, सुत्ने, उठ्ने तालिका नियमित हुनुपर्छ । त्यसका अतिरिक्त योग, ध्यान, व्यायामलाई दिनचर्याको हिस्सा बनाउनुपर्छ ।

१०. घर/डेराको करेसाबारीमा तरकारी रोप्ने, धनिया, गोलभेडा, खुर्सानी रोप्ने । यसले थोरै भएपनि भान्साको खर्च घट्छ । यस्ता थोरै थोरै खर्च नै एकमुष्ठ धेरै हुने हो । त्यसैले सानातिना खर्च पनि कटौती गर्नुपर्छ ।

११. कपडा, भाडा बर्तन, बेड-कभरदेखि बच्चाको खेलौनासम्मका सामग्रीहरु जतनसाथ प्रयोग गरौ, जसले गर्दा लामो समय टिक्छ । यस्ता सामग्रीहरु खरिद गर्दा पनि अतिरिक्त खर्च बढ्छ ।

दम्पती कलहको अन्य कारण

पती-पत्नीबीच झै-झगडा वा मनमुटाव हुन ठूलो कारण चाहिदैन । स-सना कारणले पनि दम्पतीमा खटपट ल्याउँछ । यद्यपी त्यस्ता कुरालाई सामान्य ठानेर हामी वेवास्ता गर्छौ, जसले भोलि नराम्रो मोड पनि लिन सक्छ ।

– घर बाहिर काम गर्ने पती/पत्नी निश्चित समयमा घर नर्फकनु । यही कारण घर परिवारले अनावश्यक तनाव झेलिरहेका हुन्छन् ।

– अक्सर पुरुष एवं पती घरको सरसफाइमा उदासिन हुन्छन् । आफुले फेरेको लुगा, पर्स, बेल्ड जथाभावी राख्छन् । यसले पनि कलह निम्त्याउँछ ।

– कार्यलय वा आफ्नो काममा जानुपर्ने पतीका लागि सहि समयमा खानपानको व्यवस्थापन नहुनु ।

– पती र पत्नीको सुत्ने तथा उठ्ने समयमा एकरुपता नहुनु ।

– एकअर्कालाई होच्याउने वा आफुलाई मात्र सहि देखाउने चेष्टा गर्नु वा त्यस्तो मनासय राख्नु ।

– आपसी सल्लाह नहुनु । एकलौटी निर्णय लिनु ।

– धेरैजसो समय मोवाइल वा फेसवुक, ट्वीटरमा विताउनु ।

– फुर्सदिलो समयमा पनि पार्टनरलाई सहयोग नगर्नु ।

– कुनै जानकारी बिना पाहुना ल्याउनु ।

– पाहुना आएको बेला नराम्रो बोली व्यवहार गर्नु ।

कसरी हुन्छ दाम्पत्य सुख

– दुबैले एकअर्कालाई बुझौ । एकअर्काको भावनाको कदर गरौ ।

– आपसमा विश्वासको वतावरण बनाइराखौ ।

– कुनैपनि कुरा खुलस्त साझेदार गरौ । मनमा लागेको कुरा लुकाउनु हुन्न ।

– कुनैपनि विषयमा छलफल गर्नुपरे सकारात्मक कुराबाट प्रवेश गरौ ।

– पती वा पत्नीलाई रिस उठ्ने, चित्त दुख्ने प्रसंग वा कुरा नगरौ ।

– परिवार सुखको लागि दुबैले समान प्रयास गरौ । एउटाको दुखमा अर्कोले साथ दिने गरौ ।

– कुनैपनि महत्वपूर्ण निर्णय लिनुअघि पती पत्नीबीच छलफल गरौ ।

– हरेक कुरामा आफुलाई मात्र केन्द्रमा राखेर नसोचौ । चाहे घुम्ने स्थानको बारेमा होस् वा खाने कुराको बारेमा, परिवारको रोजाइलाई प्राथमिकता दिनुपर्छ ।

– दम्पतीबीचको सम्बन्ध सुमधुर राख्नका लागि स्वस्थ्य र रचनात्मक यौन जीवन पनि आवश्यक हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment