Comments Add Comment

काठमाडौं महानगरपालिकाले राजपत्र प्रकाशन गर्ने

५ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाले सरकारले जस्तै राजपत्र प्रकाशन गर्ने भएको छ । त्यसलाई ‘काठमाडौं महानगरपालिका स्थानीय राजपत्र’ नाम दिइएको छ । तर छोटकरीमा ‘स्थानीय राजपत्र’ भनिने राजपत्र प्रकाशन सम्बन्धी कार्यविधिमा उल्लेख छ ।

राजपत्र सरकारको जस्तै काठमाडौं महानगरपालिकाको आधिकारिक प्रकाशनको रुपमा रहनेछ । महानगरपालिकाले गर्ने नीतिगत निर्णय, नगरसभाबाट पारित नीति, योजना, कार्यक्रम, बजेट, ऐन लगायतका विषयलाई राजपत्रमा प्रकाशित गर्ने कार्यविधिमा उल्लेख छ । राजपत्रमा प्रकाशित भएपछि ति विषयहरु औपचारिकरुपमा कार्यान्वयनमा जानेछन् ।

काठमाडौं महानगरपालिकाको स्थानीय राजपत्र तीन भागमा बिभाजन गरी प्रकाशन गरिने छ । पहिलो भागमा नगरसभाबाट पारित भएका ऐन, बजेट, नीति कार्यक्रम तथा नियमावली, मापदण्ड, कार्यविधि, यस्तै प्रकृतिका अन्य दस्तावेजहरु तथा नगर कार्यपालिकाबाट स्विकृत नियमावली, कार्यविधि, निर्देशिका, मापदण्ड तथा अन्य नीतिगत प्रवन्धहरु र निर्णयहरु रहनेछन् ।

दोस्रो भागमा विभिन्न समिति-उपसमितिका महत्वपूर्ण नीतिगत निर्णय तथा सिफारिस, प्रतिवेदन, कार्यालयका महत्वपूर्ण सूचना, विज्ञप्तीहरु र अधिकार प्रत्यायोजन सम्वन्धी विषयलाई समेटिने छ ।

त्यसैगरी तेस्रो भागमा अधिकृतस्तरका कर्मचारीहरुको नियुक्ति, सरुवा, बढुवा लगायतका विषयहरु रहने महानगरपालिकाको कार्यविधिमा उल्लेख छ ।

राजपत्र कार्यकारी अधिकृतको नामबाट प्रकाशित हुनेछ । कुनै पनि विषय स्थानीय राजपत्रमा प्रकाशन गर्ने वा नगर्ने भन्ने सम्वन्धमा द्विविधा भएमा अन्तिम निर्णय गर्ने अधिकार प्रमुखमा निहित रहने छ । प्रकाशित स्थानीय राजपत्रको मूल्य आर्थिक वर्ष ०७४/७५ का लागि प्रत्येक पृष्ठको एक रुपैयाँ तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment