Comments Add Comment

डा. केसीको अनसन रोक्ने सरकारको प्रयास असफल

९ साउन, काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका प्रा. डा. गोविन्द केसीको अनसन रोक्ने सरकारको प्रयास असफल भएको छ । डा. केसीले सोमबार अपराहृन ४ बजे अस्पतालमा पत्रकार सम्मेलन गरेर ११ औं अनसन सुरु गरेको घोषणा गरे ।

डा. केसीले अघि सारेका मागहरु पुरा गरेर अनसन रोक्ने प्रयासमा प्रधानमन्त्री शेरबहादुर देउवा केसीको सचिवालयसँगै पूर्व स्वास्थ्यमन्त्री गगन थापा पनि सक्रिय भएका थिए ।

यो बीचमा केदारभक्त माथेमाको टोलीले प्रधानमन्त्रीलाई भेट्नुका साथै केसीसँग सम्वाद पनि गराएका थिए । त्रिवि पदाधिकारीहरुसँग छलफल गरेर डा. केसीले अघि सारेका मागहरु सम्बोधन गर्ने प्रयास समेत भएको थियो । तर, डा. केसी अनसन बसिछाडे ।

कुन-कुन माग पुरा गर्न सरकार तयार ?

अनसन बस्नु अघि डा. केसीले पत्रकारहरुमाझ आफ्नो सातबुँदे माग प्रस्तुत गरेका थिए । उनले अघि सारेका अधिकांश माग यसअघि अल्टिमेटम दिँदा नै अघि सारेका थिए ।

प्रधानमन्त्री निकटवर्तीहरुका अनुसार सरकारले अधिकांश माग पुरा गर्ने बचन दिएको थियो । र, अहिले अनसन रोकेर ७/८ दिनको समय दिन प्रधानमन्त्रीले आग्रह गरेका थिए ।

डा. केसीले अघि सारेको क्याम्पस प्रमुख नियुक्तिको माग अनसन सुरु हुँदा नहुँदै पुरा भएको छ । त्रिविले प्रा. डा. प्रतापनारायण प्रसादलाई क्याम्पस प्रमुख नियुक्त गरेको छ ।

डा. केसीको अर्को माग सहायक डिन नियुक्ति हो । सहायक डिनका लागि आईओएमका डीन जेपी अग्रवालले सिफारिस गरेका नाममा त्रिवि रजिष्ट्रारको सहमति जुटेन । त्यसपछि त्रिविले वरिष्ठताको सूची आईओएमसँग मागेको छ र सहायक डीन नियुक्ति नहुँदासम्म सिफारिस भएकालाई नै जिम्मेवारी दिन त्रिवि तयार भएको छ ।

एमडीको शुल्क ३१ लाखबाट २२ मा झार्नुपर्ने डा. केसीको माग भने पूरा गर्न नसकिने त्रिविले बताएको छ । महाराजगञ्जमै पढेका विद्यार्थीका लागि सरकारले २६ लाख तिर्ने गरेको भन्दै त्रिविले ३१ लाख शुल्क घटाउन नसकिने तर निजी मेडिकल कलेजहरुलाई योभन्दा बढी शुल्क लिन नपाउने परिपत्र गर्ने बताएको छ ।

स्वायत्तताको मागबारे अध्ययन गर्न कार्यदल बनेको र त्यसले रिपोर्ट पर्खिनु पर्ने उसले बताएको छ ।

ऐेन कहाँ अडि्कयो ?

डा. केसीको मुख्य माग एकीकृत चिकित्सा शिक्षा ऐन बनाउनु पर्नेछ । माथेमा आयोगले बुझाएको प्रतिवेदनमा आफूहरुको सुझावसहित पास गर्नु पर्ने केसीको माग छ ।

यो विधेयक अहिले संसदको महिला, बालबालिका, जेष्ठ नागरिक र समाज कल्याण समितिमा छ । विधेयकमाथि सांसदहरुकै संशोधन समेत हालेका छन् ।

स्रोतका अनुसार एमाले सांसद रञ्जु ठाकुर सभापति रहेको समितिले मंगलबार बैठक राखेर केदारभक्त माथेमा, गोविन्द केसी र भगवान कोइरालालाई छलफलका लागि समेत बोलाएको छ । तर, ऐन पक्षधरसँग छलफल नगरी मेडिकल कलेज सञ्चालक र ऐन विरोधीहरुसँग छलफल गरेकोमा डा. केसी रुष्ट छन् ।

माग पुरा गर्छु भन्दा भन्दै किन अनसन बसे केसी ? 

आमरण अनसन बस्ने तयारीमा रहेका डा. केसीले आइतबार नै आमालाई भेटेर आएका थिए । निकटवर्तीहरुका अनुसार हरेक पटक अनसन बस्नु अघि उनले आमालाई भेट्थे ।

यो खबर पाएलगतै केसी निकटवर्तीहरुले उनको अनसन रोक्ने अवस्था नदेखिएको खबर गरेका थिए । त्यसैले सरकारले माग पुरा गर्छु भन्दा भन्दै अनसन बस्नुमा डा. केसीको निर्णय नै प्रमुख हो । फेरि पनि माग पुरा गर्दैनन् भन्ने उनलाई लागेको छ र उनी केही समयदेखि अनसन बसिछाड्ने मुडमा थिए ।

खासगरी चिकित्सा शिक्षा विधेयक आफूहरुको सुझावसहित तत्काल पास हुने पर्ने डा. केसीलाई शंका छ ।

स्रोेतका अनुसार उनले कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डले विधेयक पास गर्ने प्रतिवद्धता जनाउनु पर्ने माग गरेका छन् । सत्तारुढ दल कांग्रेसका एक सांसदले भने, ‘विधेयक पास गर्ने कि नगर्ने भन्ने सरकारको विषय होइन । संसदको विषय हो । यसलाई लिएर अनसन बस्नु उपयुक्त होइन ।’

एक नेताका अनुसार गगन थापासहितका कांग्रेसकै सांसदहरु समेत डा. केसी पक्षधरको सुझावसहित चिकित्साशिक्षा ऐन पास गर्नुपर्छ भन्ने पक्षमा छन् । तर, त्यसका लागि अनसन बस्ने नभई संसदहरुसँग लबिङ र छलफल बढाउनु पर्ने उनीहरुको सुझाव छ ।

यसका साथै साझा र विवेकशील पार्टीले पनि भूमिका खेलेको कांग्रेस नेताहरुको आशंका छ । केदारभक्त माथेमाहरुले समेत केही दिन अनसन रोक्न सुझाव दिएको र सरकारले पनि माग पुरा गर्छु भनेको अवस्थामा साझा र विवेकशील पार्टीका नेताहरुले अनसन बस्ने मुडमा रहेको केसीलाई हौसाएको कांग्रेस नेताहरुको आरोप छ ।

यो पनि पढ्नुहोस्

डा. केसीले थाले आमरण अनसन, उपचार र पढार्इ नरोक्ने

महाराजगञ्ज क्याम्पसमा प्रमुख नियुक्त, प्रताप नारायणले बुझे नियुक्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment