Comments Add Comment

अन्तरघात गरेको भन्दै भोजपुर एमालेको कारवाही

११ साउन, भोजपुर । स्थानीय तहको निर्वाचनमा पार्टीमा अन्तरघात गर्नेहरुलाई नेकपा एमाले भोजपुरले कारवाही गरेको छ ।

निर्वाचनको समीक्षा गर्न बसेको जिल्ला कमिटी बैठकले गाउँ, इलाका र कार्यकर्ता तहबाट आएको रिपोर्टिङ्गको आधारमा त्यस्ता नेता कार्यकर्तालाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरेको हो ।

भोजपुर नगरपालिकामा अन्तरघात गरेको भन्दै प्रदेश कमिटी सदस्य रमेश शाक्यलाई कारवाहीका लागि प्रदेश कमिटिमा सिफारिश गरिएको छ । शाक्यले पार्टीका उम्मेदवारहरुलाई हराउन गतिविधि गरेको भन्ने कार्यकर्ताबाट व्यापक गुनासो आएपछि छानविन समितिको सिफारिशको आधारमा कारवाहीका लागि प्रदेश कमिटीमा पठाइएको जिल्ला कमिटीले जनाएको छ । भोजपुर नगरपालिकामा एमालेका मेयरका उम्मेदवार गणेश श्रेष्ठ नेपाली कांग्रेसका कैलाश आलेसँग ३६ भोटले पराजित भएका थिए ।

अन्तरघातका कारण आफ्नै किल्ला रहेको स्थानीय तहसमेत जोगाउन नसकेको कारण पार्टी निर्देशन र अनुशासन विपरित गतिविधि गर्नेलाई कारवाही गरिएको एमाले भोजपुरका सचिव शरणकुमार राईले बताए ।

जिल्ला कमिटिले टेम्के मैयुङ गाउँपालिका -९ मा वडा अध्यक्षमा वागी उममेद्वारी दिएको जिल्ला कमिटी सदस्य नवराज माङपाहाङ, वडा नं ७ मा वडा अध्यक्षमा नै वागी उठ्ने जिल्ला कमिटी सदस्य विजयलक्ष्मी राई र उनीहरुको समर्थक, प्रस्तावक संगठित सदस्य रहेका यादवकुमारी नेपाल, भीमप्रसाद लुइटेल र वावुराम शाक्यलाई कारवाही गरेको छ । वडा नं ६ र ७ का वागी उम्मेदवारहरुलाई सहयोग गरेर पार्टीविरुद्ध गतिविधि गरेको ठहर गर्दै पूर्व गाउँ पार्टी सचिव केदार नेपाल र सदस्य नन्दकुमार तिम्सिनालाई पनि कारवाही गरेको छ ।

वागी उम्मेदवारहरुको पक्षमा भोट माग्दै हिडने जिल्ला कमिटि सदस्य नविन राईलाई पनि अन्तरघात गरेको ठहर गर्दै कारवाही गरिएको छ ।

पौवादुङमा गाउँपालिकामा पार्टीविरुद्ध भोट मागेर अन्तरघात गर्ने जिल्ला कमिटि सदस्य उदय कार्की र संगठित सदस्यहरु गजेन्द्र तामाङ र कर्ण तामाङलाई कारवाही गरिएको छ ।

वाँकी स्थानीय तहमा पनि सुक्ष्म तहबाट छानविन गर्नका लागि पदाधिकारीहरुलाई जिम्मेवारी तोकिएको छ । भोजपुरमा ९ मध्ये ४ स्थानीय तह नेकपा एमाले, ४ नेपाली कांग्रेस र १ मा माओवादीले प्रमुख जितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment