Comments Add Comment

हेपटाइटिसः किन, कसरी र कसलाई लाग्छ ?

यसरी बच्न सकिन्छ

बोलीचालीको भाषामा हेपाटाइटिसलाई ‘जण्डिस’ पनि भन्ने गरिन्छ । हेपाटाइटीस धेरैजसो भाइरसका कारण हुने गर्छ । तर कहिलेकाही यो व्याक्टेरिया वा औषधीको साइड इफेक्टका कारण पनि हुने गर्छ ।  भाइरस वा व्याक्टेरियाका कारण हुने हेपाटाइटिसले गम्भीर समस्या निम्त्याउन सक्छ ।

हेपाइटाइटिस दुई तरीकाका हुन्छ, क्रोनिक र एक्यूट । हेपाटाइटिसको सुरुको अवस्थालाई एक्यूट भनिन्छ भने पुरानो समस्यालाई क्रोनिक भनिन्छ । हेपाटाइटिसको प्रारम्भिक अवस्था सुरुको तीन महिनासम रहन्छ । यसको छ महिनासम्म पनि उपचार नभएमा यसले क्रोनिक हेपाटाइटिसको रुप लिन्छ ।

सुरुवाती अवस्थामा हेपाटाइटिसको साथमा शरीर पहेलो हुन थालेमा त्यसको सही ढङ्गले उपचार नभएमा त्यसले क्रोनिक रुप लिन थाल्छ । यदी त्यस पश्चात्त पनि हेपाटाइटिसकेा सही तरीकाले उपचार नभएको खण्डमा यो लिभर सिरोसिसको रुपमा परिणत हुन्छ, जसले पूरै कलोजोलाई खराब गर्छ । यसका कारण कलेजोको क्यान्सर समेत हुनसक्छ ।

सामान्यतया, हेपाटाइटिस ए, बी, सी डी र ई गरी पाँच प्रकारका हुन्छन् । त्यसमध्य हेपाटाइटिस ‘बी’ सबैभन्दा बढी घातक मानिन्छ । हेपाटाइटिस वी भएमा यसले कलेजोलाई क्षतविक्षत बनाई मानिसको मृत्यु समेत गराउन सक्छ ।
हपाटाइटिसका रोगीमध्य हेपाटाइटिस ए, बी र सीका विरामी बढी मात्रामा देखिने गरिन्छ ।

हेपाटाइटिसका लक्षण ?

१. ज्वरो आउनु

२. वाकवाकी, उल्टी हुनु

३. खान मन नलाग्नु

४. जीउ दुख्नु

५. शरीर पहेलो हुनु

६. अत्याधिक थकान महसुस हुनु

७. पिसाब पहेलो हुनु

८. पेट दुख्नु

९. जीउ चिलाउनु

१०. पखाला लाग्नु वा कब्जियत हुनु

हेपाटाइटिस हुनुको कारण ?

रगतमा विलिरुविन बढेमा मानिसलाई हेपाटाइटिस हुने गर्छ । हेपाटाइटिस भएमा शरीर पहेलो देखिन थाल्छ । शरीरमा हेपाटाइटिसको संक्रमण विभिन्न कारणले हुने गर्छ । पानी , विषाक्त सुईको प्रयोग, असुरक्षित शारिरिक सम्बन्ध लगायतका कारण यो रोग एकबाट अर्को मानिसमा सजिलै सर्ने गर्छ ।

त्यसमध्य हेपाटाईटिस ए र ई पानी तथा दुषित खानेकुराका कारण सर्ने गर्छ ।

हेपाटाइटिस ‘ए’ र ‘इ’

हेपाटाइटिस ‘ए’ एक जीर्ण संक्रामक रोग हो । यसलाई भाइरस हेपाटाइटिस पनि भन्ने गरिन्छ । इन्टेरो भाइरसको संक्रमणका कारण कलेजोमा संक्रमण हुने गर्छ । जब कलेजोले विलिरुविन छान्न सक्दैन, त्यतिबेला हेपाटाइटिस हुने गर्छ । यो हेपाटाइटिस मध्यको सबैभन्दा कम गम्भीर हो । हेपाटाइटिस ए संक्रामक रोग भएकोले यसको सम्पर्कमा आउने मानिसहरुलाई यसकेा जोखिम सबैभन्दा धेरै हुने गर्छ ।

दुषित पानीका कारण यसको संक्रमण बढी हुने गर्छ । यो समस्या दुषित पानी तथा दुषित खानपानका कारण हुने गर्छ । सामान्यतया यो रोग ३ देखि ४ हप्तामा निको हुने गर्छ । जबकी गर्भवती महिलाहरुमा यसकेा जोखिम बढी हुने गर्छ । यसलाई जण्डिस पनि भन्ने गरिन्छ ।

हेपाटाईटिस ‘बी’ ?

हेपाटाइटिस ‘बी’ भाइरसका कारण हुने एक विमारी हो । यसलाई सेरम हेपाटाइटिस पनि भन्ने गरिन्छ । यो रोग रगत, थुक, पिसाब, वीर्य, शारिरिक सम्पर्क लगायतको कारण एक व्यक्तिबाट अर्कोमा सर्ने गर्दछ । लागुु पदार्थ सेवनकर्ताहरुमा पनि यो रोगको जोखिम बढी हुने गर्छ । हेपाटाइटिस ‘बी’ एको तुलनामा बढी भयानक हुने गर्छ । हेपाटाइटिस भएका मानिसमा लिभर सिरोसिसको सम्भावना बढी हुने गर्छ ।

हेपाटाइटिस ‘सी’ ?

हेपाटाइटीस ‘सी’ लिभरसित सम्बन्धित एक रोग हो । हेपाटाइटिस ‘सी’ नामक विषाणुको संक्रमणका कारण हेपाटाइटीस सी हुने गर्दछ । यसकेा संक्रमणले कलेजोलाई पूर्णरुपमा क्षतिग्रस्त पार्दछ । सुरुवाती अवस्थामा यसको लक्षण थाहा पाउन निकै कठिन हुन्छ । यद्यपी यसका लक्षणबारे थाहा पाउन निकै आवश्यक छ ।

हेपाटाइटीस सीको समयमै उपचार नगरेको खण्डमा यसले मानिसलाई दीर्घकालीन असर पुर्‍याउन सक्दछ । हेपाटाइटीस सी भएका मध्य करिब ७५ देखि ८५ प्रतिशत मानिसलाई कडा प्रकारको संक्रमण हुने गर्छ । जसले कलेजो खराब गर्ने मात्र नभई कलेजोको क्यान्सर, लिभर सिरोसिस समेत हुनसक्छ । जसले गर्दा मानिसलाई कलेजो प्रत्यापोपण गर्नु पर्ने अवस्था समेत सिर्जना हुनसक्छ ।

हेपाइटिस थाहा पाउने तरीकाः

रगत जाँच गरेर तथा लक्षण पहिचान गरेर पनि हेपाटाइटीस भए , नभएको थाहा पाउन सकिन्छ । यदी हेपाटाइटिस भएको थाहा भएमा चिकित्सकसित परामर्श आवश्यक छ ।

रोकथामका उपाय ?

कुनै पनि हेपाटाइटिस रोग रगत परिक्षणद्धारा पत्ता लाग्ने गर्छ । यदी तपाईलाई हेपाटाइटिस भएको छ भने त्यसको उपचार रोगमा निर्भर हुने गर्छ । तर कुनै पनि रोग भन्दा त्यसको रोकथाम गर्नु नै सबैभन्दा उत्तम उपाय हो ।त्यसको लागि विभिन्न कुरामा ध्यान दिनु जरुरी छ ।

१. शरीरमा रोग लाग्न नदिने

२. दुषित पानी तथा खानेकुराको सेवन नगर्ने

३. खाना खानु अगाडी साबुन पानीले राम्ररी हात धुने

४. सफासुघर बस्ने

५. फलफुल, तरकारीको सेवन गर्नु पूर्व त्यसलाई सफा पानीले राम्ररी सफा गर्ने

६. वर्षायाम पानीको सेवन गर्नु पूर्व त्यसलाई राम्ररी उबाल्ने वा उमालेको पानीको मात्र सेवन गर्ने,

७. पानी उमाल्न नसकेको खण्डमा पानीमा क्लोरिनको प्रयोग गर्ने

८. यदी ताई आमा बन्दै हुनुहुन्छ भने गर्भावस्थामै चिकित्सकसितको सल्लाह अनुसार हेपाटाइटिस विरुद्धको खोप लगाउने

९. आफ्नो बच्चालाई पनि हेपाटाइटिस विरुद्धको खोप लगाउने

१०. अस्पताल जँादै हुनुहुन्छ भने नयाँ सुईको प्रयोग गर्ने । असुरक्षित यौन सम्बन्ध नराख्ने ।

साउन १३ गते विश्व हेपटाइटिस दिवस । यसबर्ष यस वर्ष यो दिवसको नारा हो ‘इलिमिनेट हेपाटाइटिस’ अर्थात ‘हेपाटाइटिस हटाऔ’ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment