Comments Add Comment

नबिल बैंकको अढाई करोड लुटपाट रहस्यमै, प्रहरीले बन्द गर्‍यो फाइल

ठूला आपराधिक घटनामा सुदरपश्चिम प्रहरी असफल !

१५ साउन, कैलाली । अत्तरियास्थित चौकीडाँडा जंगलमा नबिल बैंकको करिब अढाई करोड रुपैयाँ लुटिएको चार वर्ष पुग्नै लाग्यो तर, घटनाको रहस्य अझै बाहिर आउन सकेको छैन । लुटेराको छेउछाउ पुग्न नसकेपछि प्रहरीले यस घटनाको फाइल नै बन्द गरेको छ ।

२६ मंसिर २०७० मा कञ्चनपुरको महेन्द्रनगरस्थित नबिल बैंकको शाखाबाट नेपाल राष्ट्र बैंक धनगढीमा जम्मा गर्न लगिएको २ करोड ३० लाख ६० हजार रुपैया र २ सय अमेरिकी डलर पूर्व-पश्चिम राजमार्गस्थित मालाखेती जंगलमा दिउसै लुटिएको थियो ।

हतियारसहित ट्राफिक प्रहरीको भेषमा रहेका लुटेरा समूहले पैसा लिएर आएका बैंकका कर्मचारीहरु सवार म १ च १४६ नम्बरको जीपलाई नियन्त्रणमा लिएर रकम लुटेको समाचार बाहिर आएको थियो । उक्त जीपमा चालक बीरबहादुर चन्द, बैंकका कर्मचारी सत्यमान तामाङ्ग, गार्ड गंगादत्त भट्ट र अडिटर शुक्रराज भट्टराई रहेका थिए ।

बैंकका कर्मचारीकै मिलेमतो हुन सक्ने आशंकामा प्रहरीले केही कर्मचारीलाई नियन्त्रणमा लिएर अनुसन्धान पनि गर्‍यो । तर, प्रहरीले अनुसन्धानको कुनै पनि ‘क्लू’ समेत फेला पार्न सकेन । घटनाको प्रारम्भिक प्रमाण संकलनमै चुकेकाले अनुसन्धान तथ्य नजिक पुग्न नसकेको आरोप पनि प्रहरीलाई लाग्ने गरेको छ ।

प्रहरीले थुपै्र पटक अनुसन्धान टोली गठन गर्‍यो तर, कुनै पनि टोली अपराधी नजिकसम्म पुग्न सकेनन् । केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले अनुसन्धान गर्दा समेत केही पत्तो लागेन ।

घटनायता सुदूरपश्चिम क्षेत्रीय प्रहरी प्रमुख ६ जना फेरिएका छन् । त्यति नै संख्यामा जिल्ला प्रहरी कार्यालय कैलाली र कञ्चनपुरका प्रमुख पनि फेरिए । क्षेत्रदेखि जिल्लासम्मको कमाण्ड लिएर आउने प्रहरी अधिकारीहरु नबिल बैंक लुटपाट घटनाको गम्भीर अनुसन्धान गरी संलग्नको पहिचान गर्ने प्रतिवद्धता जनाउँछन् । अनुसन्धान टोली पनि बनाउँछन्, तर केही हात लाग्दैन ।

घटना हुँदा क्षेत्रीय प्रहरी प्रमुख नारायणप्रसाद बास्ताकोटी थिए भने त्यसपछि जयबहादुर चन्द, रामकुमार खनाल, माधव नेपाल, विजयकुमार भट्ट हुँदै अहिले रोमेन्द्रसिंह देउजा छन् । यसैगरी, घटनायता बसन्त पन्त, घनश्याम अर्याल, मोहनराज जोशी, बिक्रम चन्द, राजेन्द्र बिष्ट र अहिले अर्जुन चन्द कैलाली जिल्ला प्रहरी प्रमुख छन् ।

तत्कालिन क्षेत्रीय प्रहरी प्रमुख विजयराज भट्टले सुदूरपश्चिम सरुवा भएर आएलगत्तै गरेको पत्रकार सम्मेलनमा प्रहरी अनुसन्धान सफलता नजिक पुगेको दाबी गरेका थिए । गत वर्ष कैलाली आएका तत्कालिन प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्यालले पनि नबिल काण्डबारे केही समयमै सत्यतथ्य बाहिर आउने दाबी गरेका थिए ।

क्षेत्रीय प्रहरी प्रमुख भन्छन्ः फाइल बन्द छ

सुदूरपश्चिम क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक रोमेन्द्र देउजाले नबिल बैंकको पैसा लुटिएको घटनामा अहिलेसम्म कुनै पनि तथ्य प्राप्त गर्न नसकिएको स्वीकार गरे । उनले भने, ‘तथ्य नभेटिएकाले अहिले उक्त घटनाको फाइल बन्द गरिएको छ । घटना सम्बन्धी कुनै ‘क्लु’ फेला परे फाइल पुनः ओपन गरेर अनुसन्धान थालिने छ ।’

उनले घटनाको अनुसन्धानका लागि विगतमा केन्द्रबाट समेत टोली गठन भएको उल्लेख गर्दै अहिले भने छुट्टै अनुसन्धान टोली नरहेको बताए । लामो समयसम्म अनुसन्धान टोली एउटै घटनामा इन्गेज हुन नसक्ने उनको भनाइ छ ।

चर्चित रानीबारे हत्याकाण्डको रहस्य वर्षौंपछि बाहिर आएको उदाहरण प्रस्तुत गर्दै देउजाले प्रमाण ढिलो गरी फेला पर्दा कतिपय घटनाको तथ्य वर्षौंपछि बाहिर आउने गरेको बताए ।

कञ्चनपुरका प्रहरी उपरिक्षक प्रकाशबहादुर चन्दले कतिपय अन्य घटनासँग नबिल घटना पनि जोडेर अनुसन्धान गर्ने गरिएको बताए । पुराना घटनामा पनि प्रहरी अनुसन्धान जारी रहने भन्दै उनले नबिल घटनामा कुनै पनि प्रमाण भने भेटाउन नसकिएको उल्लेख गरे ।

ठूला घटनामा प्रहरी असफल !

नबिल बैंकमात्र होइन, सुदूरपश्चिममा भएका थुप्रै ठूला आपराधिक घटनामा प्रहरी असफल बन्दै आएको छ । प्रहरीको कमजोरीले गर्दा पीडितले न्याय पाउन सकेका छैनन् ।

क्याम्पस रोडमा डेरी व्यवसाय गर्ने दिपक खड्का परिवारसहित बेपत्ता भएको लामो समय बित्यो । संगठित रुपमा मिटर ब्याजको धन्दा गर्ने गिरोहले उनलाई मार्न सीमापारीका भारतीय अपराधीलाई सुपारी दिएको थाहा पाएपछि उनी परिवार सहित बेपत्ता भएका थिए । खड्काको परिवारको अवस्था हालसम्म प्रहरीले थाहा पाउन सकेको छैन ।

भारतका विभिन्न सहरमा ज्वैलर्स कम्पनीमा काम गर्ने कैलालीका ३ जना यहाँबाट बेपत्ता भएको २ वर्ष भन्दा बढी भइसकेको छ । चौमालाका धर्मबहादुर पौडेल, गोदावरीका देवी सिंह र उदासीपुरका नारायण स्वर्णकार अहिलेसम्म परिवारको सम्पर्कमा छैनन् । सुदूर तराईका संगिठत अपराध गिरोहका लागि काम गर्ने ठानिएका तीनै जना मारिएको हुन सक्ने आशंका गरिएको छ । तर, प्रहरीले कुनै सुराक पाउन सकेको छैन ।

करिब दुई वर्षअघि अत्तरियास्थित खानेपानी ट्यांकी नजिक बझाङबाट आएका शिक्षक धर्म जोशीको हत्या, अत्तरिया गोदावरी पुल नजिक अज्ञात महिलाको बलात्कारपछि भएको विभत्स हत्या, धनगढीका ओमप्रकाश पन्तको हत्या लगायतका कुनै पनि घटनामा प्रहरीले अपराधीलाई कानूनको दायरामा ल्याउन सकेको छैन ।

लोक सेवा आयोगका तत्कालिन क्षेत्रीय प्रमुख नवराज चौलागाई वेपत्ता भएको वर्षौंसम्म उनको अवस्था पत्ता लाग्न सकेको छैन । कैलाली मात्र नभइ सुदूरपश्चिमका डडेल्धुरा, डोटी, बैतडी, बझाङ र अछाममा ५ वर्षयता भएका ठूला-ठूला अपराधका थुप्रै घटनामा प्रहरीले अनुसन्धान गर्न सकेको छैन । अनुसन्धान सुरु नहुँदै आउने दबाव र प्रहरी भित्रबाटै हुने लेनदेनका कारण कतिपय घटनाका फाइल बन्द हुने गरेका छन् ।

कैलालीमा मात्र एक वर्षयता मिटर ब्याज, ढुकुटीजस्ता अवैध क्रियाकलापमा भएका ठगी र लुटपाटका आधा दर्जन घटनामा प्रहरीले छानविन गर्न सकेको छैन् । प्रहरीले किन अनुसन्धान गर्न सक्दैन् ? यसबारे प्रहरी अधिकारी सकभर प्रतिक्रिया नै दिन मान्दैनन् । प्रतिक्रिया दिए पनि उत्तर रेडिमेड हुन्छ, ‘अनुसन्धान जारी छ, केही दिनमा अपराधी पत्ता लाग्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment