Comments Add Comment

डोटी जिसस चुनाव: संयोजकमा ऐर, उपसंयोजकमा सोव पक्का

१९ साउन, डोटी । नेकपा एमालेको स्थायी कमिटीले बुधबार निर्णय गरेसंगै डोटी जिल्ला समन्वय समितिको संयोजक रामबहादुर ऐर बन्ने पक्कापक्की भएको छ । उप संयोजक शशी सोव हुने भएकी छन ।

जिल्ला समन्वय समिति गठनका लागि एमालेसंग स्पष्ट बहुमत रहेको छ । नौ स्थानीय तहमध्ये एमालेले पाँचमा प्रमुख–उपप्रमुख दुवै र एकमा उपप्रमुख जितेको छ ।

जिल्ला समन्वय समिति एकलौटी गठन गर्ने आधार तय भएपछि एमालेभित्र संयोजक को बन्ने भन्ने बिषयमा विवाद चल्दै आएको थियो । एमाले जिल्ला कमिटीले संयोजकका लागि ऐर र दिपायल सिलगढी नगरपालिकाका पूर्व मेयर पूर्णराज जोशीको नाम सिफारिस गरेको थियो । सिफारिसका आधारमा स्थायी कमिटीले ऐरको नाम टुङ्गो लगाएको हो ।

पञ्चायत कालमा नेकपा मशालबाट राजनीतिक यात्रा सुरु गरेका ऐर २०५१ सालमा एमाले प्रवेश गरेका थिए । २०४२ सालमा डोटी क्याम्पस डोटीको स्वतन्त्र विद्यार्थी युनियनका सभापति समेत भएका ऐर २०५४ सालको स्थानीय निकाय निर्वाचनमा जिल्ला विकास समितिका सदस्य हुन । हाल एमाले डोटी जिल्ला कमिटी सचिव समेत रहेका ऐर बहालवाला समानुपातिक सांसद गौरी ओलीका श्रीमान् हुन ।

२०४६ सालमै इतिहास विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेका ऐरलाई इमानदार राजनीतिज्ञको रुपमा चिनिन्छन् । यद्यपि, २०६४ र २०७० को संविधानसभा निर्वाचन र भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा पार्टीको पक्षमा राम्रोसंग नखटेको आरोप उनीमाथि लागेको छ ।

यस्तै उपप्रमुख सोब एमाले डोटी जिल्ला कमिटी सचिवालय सदस्य हुन् । डोटीमा सोवको छवि परिश्रमी, इमान्दार र क्षमतावान महिला नेतृको रुपमा रहेको छ ।

आधारभूत तहको शिक्षा समेत पूरा गर्न नपाउँदै वैवाहिक जीवनमा बाँधिएकी सोबले छोराछोरी जन्मिसकेपछि कक्षा ८ बाट फेरी अध्ययन थालेर स्नातक तहसम्मको अध्ययन पूरा गरेकी छन् । सोव एकल महिला हुन् । करिब चार वर्ष पहिले उनका श्रीमान्को मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment