+
+

परराष्ट्रविद भन्छन्- भारत र चीनको तनाव नेपाललाई खतरा

ठूला देशको निर्दयीपनबाट नजोगिए भूगोल हराउन सक्छः पाण्डे

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन १९ गते १६:१४

१९ साउन, काठमाडौं । परराष्ट्र मामिलाका जानकारहरुले भारत र चीनबीच बढ्दो तनाव नेपालका लागि खतरनाक हुने चेतावनी दिएका छन् । चीन र भुटानको सीमा क्षेत्र डोक्लाम विवादलाई लिएर भारत र चीनबीच दुरी बढिरहेको बेला पूर्वपराष्ट्रमन्त्रीहरुले नेपालले आफ्नो हित अनुकुल कदम चाल्नुपर्ने बताए ।

नेपाल-चीन दौत्य सम्बन्ध स्थापना भएको ६२ औं वर्षगाँठको अवसरमा बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्व परराष्ट्रमन्त्री रमेशनाथ पाण्डे र महेन्द्रबहादुर पाण्डेले शंका र संकीर्णता दुवै हावी भएकाले नेपालको कूटनीतिक सम्बन्ध कमजोर बनेको भन्दै राष्ट्रिय हितलाई केन्द्रमा राखेर मात्रै कूटनीतिक सम्बन्ध बलियो बनाउन सकिने धारणा राखे ।

पूर्व परराष्ट्रमन्त्री पाण्डेले साना राष्ट्रका लागि विश्व निर्दयी हुने गरेको इतिहास स्मरण गराउँदै नेपालको भूगोल बचाउन सचेत हुनुपर्ने बताए ।

‘साना राष्ट्रका लागि विश्व सधैं निर्दयी भाछ । त्यो निर्दयीपनबाट आफूलाई जोगाउन सकिएन भने संसारको भूगोलमा धेरै राष्ट्रहरु हराएर पनि गएका छन् । त्यसैले आफूलाई जोगाउने जिम्मा हाम्रो हातमा छ,’ पाण्डेले भने, ‘जुनबेला दुईवटा छेमकीहरुको बीचमा सम्बन्ध खराब हुन्छ, वाकयुद्ध चल्न सुरु गर्न थाल्छ, गोली र तोपहरु चल्न थाल्छन्, सानो राष्ट्र नेपालको लागि खतरनाक हुन्छ । यो कुरा स्मरण गराउन आवश्यक छ ।’

यसैगरी अर्का परराष्ट्रविद एवम् पूर्व परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले कुटनीतिक सम्बन्धलाई बलियो बनाउन आपसी विश्वासको वातावरण बनाउनुपर्नेमा जोड दिए । उनले नेपाल-भारत, नेपाल-चीन बीचको सम्बन्ध बलियो बनाउन शंका र संकिर्णतावादी दृष्टिकोण त्याग्नुपर्ने बताए ।

‘शंका र संकिर्णताको आधारमा होइन, विश्वासको आधारमा आत्मविश्वासका साथ मेरो नेशनल इन्ट्रेष्टलाई सर्भ गर्दा मित्रराष्ट्रहरुका नेशनल इन्ट्रेष्टलाई पनि सम्मान गर्छु भन्ने कुरा हामीले राख्नुपर्छ,’ पाण्डेले भने, ‘मित्रराष्ट्रहरुले पनि सम्मानका साथ हेर्नुहुन्छ र त्यही अनुसारको व्यवहार गर्नुहुन्छ भन्ने कुरामा म शंका गर्दिन । सबैसँग विश्वासको वातावरणमा हाम्रा नीतिहरुलाई कार्यक्रमहरुलाई अगाडि बढाउनुपर्छ भन्ने मलाई लाग्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?