Comments Add Comment

जनचेतना अभावले बालबालिका स्तनपानबाट बञ्चित

फाइल तस्वीर

२० साउन, काठमाडौं । नेपालमा स्तनपान सम्बन्धी जनचेतनाको अभावमा थुप्रै बालबालिका स्तनपानबाट बञ्चित भएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

‘विश्व स्तनपान सप्ताह’का अवसरमा स्वास्थ्य सेवा विभागद्वारा राजधानीमा आयोजित सांसदहरुसँगको अन्तरकि्रया कार्यक्रममा बोल्दै विभागका महानिर्देशक डा. राजेन्द्रप्रसाद पन्तले आमाको दुध नै शिशुको शारीरिक तथा मानसिक विकासका लागि सर्वोतम भएपनि जनचेतनाको अभावमा नेपालमा आमाको दूधलाई प्रतिस्थापन गर्ने खाद्य पदार्थहरुको विगविगी बढिरहेको बताए । ‘नेपालमा बाल बचाउ अभियानमा स्तनपानको महत्व धेरै छ,’ उनले भने,’तर, यसबारे जनचेतना नहुँदा यसका प्रतिस्थापन अन्य खाद्य वस्तुले गरिरहेको छ ।’

स्तनपानको अवस्थालाई सुधार गर्न सकिए मात्र विश्वका ८२ लाख शिशुलाई जोगाउन सकिने बताउँदै नेपालमा यसको रोकथामका लागि स्थानीय निकाय तथा नीति निर्माणकर्ताको सहयोग अपरिहार्य रहेको बताए ।

विश्व स्वास्थ्य संगठनको एक तथ्यांक अनुसार स्तनपान नगराउँदा हाल विश्वमा ३०० खर्ब रुपैयाँ आमाको दुधलाई प्रतिस्थापन गर्ने तत्वमा खर्च भइरहेको छ । जसमध्य सन् २०१४ मा यो खर्च ४५ खर्ब रहेकोमा सन् २०१९ सम्ममा यो संख्या बढेर ७२ अर्व पुग्न सक्ने विश्व स्वास्थ्य संगठनको अनुमान छ । ‘एकातिर आमाको दुध पौष्टिक छ भनेर हामीले भनिरहेका छौ । अर्कोतिर आमाको दूधलाई प्रतिस्थापन गर्ने क्रम बढ्दो छ ।’ उनले भने ।

गरिबी, अशिक्षा तथा बेरोजगारीका कारण पनि नेपालमा धेरै शिशु स्तनपानबाट बञ्चित भएको उनले बताए ।

कार्यक्रममा स्वास्थ्य सेवा विभाग, बाल स्वास्थ्य महाशाखा, पोषण शाखा प्रमुख राजकुमार पोखरेलले नेपालमा पोषणको अवस्थाबारे प्रकाश पारेका थिए ।

नेपालमा स्तनपानको अभावमा बालबालिका कुपोषणको शिकार भएको बताउँदै पोषण शाखाका निर्देशक राजकुमार पोखरेलले नेपालमा कुषोषणकै कारण बालबालिका पुड्कोपन, कम तौल तथा ख्वाउटेपना तथा मोटोपनाको शिकार भैरहेको बताए ।

उनका अनुसार नेपालमा कुपोषणकै कारण १००० दिनका ६ देखि २३ महिनाका करिब ६८.७ बालबालिकामा रक्तअल्पत्रा देखिएको छ भने प्रत्येक ४ मध्य एक महिना मोटोपनाको शिकार हुने गरेको तथा दुई तिहाई बालबालिकामा पोषणयुक्त खाना खाएको पाइदैन ।

कार्यक्रममा युनिसेफका पोषण विशेषज्ञ डा. प्रद्युम्न पौडेलले नेपालमा पोषणको महत्व, वर्तमान अवस्थाबारे जानकारी दिए ।

स्तनपानको दर घट्दै गएको प्रति चिन्ता

कार्यक्रममा पूर्व शिक्षा मन्त्री धनी राम पौडेल, महिला, बालबालिका, जेष्ठ नागरिक र समाज कल्याण समितिका सभापति रञ्जु कुमारी झा लगायतका अन्य सांसदहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै पूर्व शिक्षा मन्त्री धनीराम पौडेलले पछिल्लो समय नेपालका ५८ प्रतिशत जनसख्या शहर केन्दि्रत रहेको अवस्थामा स्तनपानको दर घट्दै गएकोको प्रति चिन्ता व्यक्त गरे ।

कार्यक्रममा प्रमुख अतिथि सांसद रञ्जु कुमारी झाले शहरमा फेशनका कारण तथा ग्रामीण भेगमा चरम गरिबीका कारण स्तनपानको समस्या बढ्दै गएको बताइन ।

विशेषगरी नेपालजस्तो चरम गरीबी भएको देशमा पोषण, स्तनपान, खोप, पौष्टिक खाना, सरसफाई लगायतलाई एकद्धारा प्रणालीमा केन्दि्रत गर्न जरुरी रहेको बताउँदै उनले यसको लागि ऐनमा संसोधन जरुरी रहेको उनले बताइन् ।

कार्यक्रममा संासद रुकमिणी झाले कानुन संसोधनमार्फत सुत्केरी विदालाई बढाएर छ महिना पुर्‍याउन तथा स्तनपान नगराउने परिवारलाई कानुनी दायरामा ल्याउन माग गरेकी छिन् ।

सांसद निशा कुमारी शाहले शहरको तुलनामा ग्रामीण भेगमा स्तनपान गराउनेको संख्या धेरै भएपछि स्तनपान गराउने आमालाई पोषण तत्वको अभावमा निकै समस्या बढिरहेका जनाउँदै यसलाई सुधार्न कार्यक्रम ल्याउने पर्नेमा जोड दिइन् ।

कार्यक्रममा सांसद सिन्धुजलेसा बुढाथोकीले नेपालमा दुई बच्चा जन्माएमा मात्र सुत्केरी विदा दिइने प्रचलन रहेको बताउँदै विभिन्न कारशवस २ भन्दा बढी बच्चा जन्माउने महिलाको हकमा समेत कानुन संसोधनमार्फत विशेष व्यवस्था गर्न माग गरेकी छिन् ।

त्यसैगरी, सांसद रामहरी सुवेदीले दुई भन्दा बढी बच्चा हुनेको हकमा समेत सुत्केरी विदा दिने व्यवस्थाबारे पुनरावलोकन गर्न माग गरेका छन् ।

विश्व स्तनपान सप्ताह यही साउन १७ गतेदेखि २३ गतेसम्म ‘सबै मिली स्तनपानलाई दियो बनाऔ ‘ भन्ने नाराका साथ देशका ७५ वटै जिल्लामा सञ्चालित छ ।

सुत्केरी विदा दुई महिनाबाट बढाएर छ महिना पुर्‍याउन पहल सुरु

नेपालमा महिलाहरुलाई दिइदै आएको सुत्केरी विदा दुई महिनाबाट बढाएर छ महिना अर्थात १८० दिन बनाउन स्वास्थ्य सेवा विभागले आवश्यक पहल सुरु गरेको छ ।

विश्व स्तनपान सप्ताहको अवसरमा विभागले सभासदहरुसितको अन्तरकि्रयामार्फत सुत्केरी विदा छ महिना बनाउन पहल सुरु गरेको हो ।

नेपालमा महिलाहरुलाई दिइँदै आएको सुत्केरी विदालाई छ महिना पुर्‍याउनकै लागि स्वास्थ्य मन्त्रालयले प्रजनन स्वास्थ्य विधयेक पारित गरी आवश्यक राय सुझावका लागि कानुन मन्त्रालय पठाइसकेको छ ।
कानुन मन्त्रालयबाट उक्त विधयेक संसोधनका लागि महिला, बालिबालिका ,जेष्ट नागरीक तथा समाज कल्याण समितिमा आएसँगै यो संसदमा पेश गरिनेछ ।

संसदबाट यो विधयेक पारित भएमा अब सरकारी कार्यालयमा मात्र नभई निजी संस्थामा कार्यरत महिला कर्मचारीले समेत छ महिने सुत्केरी विदा पाउने छन् ।

सार्क राष्ट्रको हकमा बंगलादेशमा यस अघि नै सुत्केरी विदा छ महिना दिइदै आएको छ । छिमेकी मुलुक भारतले पनि हालै तीन महिने सुत्केरी विदालाई बढाएर छ महिना बनाइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment