Comments Add Comment

ताप्लेजुङका विभिन्न स्थानमा पहिरो

दुई परिवारको उठिबास, दर्जनौं घर पहिरोको जोखिममा

२४ साउन, ताप्लेजुङ । ताप्लेजुङमा पहिरोको जोखिम बढ्दै जान थालेको छ । जिल्लाका विभिन्न स्थानमा पहिरो जाँदा दुई घर विस्थापित भएका छन् भने दर्जनौं परिवार पहिरोको जोखिममा परेका छन् ।

फक्ताङ्लुङ गाउँपालिकामा पहिरो जाँदा एक घरका परिवार विस्थापित भएका छन् भने सात घर पहिरोको उच्च जोखिममा परेका छन् । पहिरोको कारण फक्ताङ्लुङ गाउँपालिका–३ लिङ्खिम, थिवा बस्तीका डम्बरबहादुर लाबुङको परिवार विस्थापित भएको हो । बस्ती नजिकै उत्तर–दक्षिण ओलाङ्चुङगोला लोकमार्ग सडक निर्माण गरिएको र बस्तीमुनि तारसहितको पर्खाल नलगाएकोले पहिरो बग्न थालेको स्थानीय बासिन्दाले बताएका छन् ।

पहिरोका कारण विस्थापित बनेका लाबुङका अनुसार, दुई–चार दिनदेखि निरन्तर वर्षा भइरहेको र बस्तीमा पर्खाल नलगाइएकाले अहिले पहिरो बग्न थालेको हो । सडकको डिलमा रहेको थिवा बस्तीमा पहिरो बग्न थालेपछि सिंगो बस्ती पहिरोको जोखिममा परेको उनले बताए ।

गएको शुक्रबारदेखि पहिरोले विस्थापित बनेका लाबुङ अहिले छिमेकीको शरणमा पुगेका छन् । यस्तै पहिरोका कारण मोतीकुमार लाबुङ, तिलप्रसाद लाबुङ, गंगाबहादुर लाबुङ, नरमाया लाबुङ, खड्गबहादुर लाबुङ, छत्रबहादुर लाबुङ र पुनहाङ लाबुङको घर उच्च जोखिममा परेको छ ।

यता फुङ्लिङ नगरपालिका ९ हाङ्देवाको कटहरेमा घर माथिबाट झरेको पहिरोका कारण वीरेन्द्र कार्कीको परिवार विस्थापित भएको छ ।

ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा खसेको पहिरोले २ घर उच्च जोखिममा परेका छन् । गएरातिको वर्षासंगै गाउँपालिकाको वडा नं ३ आङ्खोपको ओखरबोटे भन्ने स्थानमा पहिरो खस्दा स्थानीय टीकाराम मगर र यज्ञप्रसाद खरेलको घर पहिरोको जोखिममा परेको स्थानीय प्रकाश राईले बताए ।

पहिरोका कारण स्थानीयले करिब सय रोपनी क्षेत्रफलमा लगाएको अलैंची तथा धान खेतीमा क्षति पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment