Comments Add Comment

७१ वर्षको उमेरमा मादल बनाएर २ लाख आम्दानी

प्रेम भन्छन्-सजिलै घर खर्च चलेको छ

२४ साउन, गुल्मी । गुल्मी मालिका गाउँपालिका ५ घमिरका प्रेम नेपालील १६ वर्षको हुँदादेखि नै मादल बनाउने काममा लागे । उनले अहिले मादल बेचेरै वाषिर्क लाखौं रुपैयाँ कमाउँछन् ।

नेपाली अहिले ७१ वर्षका भए । करिव ४० वर्षदेखि जिल्लाको सदरमुकाम तम्घासको मादल बनाएर बेच्दै आएका उनले वाषिर्क २ लाख भन्दा बढी आम्दानी गदै आएको बताए । ‘बजारमा माग राम्रै छ । मादल बनाउन त्यति सजिलो छैन्,’ नेपाली भन्छन्, ‘२/३ दिन लगाएर एउटा मादल तयार गर्छु । आफू सानै छँदा बुवा र आमाको मृत्यु भएपछि यो पेसा अंगालेको हुँ ।’

कुनै तालिम बिना नै मादल बनाउन सिकेको उनी बताउँछन् । दमाहा, ट्याम्को, ढोलक लगायतका नौमती बाजासमेत बनाएको उनको अनुभव रहको छ ।

बजारमा धेरै मादल बिक्री हुने भएकाले मादल नै बनाउने काम गरेको उनले बताए । काठ, बाख्रा, भैंसी र गाई र गोरुको छाला, अंगार,खरी लगायतका सामग्री मिसाएर मादल तयार पार्ने गरिएको नेपालीको भनाइ छ ।

मादल बनाउने ढुंग्रो नभेटिदा समस्या

मादलको ढुंग्रो बनाउने काठ राम्रो हुनुपर्ने भएकाले गाउँमा काठ खोज्न समय लाग्ने गरेको बताउँछन् । ‘ढुंग्रोको दुवैतर्फ एकै आकारको भयो भने आवाज राम्रो आउँदैन’ उनले भने ‘स्वर राम्रो आउन आकार ठूलो र सानो हुनुपर्छ ।’ खिर्रो, मौवा, मलेतो, घ्वारी लगायतका काठको ढुंग्रो बनाउन सकिने भए पनि मौवा र घ्वारीको काठमा स्वर राम्रो सुनिने उनको अनुभव छ ।

‘महिनाको २० हजार रुपैयाँ कमाई हुन्छ’ नेपालीले भने ‘सिजनमा त अझ धेरै आम्दानी हुन्छ ।’ मादल बनाएकै आम्दानीबाट उनले घरखर्च चलाउँदै आएको बताए ।

आफूले बनाएको मादल गुल्मीसहित छिमेकी जिल्ला अर्घाखाँची, बाग्लुङ, पाल्पा, प्युठानमा समेत पुग्ने गरेको बताए ।

राम्रो मादल बनाएको भन्दै आफू पुरस्कृत भइसकेको नेपालीले सुनाए । ‘सिजनका बेला खाने फुर्सद नै हुँदैन’ उनले भने, ‘ग्राहकले २/४ दिन पर्खेर मादल लैजान्छन् ।’

विवाह, तीज र दसैं तिहारमा धेरै मादल खपत हुने उनले बताए । गाउँघरमा प्रायः दलित समुदायका गरिब एवं विपन्न परिवारका व्यक्ति यस पेसामा लागेको उनी बताउँछन् ।

मादल बनाउँदैनन् पछिल्लो पुस्ता

मादलबाट कमाई राम्रै हुने भएपनि छाला काढ्न र सुकाउन झन्झट हुने भएकाले पछिल्लो पुस्ताले यस पेसाप्रति ध्यान नदिएको उनले बताए ।

पाँच सयदेखि दुई हजार पाँच सय रुपैयाँसम्ममा मादल बिक्री गरिने नेपालीले बताए । नेपालीले आधुनिक शैलीसँगै मादल बनाउने पेसामा युवा पुस्तालाई आकर्षण गर्न सके गाउँघरमै राम्रो आम्दानी हुने कुरामा जोड दिए ।

मादल बनाउने पेसालाई घरेलु तथा साना उद्योग विकास समिति गुल्मीले सहयोग गर्दै आएको छ ।

घरेलु तथा साना उद्योग विकास समिती गुल्मीका प्रमुख बरिष्ठ उद्योग विकास अधिकृत कृष्ण प्रसाद पोखरेलका अनुसार कार्यालयले मादल बनाउन प्रयोग हुने साना मेसिन औजार लगायत नगद सहयोग गरेकेा बताए ।

अहिले काहिपनि मादल बनाउने भेटिदैनन् यसको सरक्षण गर्नका लागि र यो उद्योग घरेलु तथा साना उद्योग विकास समिति अन्र्तगत पर्ने भएकाले कार्यालयवाट सक्दो सहयोग गरेकको अधिकृत पोखरलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment