Comments Add Comment

यसरी सुरु भयो बोष्टन सप्ताह (फोटो फिचर)

दुई दिनमा २ लाख ६९ हजार ९७६ डलर संकलन

 

८ अगस्ट, बोष्टन । अमेरिकाको बोष्टनमा ‘बोस्टन सप्ताहा २०१७’ भव्य रुपमा सुरु भएको छ ।

बोस्टनमा पशुपतिनाथको मन्दिर र बुद्ध स्तुपासहित नेपाली कम्युनिटी सेन्टर बनाउन पहल गरिरहेको पशुपतिनाथ बुद्ध फाऊण्डेशनको सहयोगार्थ आयोजना गरिएको सप्ताहको भव्य रुपमा उद्घाटन गरिएको छ ।

पहिलो दिन बृहत कलश यात्रासहित सप्ताहाको उद्घाटन भएको थियो । बोष्टन सप्ताहाको पहिलो दिन र दोस्रो दिन हाउसफुल भएको आयोजकले बताएको छ ।

पूर्ब घोषित कार्यक्रम अनुसार उत्साहका साथ मिस्टिक भ्याली पार्कवेको बिशाल पार्कमा करिब दुई हजार नेपालीहरुको सहभागितामा भव्य र सभ्य रुपमा कलश यात्रा गरिएको सप्ताह मूल आयोजक समितिले जानकारी दिएको छ ।

कलश यात्रापछि सप्ताहा हल शिबालय मन्दिरको दुर्गा हलमा पुगेर बिधिबत श्रीमद्भागबत सप्ताहा महायज्ञ तथा बृहद आध्यात्मिक महोत्सवको ऊदघाटन गरिएको थियो ।

आकर्षक नेपाली पहिरन नेपाली भेषभुषासहित अमेरिकाको बिभिन्न राज्याबाट नेपालीहरु कलश यात्रामा सहभागी भएका थिए ।

यति धेरै नेपालीहरु एकजुट भएको यो सम्भवतः पहिलो कार्यक्रम हो । बाचन प्रविण पण्डित दिनबन्धु पोखरेल प्रमुख बाचक रहेको बोष्टन सप्ताहा २०१७ को लागि नेपालीहरु तीन महिनादेखि तयारीमा जुटेका थिए ।

यहाँ क्रियाशील सबै नेपाली सँघसँस्थाका पदाधिकारीहरु, सम्पूर्ण नेपाली समाजसेबीहरु एक ढिक्का भै सप्ताहा सफल पार्न लागि परेका छन् ।

मूल आयोजक समितिले जिम्मेवारीलाई बाडफाड गरी समिति उपसमिति र स्वयमसेबक टिम बनाएको छ । यसमा नेपालीहरु दिनरात नभनी जुटेका छन् ।

सप्ताह हल सुन्दर बनाएर सजाइएको छ । खाना, प्रसादको हरेक दिन ब्यबस्था गरिएको छ । आउन र जान सटल बसको ब्यबस्था समेत गरिएको छ ।

यतिबेला बोष्टन सप्ताहामय भएको छ । सप्ताहा १२ अगस्टसम्म दिउँसो १२ देखि राति १० बजेसम्म संचालन हुनेछ ।

दुई दिनमा दुई लाख ६९ हजार ९७६ डलर संकलन

यसैबीच सप्ताह सुरु भएको दुई दिनमै दुई लाख ६९ हजार ९७६ डलर संकलन भएको छ ।

पहिलो दिन एक लाख २७ हजार ५८६ डलर र दोश्रो दिन एक लाख ४२ हजार ३९० डलर गरी २ लाख ६९ हजार ९७६ डलर दान सँकलन भएको हो ।

धेरैले पाँच हजार डलर दान गरेका छन् । हालसम्म सबैभन्दा बढी दिनेको दान रकम ११ हजार १११ डलर रहेको छ ।

सबै दानबिरको बिबरण शीघ्र प्रकाशित गर्ने जनाइएको छ । नेपालीलाई नेपाली साँस्कृतिक केन्द्र , नेपाली सामुदायिक केन्द्र चाहिएको थियो सही बेलामा सही कार्यक्रम भयो सक्दो दान गर्नु पर्छ भन्ने भावना ग्रेटर बोष्टनका नेपालीमा पलाएको छ ।

‘सक्नेले धेरै दान गरौ नसक्नेले थोरै गरौ केही न केही त अवश्य गरौ कोही नछुटौ’ भन्ने नारा घरघरमा लगाइएको छ ।

नेपाली एकता नेपाली पहिचान नेपाली कला धर्म सँस्कृतिको लागि कम्युनिटी सेन्टर अत्याबश्यक भएको बेला सप्ताहा महायज्ञ सुरु भएको हुँदा छिमेक राज्यबाट समेत नेपालीहरु सहभागी भै दान गर्न थालेका छन् ।

१५ लाख डलर संकलन गर्ने लक्ष्य राखिएको यस महायज्ञमा हरेक दिन भक्तजन बढ्ने संकेत मिलेको छ ।

तस्वीर :सान प्रधान र बिजय तामाङ  

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment