Comments Add Comment

सिँचाइ मन्त्रीको प्रस्ताव- राष्ट्रिय गौरवका सबै आयोजनालाई एउटै छातामुनि राखौं

२५ साउन, नेपालगञ्ज । सिँचाइ मन्त्री सञ्जय गौतमले राष्ट्रिय गौरवका आयोजनाहरु निर्धारित समय मै सम्पन्न गर्नु पर्नेमा जोड दिएका छन् । उनले यी आयोजनाहरु एउटै छाता मुनि राखेर मेगा प्रोजेक्ट तयार पार्नुपर्ने धारणा समेत राखेका छन् ।

सुर्खेतमा निर्माणाधिन भेरी-बबई डाइभर्सनको हेडवर्क्स र कर्णाली चिसापानीमा निर्माण भएको रानी जमरा सिँचाइ आयोजनाको निरीक्षण गर्दै उनले यस्तो बताएका हुन् ।

नेपाल सरकारले राप्ती र कर्णाली नदीमा विभिन्न ४ वटा राष्ट्रिय गौरवका आयोजना सञ्चालन गरेको छ ।

मन्त्री गौतमले सबै आयोजना एउटै अम्ब्रेला भित्रबाट सञ्चालन हुँदा व्यवस्थापकीय खर्चमा समेत मितव्ययिता हुने र आयोजना पनि समयमै सम्पन्न हुने दाबी गरे । उनले भने, ‘सिक्टा सिचाईं आयोजना, बबई सिँचाइ आयोजना, भेरी-बबई डाइभर्सन र रानी जमरा सिँचाइ आयोजनालाई एउटै अम्ब्रेला भित्र राखेर मेगा प्रोजेक्ट तयार पार्नको लागि आफ्ना मातहतका निकायलाई निर्देशन दिएको छु ।’

मन्त्री गौतमले आफू मन्त्री हुने वित्तिकै यस क्षेत्रमा निर्माणाधिन अवस्थामा रहेका राष्ट्रिय गौरबका आयोजनामा बढी ध्यान केन्दि्रत गरेको बताउँदै भने, ‘ सिँचाइ मन्त्रालयको पदभार सम्हाल्ने बित्तिकै म सिक्टा र बबई सिँचाइको निरीक्षण र कार्यप्रगतिको अवस्थाबारे बुझ्न आएँ ।’

उनले आयोजना प्रमुख र महानिर्देशक लगायतलाई राष्ट्रिय गौरवका आयोजना समयमा सम्पन्न गराउनको लागि निर्देशन समेत दिँदै भने, ‘नीतिगत समस्या छ, पैसाको अभाव छ भने भन्नुहोस् म त्यो समस्या हल गर्नको लागि पहल गर्छु प्राविधिक समस्या छ भने पनि त्यसको समाधान खोज्न सहयोगी हुनेछु तर निर्माणाधिन आयोजनाको काम रोक्नु भएन, समयमै सम्पन्न गराउन पर्‍यो ।’

उनले माथिका चारवटै आयोजनाले यस क्षेत्रको कृषि क्षेत्रमा ठूलो क्रान्ति ल्याउने र मुलुकलाई नै कृषिमा आत्मनिर्भर बनाउनेमा आफू ढुक्क भएको बताए । उनले आयोजना निर्माणमा स्थानीयले पनि सहयोग गर्नुपर्ने धारणा राखे ।

मन्त्री गौतमले दशैं र छठको बिचबाटै मेसिनले सुरुङ खन्ने कार्य सुरु हुने र करिब दुई वर्षभित्रै काम सम्पन्न हुनेमा आफू विश्वस्त रहेको बताए ।

सिँचाइ सचिव रामानन्द प्रसाद यादवले राष्ट्रिय गौरवका आयोजनाका लागि आवश्यक बजेट र जनशक्तिका लागि मन्त्रालयले कुनै पनि सम्झौता नगरी माग अनुसारको जनशक्ति र बजेटको व्यवस्था गरेको जानकारी दिए ।

राज्यको २६ लाख हेक्टर जमिन सिँचाइ गर्न आवश्यक भएको ठाउँमा १४ लाख हेक्टर पनि सिँचाइ हुन नसकेको अवस्थामा यस्ता आयोजना प्रयोग र चासोको विषय भएको बताए ।

सिँचाइ विभागका महानिर्देशक राजेन्द्रप्रसाद अधिकारीले भेरी बबई डाइभर्सन सिँचाइ र विद्युत उत्पादन गर्ने गरी आयोजनाको डिजाइन भएकाले आफूहरुका लागि पनि नयाँ अनुभव भएको बताए ।

उनले यस क्षेत्रलाई सिँचाइको हब बनाउन र आवश्यक ऊर्जा उत्पादनको लागि समेत ठूलो मद्दत पुग्ने बताए । उनले परियोजना सम्पन्न हुँदा यसले ४८ मेगावाट विद्युत समेत उत्पादन गर्ने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment