Comments Add Comment

जब सडकमै नारिए मानिस…

२५ साउन, पाल्पा । जुवामा नारिनुपर्ने त गोरु-राँगा हुन् । तर, पाल्पामा मानिस पो नारिए, त्यो पनि खेतबारीमा होइन, बीच बजारको सडकमा । सुन्दा र हेर्दा अचम्म लाग्ने यो दृष्य पाल्पा सदरमुकाम तानसेनको हो । यो पाल्पामा मनाइने परम्परागत जात्राको दृष्य हो ।

हरेक वर्ष गाईजात्राको भोलिपल्ट पाल्पामा रोपाइँ जात्रा मनाइन्छ । त्यही जात्रामा सहभागी मानिसहरु गोरुको मुकुण्डो लगाएर जुवामा नारिएका हुन् । बोरा र भांग्रा लगाएका मान्छे गोरु जस्तो बनेर जुवामा नारिएर अघि-अघि हिँडे भने हातमा लठ्ठी लिएका व्यक्ति अनौ समाउँदै पछि-पछि लागे । रोपाहार र बाउसेले असारे भाकामा गीत गाए ।

स्थानीयले हरेक वर्षजस्तै बुधबार पनि हर्षोल्लास पूर्वक रोपाईंजात्रा मनाएका छन् । तर पछिल्ला वर्षहरुमा रोपाईजात्रा निकाल्ने प्रचलन हराउँदै जाँदा यसको रौनकतामा पनि केही कमी हुँदै गएको छ ।

आधुनिकतासँगै रोपाइँजात्राको रौनकता हराउँदै गएको तानसेन भगवतीटोलका राजेन्द्र गोपाल सिंहले बताए । ‘यो जात्रा खर्चिलो भएकाले आर्थिक अभावका कारण पछिल्ला वर्षहरुमा रोपाइँजात्रा निकाल्ने प्रचलन कम हुँदै गएको छ,’ उनले भने, ‘यसको संरक्षणमा सबैले चासो दिनुपर्ने बेला आएको छ ।’

यसवर्ष तानसेन नगरपालिका ५ सापाखुमले रोपाइँजात्रा निकालेको छ । रोपाइँजात्रा पाल्पाको पुरानो सँस्कृति भएकाले यसलाई लोप हुन नदिन यस वर्ष पनि निरन्तरता दिइएको तानसेन नगरपालिका वडा नम्बर ५ का अध्यक्ष रामबहादुर रावलले बताए ।

रोपाइँजात्रा गाईजात्रे शैलीमा मनाइने जात्रा हो । मानिसहरुले लगाउने पोशाक, हाउभाउ व्यंग्यात्मक हुन्छ । मानिसहरु रोपाइँजात्रा हेर्न गाउँ-गाउँबाट जिल्ला सदरमुकाम तानसेनमा आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment