२६ साउन, काडमाडाैं । स्वतन्त्र विद्यार्थी संघ (स्ववियु) महाराजगञ्ज क्याम्पसका विद्यार्थीहरुले चिकित्सा शिक्षा अध्ययन संस्थान -आईओएम) अन्तर्गतका सम्पूर्ण क्लिनिकल पोष्टिङ्गका कार्यक्रम बन्द गर्ने घोषणा गरेको छ ।
चिकित्सा शिक्षा सुधारको माग राख्दै विगत १८ आमरण अनसनमा रहेका डा. गोविन्द केसीको मागप्रति एक्यवद्धता जनाउँदै स्ववियुले क्लिनिकल पोष्टिङ्गका कार्यक्रम बन्द गर्ने घोषणा गरेको हो ।
स्ववियुका अध्यक्ष डा. मिलन गैरेले बिहीबार हस्ताक्षरसहितको प्रेस विज्ञप्ती जारी गरी डा. केसीको मागप्रति सरकारले सुनुवाई नगरेकोमा खेद प्रकट गरेका छन् ।
उनले डा. केसीको स्वास्थ्य अवस्था दिनानुदिन नाजुक हुँदै गएको जिकिर गर्दै उनको जीवन रक्षाको लागि पहल गर्न समेत सबैसमक्ष अनुरोध गरेका छन् ।
यसैबीच, आइओएमका आवासीय चिकित्सक लगायतका सम्पूर्ण विद्यार्थीहरुले नेपाल चिकित्सक संघका कार्यालयमा सर्वपक्षीय भेलाको आयोजना गरेका छन् । भेलामा चिकित्सक संघलाई कसको कित्तामा उभिन भनेर नैतिक प्रश्न गर्ने विद्यार्थीहरुले जनाएका छन् ।
डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै
चिकित्सा शिक्षा सुधारको माग राख्दै विगत १८ दिनदेखि आमरण अनसनमा बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै छ ।
उनको स्वास्थ्य नाजुक भएकै कारण विशेष कारण बाहेक अन्य कसैलाई पनि डा. केसीको नजिक गएर उनलाई नभेट्न समेत उनको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।
चिकित्सकहरुका अनुसार डा. केसीको मुटुको चाल घटबढ हुनुको साथै मुटुको गति प्रतिमिनेट २००को हाराहारीमा पुगेको छ ।
उनलाई पेटको माथिल्लो भागमा गम्भीर किसिमको दुखाई महसुस हुनुका साथै रगतमा सेतो कोसिकाको मात्र निकै कम भएको छ ।
जसका कारण उनलाई जुनसुकै बेला डरलाग्दो संक्रमण हुन सक्ने उनको उपचारमा संलग्न चिकित्सक डा. दिव्या सिंहले जानकारी दिएकी छिन् ।
प्रतिक्रिया 4