Comments Add Comment

नयाँ शक्तिका नेताले भने-हामी निराश भयौं, अब ध्रुवीकरण गरौं

बाबुरामलाई समेत ध्रुवीकरणमा सहभागी हुन आग्रह

२६ साउन, काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीका केही नेताले आफूहरु निराश भएको सार्वजनिक रुपमा बताएका छन् । मुख्य नेतृत्वकै कारण नयाँ शक्ति पार्टी संकटमा परेको भन्दै उनीहरुले पूर्वमाओवादीवीच ध्रुवीकरण हुनुपर्ने समेत बताएका छन् ।

बागबजारको एक होटलमा बिहीबार पत्रकार सम्मेलन आयोजना गरेर नयाँ शक्तिका नेताहरुले ध्रुवीकरणको प्रक्रियामा आउन डा. बाबुराम भट्टराई, मोहन वैद्य ‘किरण’, उपेन्द्र यादवलाई समेत आग्रह गरे ।

नयाँ शक्ति पार्टीको तर्फबाट आयोजना गरिएको पत्रकार सम्मेलनमा नेता देवेन्द्र पौडेल, महेन्द्र पासवान, वामदेव क्षेत्री, कुमार पौडेल, मुक्ति प्रधान, पासाङ शेर्पा, सुशीला श्रीपाली, बलावती शर्मा, तिलक थापा, अमरध्वज लामा, वाहिद अन्सारी, हरि चौलागाई, शर्मिली लामा, रत्न राना, रविन्द्र सुनार लगायतको सहभागिता थियो ।

कार्यक्रममा बोल्दै नेता पौडेलले आफूहरुले नयाँ शक्ति पार्टी छाड्न नखोजेको तर, परिवर्तनकारी शक्ति र पूर्वमाओवादी समूहवीच ध्रुवीकरण चाहेको बताए । उनले आफूहरु निःशर्त प्रचण्डको पार्टीमा जान लागेको प्रचार सही नभएको भन्दै बाबुरामलाई समेत लिएर ध्रुवीकरणको पक्षमा लाग्ने बताए ।

उनले भने, ‘परिवर्तनकारी शक्तिहरु कमजोर नहोउन् । उनीहरुबीच एकता हुनुपर्छ । उनीहरुबीच ध्रुवीकरण हुनुपर्छ । टुटफुट भएर अर्कैतिर देश नजाओस् ।’ परिवर्तनकारी शक्ति कमजोर नहोउन् ।’

बाबुरामले इतिहासको नेतृत्व गरेको हेर्ने चाहना

पत्रकार सम्मेलन गर्नुपूर्व दुई घण्टा डा. बाबुराम भट्टराईसित छलफल गरेको भन्दै पत्रकार सम्मेलनमा नेता पौडेलले डा. बाबुराम भट्टराईलाई ‘आइसोलेसन’मा पार्न नहुने बताए । उनले फेरि एकपटक इतिहासको नेतृत्व गर्ने नेताको रुपमा बाबुरामलाई हेर्न चाहेको पौडेलले बताए ।

‘बाबुराम जी नेपाली राजनीतिबाट आइसोलेसनमा नपुग्नको लागि परिवर्तनकारी पक्षधरहरुको एकीकरण गर्नुपर्छ । फेरि पनि म एक्लै हिँड्छु भन्नुभन्दा सबैलाई समेटेर विना पूर्वाग्रह अघि बढ्नुस् भनेका छौं र उहाँलाई हामी त्यस्तो नेता पनि बनाउन चाहान्छौं जसले फेरि एकपटक इतिहासको नेतृत्व गर्न सकोस् ।’

उनले अघि भने, ‘फेरि एकपटक जनताका परिवर्तनका मुद्दा सम्बोधन गर्न सकोस् । कसैले माने पनि नमाने पनि मत अगाडि बढें-बढें भन्ने हिसाबले जाने, कसैसँग ध्रुवीकरण पनि नहुने, कसैसँग तालमेल पनि नहुने, कसैसँग पक्षधरता पनि नहुने भयो भने राजनीति आइसोलेसनमा जान्छ ।’

‘प्रदेश र संघको चुनावमा एकता हुनुपर्छ’

उनले परिवर्तनकारी शक्तिहरुबीच प्रदेश र संघको चुनावमा पनि एकीकरण हुनुपर्ने बताए ।

‘जसले नेपालको परिवर्तनमा सबभन्दा महत्वपूर्ण योगदान गरे, तिनै शक्तिहरुको बीचमा एकता र ध्रुवीकरण हुनुपर्छ । निकटमा हुन प्रदेश र संघको चुनावमा पनि तिनै शक्तिको बीचमा तालमेल र समझदारी ध्रवीकरण र एकीकरणद्वारा बन्नुपर्छ भनेर हामीले त्यता लैजान खोजेको हो,’ उनले भने ।

बिहीबार बिहानको डा. भट्टराईसँगको भेटमा आफूहरुले कसैको विरोधमा र कसैप्रति पूर्वाग्रही नभएर उत्पीडित वर्ग, छरिएका माओवादीहरु, छरिएका जनजातीहरु, देशभक्त मधेसी साथीहरु, दलित सबैको नेतृत्व गर्न आग्रह गरेको पौडेलले जानकारी दिए । नेता पौडेलले भने, ‘उहाँ एकेडेमिक बहस गर्ने साथीहरुको प्रभावमा नपर्नुस् भनेर र बढी पार्टी, राजनीति, परिवर्तनका मुद्दाहरुमा सहभागी हुनुभन्दा पनि त्यस्तै प्रकृतिका साथीहरुबाट प्रभावित नहुनको निम्ति हामीले बहसको रुपमा यो विषय उठाउन खोजेका हौं ।’

आफूहरुको पत्रकार सम्मेलन आधिकारिक र नयाँशक्तिकै भएको दाबी गर्दै नेता पौडेलले भने, ‘नयाँ शक्तिमा गुट छैन । नयाँशक्तिले अस्तीको डकुमेन्टमा यसबारे छलफल बहस चलाउने भनेकाले हामी केही साथीहरु यो विषयमा छलफल चलाऔं भनेर लागेका हौं । हामी आर्टिकल पनि लेख्छौं र हाम्रो पहिचान के हो भनेर बहस चलाउँछौं ।’

‘पाँच सको सिद्धान्त पनि अस्पष्ट’

उनले नयाँ शक्तिले अघि सारेका पाँच ‘स’को सिद्धान्तको वर्ग र पक्षधरता स्पष्ट नभएको भन्दै त्यसलाई पनि स्पष्ट पार्नुपर्ने बताए । ‘दार्शनिक बैचारिक हिसाबले हामीले भनेका पाँच ‘स’ मध्ये पनि कुन समुदायको पक्षधरता हो ?’ पौडेलले पत्रकार सम्मेलनमा भने, ‘संसारमा दुई दृष्टिकोण र दुई बिचार छन् । त्यसमध्ये कुन समुदायको पक्षधरता, संसारभर चलेका आन्दोलनमध्ये कुन वर्गको, कुन समुदायको पक्षधरता भन्ने कुरा क्लियर छैन ।’

माओवादी परित्याग गरेका डा. भट्टराईले वैकल्पिक राजनीतिक शक्ति बनाउने घोषणा सहित गत वर्ष जेठ ३० गते शक्ति पार्टी नेपाल गठन गरेका थिए । समाजवाद उन्मुख वाम लोकतान्त्रिक शक्ति हुने दाबी गरेको नयाँ शक्तिले स्वाधिनता, समतामुलक समृद्धि, समावेशी समानुपातिक सहभागितामुलक लोकतन्त्र, सुशासन सदाचार र समुन्नत समाजवादलाई ‘पाँच स’को सिद्धान्त मान्दै आएको छ ।

यो पनि पढ्नुहोस् 

नयाँ शक्ति र वैकल्पिक राजनीतिः केही प्रतिरक्षा, केही स्वीकारोक्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment