Comments Add Comment

माडीमा २४ दिनदेखि विद्युत सेवा अवरुद्ध

स्थानीयबासी भन्छन्- हामीलाई राज्यले उपेक्षा गर्‍यो

 

२७ साउन, चितवन । चितवनको माडी नगरपालिकामा विद्युत सेवा अवरुद्ध भएको २४ दिन बितेको छ । ‘केही दिनभित्रै शुरु हुन्छ’ भनिएको सेवा अहिलेसम्म सञ्चालन नहुँदा स्थानीयबासिन्दा आक्रोशित बनेका छन् ।

निकुञ्ज क्षेत्रमा जमिनमुनि विछ्याइएको केबलमा खरावी आएर सेवा अबरुद्ध बनेको विद्युत प्राधिकरणले ‘रेडिमेड’ जवाफ दिएपनि निर्माणमा तदारुकता भने नदेखाएको स्थानीयको आरोप छ । भूमिगत भारतबाट समस्या पत्ता लगाउन मगाइएको यन्त्रले समेत काम नगरेपछि स्थानीयबासिन्दा झनै बढी मर्कामा परेका छन् ।

विद्युत नहुँदा माडीका ४ हजार बढी उपभोक्ता विद्युत सेवाबाट बञ्चित भएका छन् ।

यन्त्रले काम नगरेपछि त्यसलाई फिर्ता गरेर अर्को मेसिन मगाइएकाले अझै विद्युत सेवा सञ्चालन गर्न कम्तीमा १० दिन लाग्ने नेपाल विद्युत प्राधिकरणका भरतपुर वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलले जानकारी दिए । प्राधिकरणले सूचना नै जारी गरी यन्त्रले काम नगर्दा थप ८/१० दिन विद्युत सेवा सञ्चालन गर्न कठिनाइ हुने जनाएको छ ।

माडी नगरपालिकाका मेयर ठाकुुर ढकालका अनुसार चितवन राष्ट्रिय निकुञ्ज भित्र अन्डर ग्राउण्ड गरिएको ठाउँमा समस्या भएकाले कहाँ समस्या भएको हो भनि पत्ता लगाउन ल्याइएको ‘फल्ट एलोकेटर मेसिन’ले काम नगरेकाले  फेरि अर्काे मेसिन माग गरिएको बताए । आज शुक्रवार त्यो मेसिनले काम थालिने ठाकुरले जानकारी दिए ।

विकल्पको खोजी

गएको कात्तिकमा पहिलो पटक विद्युत बलेको यहाँ विजुली लैजान चितवन निकुञ्जभित्र करिब ८ किलोमिटर क्षेत्रमा जमिनमुनिबाट विद्युतको तार बिछ्याइएको छ । जमिनमुनि मात्रै यो एकै वर्षमा ४/५ पटक बिगि्रएर सेवा अबरुद्ध भएको छ । पहिलो पटक विद्युत बलेको वर्ष दिन नपुग्दै जमिनमुनि पटक-पटक खराबी आउनु र समयमै खराबी पत्ता लगाउन नसक्दा सास्ती भएको स्थानीय श्रीप्रसाद दवाडीले बताए ।

(यो पनि पढ्नुहोस्- ग्राउण्डेड सिष्टमबाट चितवनको माडी पुग्यो बिजुली)

विद्युत नहुँदा यहाँका अस्पताल, स्थानीय निकायका सेवा, पोल्ट्री व्यवसाय प्रभावित बनेका छन् । चितवनमा गर्मीसमेत बढी भएकाले स्थानीयलाई समस्या भएको छ । भरतपुर-चनौली, माडी ३३ केभी प्रशारण तथा ग्रामीण विद्युतीकरण आयोजनाले सो परियोजना मार्फत माडीमा विजुली लगेको हो ।

चनौली-माडी ३३ केभी प्रसारण तथा ग्रामीण विद्युतीकरण आयोजनाका प्रमुख जगदिशचन्द्र जोशीले जमिनमुनि पटक-पटक समस्या देखिएकाले वैकल्पिक व्यवस्थाको विषयमा छलफल भइरहेको बताए ।

शनिवारसम्म बत्ती बाल्ने प्रयासः प्राधिकरण

नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख रामदुलार यादवले भोलि शनिवारसम्म माडीमा बिजुली बाल्ने प्रयास भैरहेको बताए । प्राधिकरणले साउन २४ गते ८/१० दिन भित्र विद्युत सुचारु हुन सक्ने सूचना जारी गरेपनि त्यो भन्दाअघि नै विद्युत सेवा सञ्चालन गर्ने तयारी गरिएको दुलारले बताए । भूमिगत विद्युत लाइनको विकल्पको खोजीका विषयमा प्राधिकरणको ध्यान केन्द्रित भएको उनले बताए ।

भरतपुर वितरण केन्द्रका प्रमुख रामदुलार यादव पत्रकारहरूसँग

६ महिनामै बिग्रने प्रविधि ठीक नभएको गुनासो जायज भएको भन्दै उनले माडीमा विद्युत सेवाबाट जनतालाई पर्न गएको समस्याप्रति प्राधिकरण गम्भिर भएको बताए ।

बिजुली नहुँदा नेपाल टेलिकमको नेटवर्कमा समस्या

विद्युत सेवा अवरुद्ध हुँदा नेपाल टेलिकमको नेटवर्कमा पनि समस्या देखिएको छ । गत साउन ४ गतेदेखि माडीमा विद्युत सेवा अवरुद्ध भएदेखि नै नेपाल टेलिकमको नेटवर्क घाम लाग्दा दिउँसो १ देखि २ घण्टासम्म आउने र अन्य समयमा नआउने गरेको हुँदा सेवाग्राही समस्यामा परेका हुन् ।

माडीमा बिजुली आउन भन्दा पहिले नेपाल टेलिकमको टावर भएका ठाउँमा राखिएका सोलार तथा जेनेरेटर पनि नेपाल टेलिकमले निकालेर लगेपछि माडीको गर्दी बाहेक सबै ठाउँमा सञ्चार सेवाबाट बन्चित हुनपरेको माडी नगरपालिका वडा नम्बर ९ का मानबहादुर बिष्टले बताए ।

समाधानका लागि नेपाल टेलिकम भरतपुर शाखामा जानकारी गराएको माडी नगरपालिकाका मेयर ठाकुर ढकालले जानकारी दिए ।

स्थानीय भन्छन्- माडीलाई हेपियो

चितवन राष्ट्रिय निकुञ्जका जंगली जनावरबाट पीडित बनेका माडीका स्थानीयले राज्यले उपेक्षाको नजर लगाएको गुनासो गरेका छन् । ‘अन्य यतिका लामो समयसम्म विद्युत आपूर्ति बन्द भएको भएको राज्यको यो रुपको निष्कृयता रहन्थ्यो र ?’ स्थानीय गोविन्द न्यौपानेले भने, ‘तर माडी माथि किन यस्तो व्यवहार ?’

माडीका स्थानीय नेता श्रीप्रसाद दवाडीले माडीका जनतालाई हेर्ने राज्यको दृष्टिकोण दोस्रो दर्जाको भएको बताए । उनले राज्यको सम्वेदनहिनता माडी माथि रहेको गुनासो गरे । ‘विद्युत सेवा नभएकै कारण यहाँ भएको क्षति र यहाँका जनताले पाएको हैरानीबाट कसैलाई पनि बिजाएको छैन,’ दवाडीको दुःखेसो थियो, ‘निकुञ्जबाट माडीवासी उत्तिकै प्रताडित छन्, प्राधिकरणले पनि हेयको दृष्टिकोण लगायो ।’

दबावका लागि विद्युत सरोकार समूह गठन

साउन ४ गतेबाट बन्द भएको विद्युत सञ्चालन गर्ने बिषयमा प्राधिकरण उदासिन रहेको भन्दै स्थानीयबासीले दबावका लागि भन्दै विद्युत सरोकार समूह गठन गरेका छन् । समूहले आज विभिन्न सरोकारवाला निकायमा ज्ञापनपत्र बुझाउने र निकुञ्जमा हुन लागेको केबुल मर्मत कार्यको बिहानैदेखि अनुगमन गर्ने निर्णय गरेको छ ।

तत्कालिन समस्या समाधानका लागि ३ दिनभित्र विद्युत प्रवाह गराइनुपर्ने, विद्युत अवरुद्ध भएको अवधीको सेवा शुल्क र जरिवाना मिनाहा गरिनुपर्ने, विद्युत अवरुद्ध भएका कारण नोक्सानी ब्यहोर्नु परेकाले उचित क्षतिपूर्ति दिइनुपर्ने एवम् तत्काल विशेष व्यवस्थामार्फत ‘फल्ट एलोकेटर’ मेसिन खरिद गरी माडीमा राख्नुपर्ने माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment