Comments Add Comment

पूर्वाधार बिकास बैंकमा विदेशी संस्थाले ८५ प्रतिशतसम्म लगानी गर्न सक्ने


२७ साउन, काठमाडौं । राष्ट्र बैंकले पूर्वाधार बिकास बैंक सम्बन्धी नीतिगत व्यवस्था २०७४ शुक्रवार सार्वजनिक गरेको छ ।

पूर्वाधार विकास बैंकको रुपमा स्थापना हुने बैंकको न्यूनतम चुक्ता पुँजी रु. २० अर्ब हुनु पर्ने व्यवस्था यो नीतिले गरेको छ । स्थानीय लगानी मात्रै रहेर यस्तो बैंक बनाउने भएमा संस्थापक समूहले न्यूनतम ५१ देखि ७० प्रतिशत र सर्वसाधारण समूहको न्यूनतम ३० देखि ४९ प्रतिशत सेयर लगानी हुनुपर्नेछ । यसरी स्थापना हुने बैंकले सर्वसाधारणको लागि छुट्याएको मध्ये आफ्ना कर्मचारीलाई ०.२ प्रतिशतसम्म शेयर छुट्याउन सक्नेछ ।

त्यस्तै विदेशी साझेदारको रुपमा विदेशी बैंक वा वित्तीय संस्थाको संयुत्त लगानीमा समेत यस्तो बैंक स्थापना हुन सक्नेछ । यसरी स्थापना हुने बैंकमा विदेशी लगानीकर्ताले न्यूनतम २० प्रतिशतदेखि अधिकतम ८५ प्रतिशतसम्म सेयर लगानी गर्न सक्नेछ । ८५ प्रतिशतसम्म सेयर वैदेशिक लगानी हुने यस्तो बैंकले सर्वसाधारणलाई न्यूनतम १५ प्रतिशत सेयर छुट्याउनै पर्नेछ ।

त्यसैगरी, २० प्रतिशत वा सोभन्दा बढी तर ५० प्रतिशतभन्दा कम वैदेशिक सेयर लगानी रहेको बैंकले  सर्वसाधारणलाई कम्तिमा ३० प्रतिशत सेयर छुट्याउनै पर्ने भएको हो । सर्वसाधारणलाई ३० प्रतिशत सेयर छुट्याउँदा कर्मचारीलाई भने ३० प्रतिशत भित्रबाट नभई अलग्गै ०.२ प्रतिशतसम्म सेयर दिन सक्नेछ । विदेशी लगानीकर्ता र सर्वसाधारण समूहको सेयर छुट्टयाएपछि मात्र बाँकी रहने सेयर नेपाली संस्थापक समूहलाई छुट्टयाउन पाइने भएको हो ।

गैरआवासीय नेपाली नागरिकले बैंकमा लगानी गर्ने रकम नियमसंगत तरिकाले कुनै बैंक वा वित्तीय संस्था मार्फत् विप्रेषणको माध्यमबाट नेपाल भित्र्याएको हुनु पर्नेछ ।
यस्तो बैंक दर्ता गर्न जाँदा राष्ट्र बैंकमा चुक्ता पुँजीको ०.००५ प्रतिशत वा १५ लाख मध्ये जुन कम हुन्छ त्यही आधारमा रकम जम्मा गर्नुपर्दछ ।

राष्ट्र बैंकले ३० दिन भित्र सैद्धान्तिक सहमति दिन शर्त तोकेर र नतोकेरै निर्णय भने दिनेछ । सैद्धान्तिक सहमति भएको ३० दिन भित्र संस्थापकहरुले आफूले लगानी गर्न कबुल गरेको रकमको ४५ प्रतिशत रकम जम्मा गर्नुपर्नेछ । रकम जम्मा गर्दा एउटा वाणिज्य बैंकमा १ अर्बभन्दा बढी रकम जम्मा गर्न नपाइने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ । वाणिज्य बैंकहरु राष्ट्र बैंकले तोकेको मध्ये हुनुपर्नेछ । बैंकले ६ महिनाभित्र पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण हुन कम्पनी रजिष्ट्रारको कार्यालयमा निवेदन दिनुपर्नेछ । यो अवधिमा बैंकले भौतिक पूर्वाधार पनि तयार गरिसक्नुपर्नेछ ।

एक कम्पनीले यसअघि नै पूर्वाधार बिकास बैंकको अनुमति माग्दै राष्ट्र बैंकमा आवेदन दिएको थियो । नेपाल सरकारले पनि यस्तो कुनै बैंकमा १० प्रतिशत रकम लगानी गर्ने तयारी गरिरहेको छ ।

हाल राष्ट्र बैंकमा पूर्वाधार बिकास बैंकको लागि आवेदन दिएको संस्थामा व्यक्तिगत, संस्थागत लगानीकर्ता, एद्योगी व्यवसायीहरु रहेका छन् । केही वाणिज्य बैंकहरुले पनि लगानीमा साझेदारी गर्ने भएका छन् ।

व्यवसायीहरुमा बिशाल समूह, आइएमय समूह, लक्की समूह लगायतले पनि यसअघिदेखि नै चासो देखाउदै आएका थिए । नागरिक लगानी कोष लगायतका संस्थाहरु पनि पुर्वाधार बिकास बैंक निर्मँणमा सहभागी हुने तयारीमा रहेको खबरहरु आएको छ ।

पूर्वाधार बिकास बैंकले दिर्घकालिन लगानी गर्ने व्यवस्था रहेको भएपनि अवधि, लगानी क्षेत्रसम्बन्धी विस्तृत व्यवस्था भने नीति आएपछि अन्य निर्देशनहरुमा तोकिने राष्ट्र बैंकका प्रवक्ता नारायण प्रसाद पौडेलले बताए । यस बैंकको स्थापनाको उद्देश्य नै जलविद्युत, ठूला पूर्वाधारमा लगानी गर्ने रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment