Comments Add Comment

बिलिङ मेसिन नजोड्ने सयभन्दा बढी ट्याक्सी ट्राफिकको नियन्त्रणमा


२९ साउन, काठमाडौं । व्यवसायी तथा चालकहरुले ट्याक्सीमा कम्प्युटराइज्ड बिलिङ मेसिन जोड्न अटेरी गरेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखा र गुणस्तर तथा नापतौल विभागले कारवाही सुरु गरेका छन् ।

ठगी नियन्त्रणका लागि सुरु गरिएको प्रिन्टर सिस्टम झण्डै ३५ सय ट्याक्सीले जोडेका छैनन् । कतिपयले जोडिएको मेसिनसमेत प्रयोगमा ल्याएका छैनन् ।

यसविरुद्ध महाशाखाका डिआईजी सर्वेन्द्र खनालको अग्रसरतामा अभियान सुरु भएको हो । शनिबारबाट त्यस्ता बिलिङ मेसिन नजोड्ने ट्याक्सी नियन्त्रणमा लिने थालिएको महाशाखाका प्रवक्ता लोकन्द्रबहादुर मल्ले जानकारी दिए ।

त्यस्ता ट्याक्सी चालक र ब्यवसायीलाई महाशाखामा उपस्थित गराएर नापतौल विभागका कर्मचारी र मेसिन जोड्ने एजेन्टसँग तत्कालै जोड्ने सम्झौता गरेर छाडिँदैछ । अहिलेसम्म सयभन्दा बढी ट्याक्सीलाई ट्राफिकले नियन्त्रणमा लिएर कारवाही गरिसकेको छ ।

पछिल्लो समयमा बिल प्रिन्टर जोडेकाहरुले पनि त्यसलाई नचलाएको पाइएको छ । त्यस्ता ट्याक्सीले पनि सकेसम्म मिटरमा जानै नमान्ने र मिटरमा गुडे पनि यात्रुलाई बिल नै नदिने गुनासो बढेको छ । धेरै ट्याक्सीले त यो जोड्न नै आनाकानी गरेका छन् ।

राजधानीमा सर्वसाधारणले ट्याक्सी भाडा महंगो भएको र ठगिने क्रम बढेको गुनासो गरेपछि यो प्रणाली जडान गर्न सुरु गरिएको थियो । तर, ब्यवसायीले एपटक यो सिस्टम फेल भइसकेको भन्दै जडान गर्न अटेरी गर्ने गरेका छन् ।

विभागले साउनको पहिलो सातसम्ममा सबै ट्याक्सीको मिटरमा कम्प्युटराज्ड बिल प्रिन्टर जोडिसक्ने गरी तालिका सार्वजनिक गरेको थियो ।

बिलिङ सिस्टम जडान नगर्ने ट्याक्सीको मिटर नवीकरण गर्न छाडिएको छ । बिलिङ मेसिन अनिवार्य गरिएपछि मिटर नवीकरणमा आउने ट्याक्सी पनि घटेका थिए ।

ट्याक्सी नामसारी गर्दासमेत अनिवार्य प्रिन्टर जडित मिटर हुनैपर्ने ब्यवस्था गरिएको छ ।


मेसिन कस्तो ?

यस्तो कम्प्युटराइज्ड बिलिङ सिस्टम जोडिएपछि यात्रुले ट्याक्सीमा यात्रा गरेपछि पि्रन्टेड बिल प्राप्त गर्छन् । जसमा यात्रुले तिर्नुपर्ने शुल्क र यात्रा गरेको दूरीसहित विभिन्न विवरणहरु उल्लेख हुन्छन् ।


यो बिलमा ट्याक्सीवालाको गाडी धनी, ट्याक्सी नम्बर, टेलिफोन नम्बरसहितका विवरण पनि समावेश हुन्छन् । ट्याक्सीको पुरै विवरण हुने भएकाले सामान छुटे पनि यात्रुले सजिलै भेट्टाउन सक्नेछन् ।

यो सबै ट्याक्सीमा जोडिएपछि ट्याक्सीले यात्रु ठग्ने क्रम रोकिने विश्वास विभागको छ । मिटरमा पि्रन्टर जडान गर्दा पाँच हजारदेखि ८ हजारसम्म खर्च लाग्छ ।

फोटोः कमल प्रसाइँ





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment