२९ साउन, काठमाडौं । बाढी पसेर शनिबारदेखि जलमग्न रहेको विराटनगर विमानस्थल मंगलबारसम्म पूर्ण रुपमा बन्द हुने रहने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आइतबार उक्त घोषणा गरेको हो । धावनमार्गमा तीन फिट पानी जमेको तथा उडान सञ्चालनका लागि आवश्यक सबै उपकरणले काम नगरिरहेका कारण विमानस्थल सञ्चालनमा ल्याउन समय लाग्ने मन्त्रालयका सहसचिव सुरेश आचार्यले बताए ।
उनका अनुसार सञ्चार र नेभिगेसनमा प्रयोग हुने उपकरणहरु हाई फ्रिक्वेन्सी (एचएफ), भेरी हाई फ्रिक्वेन्सी (भीएचएफ), भीओआर र डीएमई सबै वर्षातका कारण बिग्रेका छन् ।
टर्मिनल भवन र चेक इन काउन्टरमा समेत पानी जमेको छ । कर्मचारीको आवासभित्रै पानी पसेको छ भने सेना र प्रहरीका ब्यारेक भत्किएका छन् ।
हवाई इन्धन बोकेको ट्यांकर डुबेका कारण तेल धावनमार्गको पानीमा मिसिएको छ । उक्त तेल धावनमार्गबाट पूर्ण रुपमा नहटाइएसम्म जहाजहरु उडान र अवतरण गराउन सक्ने अवस्था नहुने सहसचिव आचार्यले जानकारी दिए । धावनमार्ग तत्काल सफा गर्न सफलता प्राप्त भयो भने पनि इन्धन ट्यांकरको पूर्ण सफाइ नभएसम्म विराटनगर पुग्ने जहाजहरुलाई तेल उपलब्ध गराउन सकिँदैन ।
उक्त विमानस्थलमा मंगलबार पनि व्यावसायिक उडान सुरु हुने लक्षण भने छैन । सहसचिव आचार्यका अनुसार उद्दार र राहतका लागि हेलिकोप्टरको उडान/अवतरणका लागि सहज बनाउने प्रयास भने भइरहेको छ ।
वषर्ात्का कारण विमानस्थलमा भएको क्षती मूल्यांकन गरी पुनः सुचारु गराउन नेपाल नागरिक उड्डयन प्राधीकरणका उपमहानिर्देशक राजकुमार क्षत्री नेतृत्वको ६ सदस्यीय टोली सोमबार विराटनगर जाँदैछ ।
यसैबीच, खराब मौसमका कारण शनिबारदेखि अवरुद्ध झापा सदरमुकाम भद्रपुरस्थित विमानस्थलमा आइतबार बुद्ध एयरले तीन वटा उडान गरेको छ । उक्त विमानस्थलमा पनि विराटनगरबाटै हवाई इन्धन पठाइने गरेका कारण सबै जहाजको नियमित उडान तत्काल सुचारु हुने सम्भावना कम रहेको प्राधीकरणका एक अधिकारीले जानकारी दिए ।
प्रतिक्रिया 4