+
+
Shares

कलाकारको राहतः कोही फिल्डमा, कोही फेसबुकमा !

रेखा थापादेखि केकी अधिकारीसम्म केके गर्दैछन् ?

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन ३१ गते ८:१७

३१ साउन, काठमाडौं । ‘विभिन्न संघ संस्थाले आफुखुसी राहत वितरण गर्न पाउने छैनन्’ गृहमन्त्रालय यसो भनिरहेको छ, उता सीताराम कट्टेल ‘धुर्मुस’ भीर-पहिरो छल्दै तराईबासीको चिसो चुल्हो बाल्न जुटिरहेका छन् । डुबानमा परेका परिवारलाई चामल, भुजा, दालमोट, बिस्कुट, शुद्ध पानी बाँड्दैछन् ।

धुर्मुसले बर्दिवासबाट चिकित्सकको टोलीलाई पनि गुहारेका छन्, जसले पीडितको घाउमा महल्म पट्टी गरिरहेका छन् । ‘यो बिजोग देखेपछि हात बाँधेर बस्न सकिएन’ खाद्यान्न लगायतका सामाग्री बोकेर पुगेका सीतारामले फोनमा सुनाए, ‘जति सकिन्छ, जहाँसम्म सकिन्छ सहयोग गर्ने हो ।’

काठमाडौंबाट आइतबार तराई छिचोल्न पुगेका सीताराम उद्वार कार्यमा पनि खटिएका छन् । बर्दिवासबाट केही सहयोगीका साथ उनी महोत्तरी, धनुषा, सिरहा, सप्तरी हुँदै झापासम्म पुगेका छन् । त्यहाँबाट उनी पश्चिम तराइतर्फ सोझिनेछन् । धुर्मुसलाई देख्नासाथ घरबारविहीनहरु अनुनय गरिरहेका छन्, ‘हाम्रो घर डुब्यो, तपाईले बनाइदिनुपर्‍यो ।’

मनकारी कलाकर्मी

तराईको डुबानले बेहाल परिवारलाई ‘सहयोग गर्ने भन्दै’ कलाकर्मीहरु तंग्रिएका छन् । कसैले एक लाख त कसैले पचास हजार सहयोग गर्ने उद्घोष गरिरहेका छन् ।

हास्य अभिनेताद्वय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले एक लाख नगद सहयोग गर्ने भनेका छन् । दीपकराज गिरी पनि एक लाख रुपैयाँ सहयोग गर्न तम्तयार छन् । दीपाश्री निरौलाले ५१ हजार रुपैया सहयोग गर्ने बचन दिएकी छिन्, मोरङ समाज मार्फत ।

नायिका पूजा शर्माले पनि एक लाख सहयोग गर्ने घोषणा गरेकी छिन् । उनी आफै बाढी-पहिरो प्रभावित क्षेत्रमा जाने भन्दैछिन् । तर, उनलाई ‘मौसमले साथ’ दिएको छैन ।

नायिका पि्रयंका कार्कीले ५१ हजार सहयोग गर्ने भन्दैछिन् । उता गायिका कोमल वली पनि ५१ हजार रुपैयाँ दिन तम्सिएकी छिन् । हास्य कलाकार मनोज गजुरेल २० हजार रुपैयाँ सहयोग गर्ने बताएका छन् ।

कलाकारहरुको छाता संगठन ‘कलाकार संघले’ ६५ हजार जम्मा गरेर राहतमा जुट्ने जमार्को गर्दैछ ।

रेखाको आग्रह, केकीको सूचना

चल्तापूर्जा नायिका रेखा थापा मोरङ निवासी हुन् । त्यही कारण उनलाई तराईको डुबानले छटपटीमा पारेको हुन सक्छ । यद्यपि उनले सहकर्मीहरुले जसरी कुनै ‘सहयोग’ गर्ने उद्घोष गरेकी छैनन् । तर, फेसबुकमार्फत सरकारलाई भनेकी छिन्, ‘छिट्टो उद्वार गर्नुपर्‍यो ।’

नायिका थापाले आफ्नो फेसबुक वालमा यस्तो लेखेकी छिन्, ‘बाढी पहिरोका कारण डुबान क्षेत्रमा पर्नुभएका सबैलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न र तत्काल उद्धार कार्यलाई तिब्रता दिन सरकारसँग आग्रह गर्दछु ।’

अर्की नायिका केकी अधिकारी बाढीको सूचना संप्रेषण गर्नतिर जाँगर चलाइरहेकी छिन् । उनी भूकम्पले पुर्‍याएको क्षतिको विवरणदेखि कसरी सुरक्षित हुनेसम्मका विवरण पेश गरिरहेकी छिन्, फेसबुकमार्फत । बाढीसँग सम्बन्धित विभिन्न न्युज पोर्टलमा प्रकाशित समाचारलाई केकीले धमाधम शेयर गर्दैछिन् ।

पब्लिसिटी फन्डा

विनासकारी भूकम्पबाट एउटा प्रवृत्ति छताछुल्ल भएको छ, सहयोगका नाममा आफ्नो प्रचार गर्ने । यसमा कलाकर्मीदेखि ‘समाजसेवी’सम्मको ठूलो झुन्ड छ । अर्कोथरीका निम्ति यो ‘गरीखाने’ मौका पनि हो । यी दुबैखाले प्रवृत्ति ‘मौकामा चौका हान्न’ उद्वत हुने गर्छन् ।

‘पीडितलाई सहयोग’ गर्नेहरुको लर्कोमा यस्ता प्रवृत्ति हाबी हुने गर्छ, विगतले यसै भन्छ । सहयोगको भावनाले ओतप्रोत भएर भन्दा पनि आफ्नो ‘पब्लिसिटी’ गर्ने दुषित मनसायले ‘सहयोग’ र ‘राहत’ गर्नेहरुको लर्को लाक्छ । यदि त्यसो नहुँदो हो त, ‘सहयोग घोषणा’ गर्नुअघि पत्रकार सम्मेलन गर्नै पर्दैन, पत्रकारलाई ‘पलपलको खबर’ अवगत गराउनै पर्दैन, राहत दिइरहेको सेल्फी खिचेर राख्नै पर्दैन ।

पीडितको हाल कस्तो छ, कस्तो पीडा झेलिरहेका छन् भनेर सहयोगको हात बढाउने भन्दा पनि उनीहरुकै नाङ्गो आङ र चिसो चुल्हो देखाएर आफ्नो प्रचार गर्नेहरु यसपालि पनि ‘चौका हान्न’ के बेर ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?