Comments Add Comment

तरकारीको भाउ छोइनसक्नु, व्यापारी भन्छन्- अझै बढ्छ

उपभोक्ता अधिकारकर्मी भन्छन्- व्यापारीहरु अराजक भए

३१ साउन, काठमाडौं । एकसाता अघिमात्रै प्रतिकिलो ४५ रुपैयाँमा भिण्डी खरिद गरेका उपभोक्ता मंगलवार त्यही भिण्डी प्रतिकिलो ८५ रुपैयाँमा किन्न बाध्य भए । किन यस्तो भनेर सोध्दा ब्यापारीहरु भन्छन्- मधेसमा बाढी आएकाले ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार अघिल्लो मंगलवार भिण्डी खुद्रामा प्रतिकिलो ४० रुपैयाँमा कारोबार भएको थियो । त्यही भिण्डीको मूल्य आज प्रतिकिलो ८५ रुपैयाँ पुगेको छ । एकसाताकै बीचमा भिण्डीको मूल्य झण्डै शतप्रतिशतले वृद्धि भएको छ ।

त्यस्तै, एक साताअघि कालिमाटी तरकारी बजारमा ३० रुपैयाँ प्रतिकिलोमा खुद्रा विक्री भएको प्याजको मूल्य मंगलवार औषत खुद्रा मूल्य प्रतिकिलो ६५ रुपैयाँ छ । एक सातामा प्याजको प्रतिकिलो औषत मूल्य ८५ प्रतिशतले बढेको छ । अघिल्लो साता बुधवारदेखि नै प्याजको मूल्य आकाशिएको हो ।

एक साताको बीचमा कालिमाटी तरकारी बजारमा हरियो धनियाँको मूल्य ६५ प्रतिशत र परवलको मूल्य ६१ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, झिगुनीको मूल्य ४५ प्रतिशत र बन्दाको मूल्य ४० प्रतिशत बढेको छ ।

सानो गोलभेँडाको मूल्य ३० प्रतिशत र भण्टाको मूल्य २८ प्रतिशतसम्म बढेको छ ।

सोमवारमात्रै अधिकतम ५० रुपैयाँ प्रतिकिलोमा विक्री भएको लौकाको मूल्य मंगलवार प्रतिकिलो ६० रुपैयाँ पुगेको छ ।

अघिल्लो मंगलवार १९५ रुपैयाँमा मा खुद्रा विक्री भएको च्याउको मूल्य अहिले २०५ रुपैयाँ पुगेको छ ।

तराईमा बाढीको बाहना

व्यवसायीका अनुसार हालैका दिनमा तराई क्षेत्रमा आएको बाढीका कारण तरकारी अभाव भएको र त्यसैका कारण मूल्य आकाशिएको हो ।

नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका महासचिव भरत खतिवडाले तराई क्षेत्रमा भएको डुबानका कारण त्यहाँबाट तरकारी भित्रिने क्रम ठप्प भएका कारण भाउ आकाशिएको अनलाइनखबरलाई बताए ।

काठमाडौं र तराई जोड्ने राजमार्ग अवरुद्ध हुँदा भारतबाट तरकारी भित्रिन नसकेका कारण भाउ बढेको उनको तर्क छ । ‘यो मौसममा तरकारीको मूल्य बढ्नु स्वाभाविकै हो,’ महासंघका महासचिव खतिवडाले भने ।

तरकारीको उत्पादन कम हुने समयमा बाढीका कारण आयात पनि प्रभावित हुँदा तरकारीको मूल्य बढेको उनको तर्क छ ।

‘अझै बढ्न सक्छ भाउ’

तरकारीको भाउ अझै बढ्ने सम्भावना रहेको कालिमाटी फलफूल तथा तरकारी विकास समिति बताउँछ । ‘तरकारीको भाउ अझै धेरै बढेको छैन,’ समितिका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेलले अनलाइनखबरसँग भने, ‘केही समय तरकारी अरू महंगो हुने सम्भावना छ ।’

समितिका अनुसार अहिले दैनिक ६ सय मेटि्रक टन तरकारी उपत्यकाको बजारमा भित्रिन्छ । सामान्य अवस्थामा भने बजारमा ७ सयदेखि साढे ७ सय मेटि्रक टन तरकारी भित्रिने गरेको छ ।

उपभोक्ता भन्छन्- व्यापारीहरु अराजक भए

उपभोक्ता अधिकारकर्मीहरू भने व्यापारीले कृत्रिम अभाव सिर्जना गरेर तरकारीको मूल्य बढाएको आरोप लगाएका छन् ।

व्यापारीले अराजकता प्रदर्शन गरेर तरकारीको मूल्य बढाएको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष पे्रमलाल महर्जनले बताए । ‘व्यापारीहरुमा उपभोक्ताप्रति कुनै मानवीय संवेदनशीलता भएन,’ महर्जनले अनलाइनखबरसँग भने, ‘विनाकारण तरकारीको मूल्य बढाइएको छ, यो गलत हो ।’

बाढीका कारण तरकारीको मूल्य बढेको भन्ने व्यपारीको तर्क सही नभएको महर्जनले बताए । ‘काठमाडौंमा आउने तरकारी खासगरी धादिङ, काभ्रे, नुवाकोट, मकवानपुर र चितवन लगायतका जिल्लाबाट आउँछ,’ उनले थपे, ‘ढुवानीमा अवरोध आएको, उत्पादन घटेको कुरामा कुनै तुक छैन, यो नाफा कमाउने बाहना मात्रै हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment