Comments Add Comment

चिनियाँ राष्ट्रपतिलाई स्वागत गर्न नेपाल आतुर छः देउवा

देउवालाई चीन भ्रमणको निम्तो

३२ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चिनियाँ राष्ट्रपति शी जिनपिङलाई स्वागत गर्न नेपाल आतुर रहेको बताएका छन् ।

नेपाल भ्रमणमा रहेका चिनियाँ उपप्रधानमन्त्री वाङ याङले बुधबार देउवासँग भेट गरे । भेटमा द्विपक्षीय हितका विषयमा कुराकानी भएको छ ।

प्रधानमन्त्री देउवाले चिनियाँ राष्ट्रपतिलाई स्वागत गर्न नेपाल आतुर रहेको बताएका छन् । जवाफमा चिनियाँ उपप्रधानमन्त्री वाङले राष्ट्रपति चाँडै नेपाल आउने र भ्रमणको मिति कूटनीतिक स्तरबाट तय हुने जवाफ लिएका छन् ।

देउवालाई चीन भ्रमणको निम्तो

भेटमा चिनियाँ उपप्रधानमन्त्री वाङ याङले आफ्ना प्रधानमन्त्री ली खछ्याङका तर्फबाट प्रधानमन्त्री देउवालाई चीन भ्रमणको निम्तो दिएका छन् । प्रधानमन्त्री देउवाले समय मिलाएर चीन भ्रमणमा आउने जानकारी वाङलाई दिएका छन् ।

रेलमार्गबारे पनि छलफल

दुई नेताको भेटमा सिगात्सेबाट काठमाडौं, पोखरा हुँदै लुम्बनी जोड्ने रेलमार्ग निर्माणबारे पनि काराकानी भएको देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।

प्रधानमन्त्री देउवाले भूकम्पले क्षतिग्रस्त भएको अरनिको राजमार्ग पुनर्निर्माण छिटोे गर्नु पर्नेमा जोड दिएका छन् । बाहिरी चक्रपथ निर्माणका साथै बढ्दो ब्यापार घाटा कम गर्नेबारे पनि कुराकानी भएको छ ।

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार दिनेश भट्टराईका अनुसार गत १२ मेमा नेपालले हस्ताक्षर गरेको वान बेल्ट वान रोड (ओबीओआर) समझदारी पत्रलाई कार्यान्वयनमा कसरी अगाडि बढाउने भन्नेबारे दुई नेताबीच छलफल भएको थियो ।

चिनियाँ उपप्रधानमन्त्री वाङले चीनले अघि सारेको वेल्ट एण्ड रोड इनिसेटिभ (बीआरआई)बारे चासो व्यक्त गरेका थिए ।

नेपालले प्रचण्ड सरकारकै पालामा बीआरआईमा हस्ताक्षर गर्ने निर्णय गरिसकेको छ ।

प्रधानमन्त्री देउवाले रोड, रेलका साथै क्रस बोर्डर ट्रान्समिसन लाइन निर्माणमा जोड दिएका छन् । साथै नेपालमा चिनियाँ लगानी भित्र्याउन पनि आग्रह गरेको उनको निजी सचिवालयले जनाएको छ ।

साथै, एक चीन नीतिप्रति नेपालको निरन्तर प्रतिबद्धताप्रति उपप्रधानमन्त्री वाङले पटक-पटक प्रशंसा गरे ।

नेपालको स्थिर परराष्ट्र नीतिको पनि सराहना गरे । द्विपक्षीय सम्बन्ध र समन्वयलाई अझ सुदृढ बनाउँदै आगामी दिनमा व्यापार, पर्यटन, ऊर्जा, सीमापार ‘कनेक्टिभिटी’ तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने आफ्नो मुलुकको चाहना उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment