Comments Add Comment

राष्ट्रपतिद्वारा सरकारको ध्यानाकर्षण- विपतको सामना गर्न दीर्घकालीन योजना बनाऊ

३२ साउन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच बुधबार भेटवार्ता भएको छ । शितल निवासमा भएको भेटमा राष्ट्रपति भण्डारीले बाढीपहिरो पीडितको तत्काल उद्धार तथा राहतको व्यवस्था मिलाउन र प्राकृतिक विपत्तिको सामना गर्नका लागि दिर्घकालीन योजना बनाउन देउवाको ध्यानाकर्षण गराइन् ।

राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा लेखिएको छ, ‘सरकारी निकायका साथै सामाजिक संघ संस्था एवम् निजीक्षेत्र समेतलाई यथोचित रुपमा परिचालन गरी विपतको अवस्थाबाट सर्वसाधारण जनतालाई तत्काल उद्धार एवम् राहतका लागि आग्रह गर्नुभयो ।’

राष्ट्रपति भण्डारीले बाढी पहिरोका कारण मुलुकमा आउनसक्ने खाद्य संकट र प्रभावित क्षेत्रमा फैलिन सक्ने महामारीको समस्या समाधान तर्फ पनि ध्यान दिन प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएकी थिइन् ।

साथै मुलुकको संवेदनशील भौगोलिक अवस्थितिका कारण नदी प्रणालीलाई व्यवस्थित गरी प्राकृतिक प्रकोपको निराकरण गर्न सरकारले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाउनु पर्ने तर्फ ध्यानाकर्षण गराएको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रपति भण्डारीले बाढी पहिरोले पुर्‍याएको धनजनको क्षतिप्रति दुःख व्यक्तसमेत गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment