Comments Add Comment

चुनावमा होमियो राजपा, उम्मेदवार छनोट प्रक्रिया सुरु

साइकल चुनाव चिन्ह बनाउने निर्णय


८ भदौ, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) चुनावमा होमिएको छ । उसले साइकल चुनाव चिह्न रोज्ने निर्णय गरेको छ ।

यसअघि राजपाले छाता चुनाव चिन्ह मागेको थियो । तर निर्वाचन आयोगले कानुनी बाधा रहेको भन्दै छाता दिन नसकिने बरु राजपामा आवद्ध दलहरुमध्ये कुनै एक पार्टीको चुनाव चिन्ह प्रदान गर्न सकिने बताएको थियो । जसअनुसार राजपाले रामसपाको चुनाव चिन्ह साइकल रोजेको हो ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले सरकारले केही माग सम्बोधन गरेको र राजनीतिक परिस्थिति पनि फेरिएकाले चुनावमा जाने निर्णय गरेको बताए ।

राजपा अध्यक्षमण्डलको बैठकले तेस्रो चरणको स्थानीय तहदेखि केन्द्रीय सदस्यसम्म पार्टीको उपस्थिति गराउन जनताको बीच -चुनाव)मा जाने निर्णय गरेको छ ।

संविधान संशोधन विधेयक असफल भएपछि भावी रणनीति तय गर्न राजपाले बैठक बोलाएको थियो । बैठकले संशोधन विधेयकलाई षड्यन्त्रपूवर्क असफल बनाएको ठहर समेत गरेको छ । ‘एमालेले संविधान संशोधन विपक्षमा रही आफ्नो नस्लीय चरित्र, अहंकारवादी सोच, राष्ट्रिय एकता तथा मधेस विरोधी चरित्रलाई अझ पुष्टि गरेको छ,’ राजपाले भनेको छ । साथै संशोधनको पक्षमा बन्दै गएको माहोललाई आफ्नो पक्षमा पार्न नसक्नु सरकारको कमजोरी भएको बताएको छ ।

संशोधन असफल भएको विरोधमा ९ देखि २१ गतेसम्म हातमा कालो पट्टी बाँधेर प्रदर्शन गर्ने निर्णय गरेको छ ।

राजपा बैठकले संशोधन विधेयक फेल भएपनि आफूले उठाएको अधिकार र पहिचानको मुद्दाहरु संसदमा स्थापित भएको बताउँदै सन्तोष व्यक्त गरेको छ ।

चुनावमा होमियो राजपा

राजपाले प्रदेश २ मा असोज २ मा हुने स्थानीय चुनावका लागि उम्मेदवार छनोट प्रक्रिया थालेको छ ।

उसले ८ जिल्लामा नेताहरुलाई केन्द्रीय पर्यवेक्षकको रुपमा पठाउने निर्णय गरेको छ । सप्तरीमा नरसिंह चौधरी, सिरहामा गजाधर यादव, महोत्तरीमा गोविन्द चौधरी, सर्लाहीमा शेखर सिंह, रौतहटमा सत्यनारायण मण्डल, बारामा मालामाती राना थारु र पर्सामा विजय गुप्तालाई खटाइको छ ।

९ गते सबै जिल्लामा बैठक गर्ने र स्थानीय तहहरुमा पर्यवेक्षक पठाउने उसको निर्णय छ । १० गते इच्छुक उम्मेदवारको नाम संकलन, ११ गते सहमतिको प्रयास र १२ गते जिल्लास्तरमा उम्मेदवारको नाम टुंगो लगाउने प्रयास हुनेछ र त्यसो नभए १३ गते अध्यक्ष मण्डललाई नाम पठाइने उसको निर्णय छ ।

राजपाले स्थानीय तहको निर्वाचनका लागि घोषणा पत्र मस्यौदा समिति बनाउने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment