Comments Add Comment

चुक्तापुँजी वृद्धिपछि बजारमा फर्कियो वाणिज्य बैंकको प्रभुत्व, बिमाको हिस्सा बढ्दै

कुल बजार पूँजीकरणको आधारमा समूहगत बजार हिस्सा

८ भदौं, काठमाडौं । चुक्ता पुँजी वृद्धिपछि सेयर बजारमा वाणिज्य बैंकको प्रभुत्व अझै बलियो बन्दै गएको देखिएको छ ।
बजार पुँजीकरणको आधारमा हेर्दा बैंक तथा वित्तीय संस्थाको हिस्सा पछिल्लो समय थप बढ्न थालेको छ । आर्थिक वर्ष २०७१/७२ मा सेयर बजारमा बैंक तथा वित्तीय संस्था (लघुवित्त सहित) को हिस्सा कुल बजार पुँजीकरणको आधारमा ६४ प्रतिशत रहेकोमा आव २०७३/७४ मा बढेर ६९.४९ पुगेको हो ।

बैंक तथा वित्तीय संस्थाको संख्या घटेपनि चुक्ता पुँजीमा भएको वृद्धिसँगै बढेको सेयर संख्या र बजारमा मूल्यमा भएको वृद्धिले यस्तो देखिएको हो । २०७१/७२ मा बजारमा कुल १ सय ७६ वटा बैंक तथा वित्तीय संस्था सूचीकृत भएकोमा उनीहरुको सेयरको मूल्य ६ खर्ब ३५ अर्ब रहेको थियो । २०७३/७४ मा भने बजारमा सूचीकृत बैंक तथा वित्तीय संस्थाको संख्या घटेर १ सय ४३ मा सिमित भएकोमा उनीहरुको सेयरको मूल्य भने १२ खर्ब ९० अर्ब रहेको थियो ।

सूचीकृत बिमा कम्पनीको संख्या २२ मै सिमित रहेपनि बजारमा उनीहरुको सेयर मूल्य बढेको कारण बजार हिस्सा भने १३.१ प्रतिशतले बढेर १५.९३ पुगेको छ । गत असारसम्ममा यी कम्पनीहरुको कुल बजार पूँजीकरण २ खर्ब ९५ अर्ब रहेको छ । बिमा सहित बैंक तथा वित्तीय संस्थाको बजार हिस्सा भने दुई वर्षमा ७७ प्रतिशतबाट बढेर ८५.४२ प्रतिशत पुगेको छ ।

नयाँ सञ्चालनमा आएका बिमा कम्पनी र गैससबाट परिणत भएका लघुवित्त कम्पनी बजारमा सूचीकृत भएपछि यो हिस्सा थप केही बढ्न सक्छ ।
यो अवधिमा जलविद्युत् कम्पनीहरुको संख्या बजारमा दोब्बरभन्दा धेरैले बढेपनि बजार हिस्सा भने आधाले घटेको छ । बजारमा सूचीकृत जलविद्युत् कम्पनीको संख्या ६ बाट बढेर १४ पुगेपनि बजार हिस्सा ७ प्रतिशतबाट घटेर ४.१६ मा सिमित भएको हो । यो समूहको कुल बजार पूँजीकरण ७७ अर्ब रहेको छ । कुल बजार पूँजीकरण रकम बढेपनि प्रतिशतमा भने हिस्सा घटेको हो ।

‘अन्य’ समूहमा रहेको सक्रिय एक मात्र कम्पनी नेपाल टेलिकमको बजार हिस्सा दुई वर्षको अवधिमा बढेको देखिएपनि अघिल्लो आव २०७२÷७३ को तुलनामा भने केही घटेको छ । गत असारसम्मको यो समूहको कुल बजार पुँजीकरण १ खर्ब २० अर्ब रहेको छ भने बजार हिस्सा ६.५१ प्रतिशत छ ।

अझै पनि स्वभाविक अवस्थामा बजार रहँदा नेपाल टेलिकमको सेयर मूल्यमा ३ रुपैयाँले वृद्धि भएमा बजार सूचक १ अंक बढ्न सक्ने अवस्थामा धेरै परिवर्तन आएको देखिदैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment