Comments Add Comment

सात दिन भित्र योजना पेस गर्न मातहतका निकायलाई ऊर्जा मन्त्रीको निर्देशन

९ भदौ, काठमाडौं । ऊर्जा मन्त्री महेन्द्रबहादुर शाहीले सात दिनभित्र नयाँ परियोजनाको सूची मन्त्रालयमा पेश गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।

ऊर्जा मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०७३/०७४ को वाषिर्क समिक्षा तथा समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उनले काम भएन, काम पाइएन भन्दै नबस्न र सात दिन भित्र कार्ययोजना पेस गर्न निर्देशन दिएका हुन् ।

विशेषगरी जलविद्युत् उत्पादन कम्पनी, जलविद्युत् उत्पादन तथा विकास कम्पनी, विद्युत् विकास विभाग, जल तथा ऊर्जा आयोग, राष्ट्रिय प्रसारण कम्पनीलगायतका निकायलाई कामको सूची पेस गर्न निर्देशन दिइएको छ ।

मन्त्री शाहीले परम्परागत तथा नियमित तरिकाले काम गरेर सुधार हुन नसक्ने उल्लेख गर्दै द्रुत विधिबाट काम गर्ने वातावरण मिलाउन र जनताले कुनै पनि गुनासो गर्ने अवस्था आउन नदिन समेत कर्मचारीलाई सचेत गराएका छन् ।

लगानी गर्न नसक्ने र केवल आयोजना मात्रै लिएर बस्ने प्रवृत्तिको अन्त्यका लागि आर्थिक रुपमा सबल भएका र सवल देखिएकालाई परियोजनाको अनुमतिपत्र दिन, अनुमतिपत्र लिएको दुई वर्षभित्र निर्माण सुरु गराउन र आवश्यक नीतिगत सुधारका लागि के कस्तो गर्नुपर्ने हो त्यसको समेत फेहरिस्त बनाउन समेत उनले मातहतका निकायलाई आग्रह गरे ।

बहुउद्देश्यीय आयोजना प्राथमिकतामा राख्न निर्देशन

मन्दी शाहीले मातहतका निकायलाई नदी प्रवाहमा आधारित आयोजना भन्दा पनि बहुउद्देश्यिय आयोजना निर्माणलाई विशेष प्राथमिकतामा राख्न जोड दिदै दिएका छन् ।

उनले ऊर्जाको माग र जनताको चाहानलाई सम्बोधन गर्न पनि ठूला आयोजना आवश्यक रहेको उल्लेख गर्दै सोही अनुसार योजना निमार्ण गर्नुपर्ने बताए ।

ऊर्जा राज्यमन्त्री शम्भुलाल श्रेष्ठले जनताको माग र भावनालाई केन्द्रमा राखेर जिम्मेवारी अनुसारको कर्तव्य निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् ।

उज्यालो नेपालको अभियानले जनताका केही हुन्छ र केही गर्न सकिन्छ भन्ने सन्देश गएको भन्दै उनले हामीले नगरे कसले गर्ने, अहिले नगरे कहिले गर्ने भन्ने मान्यताका साथ काम गर्नुपर्ने बताए ।

बैठकमा ऊर्जा मन्त्रालयका सचिव अनुपराज उपाध्यायले राष्ट्रिय आवश्यकतालाई ख्याल गरेर काम गर्न मातहतका कर्मचारीलाई निर्देशन दिएका छन् ।

उनले आव २०७३/७४ मा देखिएका समस्यालाई समाधान गरेर तय भएका कार्यक्रमलाई अगाडि बढाउन आग्रह गरे ।

विद्युत् विकास विभागका महानिर्देशक नविनराज सिंहले काम गर्न नसक्ने प्रवर्द्धकलाई १५ दिने सूचना दिएर सम्पर्कमा आउन आग्रह गरिएको र नीतिगत सुधारको प्रयास भइरहेको बताए ।

नेपाल विद्युत् प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणले जनताको सेवालाई नै ध्यानमा राखेर काम गरेका कारण सफलता प्राप्त गरेको र आगामी दिनमा जलविद्युत् आयोजना, प्रसारण लाइन निर्माणमा विशेष ध्यान दिइएको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment