Comments Add Comment

धरहरा पुनर्निर्माणबाट हात झिक्ने नेपाल टेलिकमको संकेत


९ भदाै , काठमाडौं । नेपाल टेलिकमले धरहरा पुनर्निर्माणबाट हात झिक्ने संकेत गरेको छ । धरहरा क्षेत्रमा ब्यापारिक कम्प्लेक्स निर्माणमा पुरातत्व विभाग र स्थानीयबासीले असहमति जनाएपछि टेलिकम पछि हट्न खोजेको हो ।

सरकारले गतवर्ष नै टेलिकमको लगानीमा धरहरा बनाउने निर्णय गरेको थियो । त्यसअनुसार टेलिकमले धरहरामा विशेष ब्यापारिक क्षेत्र कायम गर्ने र ३० वर्षसम्म आफूले नै सञ्चालन र ब्यवस्थापन गर्ने प्रस्ताव गरेको थियो ।

टेलिकमले गोश्वारा हुलाक, टक्सार विभाग लगायतको जग्गालाई समेटेर धरहरासँगै ८ रोपनी जग्गामा ४ तले ब्यापारिक कम्प्लेक्स बनाउन पुरातत्वसँग स्वीकृति मागेको थियो ।

तर, पुरातत्व विभागले पुरातात्विक क्षेत्रमा व्यापारिक कम्प्लेक्स निर्माणका लागि स्वीकृति दिन नसकिने अडान लिएको छ । स्थानीयबासीले पनि टक्सार विभाग हटाएर त्यहाँ अग्लो भवन नबनाउन चेतावनी दिएका छन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अधिकारीहरु समेत संलग्न एक बैठकमा पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले टेलिकमले प्रस्ताव गरेअनुसार ब्यापारिक कम्प्लेक्स निर्माणका लागि स्वीकति दिन नसकिने बताएका छन् ।

जवाफमा नेपाल टेलिकमकी महाप्रवन्धक कामिनीराज भण्डारीले लगानी उठ्ने वातावरण नभए टेलिकमले धरहरामा लगानी गर्न नसक्ने बताएको एक सहभागीले जानकारी दिए ।

उक्त छलफलमा सहभागी पुननिर्माण प्राधिकरणका कार्यकारी निर्देशक गोविन्दराज पोखरेलले धरहरामा लगानी नगर्ने भए औपचारिक रुपमा पत्रमार्फत जानकारी गराउन अनुरोध गरेका छन् । तर, अहिलेसम्म पत्र काटिएको छैन ।

टेलिकमका एक उच्च अधिकारीले लगानी उठ्ने वातावरण नबने धरहरा नबनाउने अडान कायमै रहेको बताए ।

टेलिकमले बिजनेश कम्प्लेक्ससहित धरहरा बनाउन ७ अर्ब ४३ करोड लगानी गर्ने बताएको छ । साथै सुन्धारालाई छोपेर कलात्मक बनाउने प्रस्ताव गरेको छ ।

तर, पुरातत्व विभागले काठमाडौंमा पुरातात्विक सुन्धारालाई छोपेर राख्ने नहुने बताएको छ ।

पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहलले सरकारको निर्णयअनुसार डिजाइन तयार भएको र त्यसैलाई स्वीकारेर टेलिकमले लगानी गर्ने विश्वास व्यक्त गरे ।

विभागले ३ अर्ब २० करोड खर्च गर्नुपर्ने गरी नक्सा स्वीकृत गरिसकेको छ । तर, टेलिकमले त्यो डिजाइन परिवर्तन गर्नुपर्ने भन्दै विभिन्न व्यापारिक किसिमका प्रस्ताव ल्याएपछि सहमत हुन नसकिएको दाहालले अनलाइनखबरलाई बताए ।

टेलिकमले भने धरहरामा घुम्न आउनेहरुबाट शुल्क उठाएर मात्रै सञ्चालन खर्च ब्यवस्थापन नहुने बताएको छ ।

पुनर्निर्माण प्राधिकरण्का प्रवक्ता यमलाल भुसाल धरहराबारे अन्तिम निर्णय गर्ने समय आएको बताउँछन् ।

केही समयभित्रै प्राधिकरणले धरहराको पुनर्निर्माण कसले कसरी गर्ने भन्ने टुंग्याउने उनको भनाइ छ । ‘लामो समय यो विषयलाई यत्तिकै राख्ने हाम्रो चाहाना छैन । अब जतितसक्दो छिटो यो अन्योल हामी टुंग्याउँछौं,’ भुसालले भने ।

टेलिकमकी प्रवक्ता प्रतिभा बैद्य धरहरामा के गर्ने भन्ने विषय अझै छलफलमा रहेको बताउँछिन् । उनले उचित वातावरण बने लगानी गर्न सकिने बताइन् ।

के छ विभागको अडान ?

१२ बैशाख २०७२ को विनाशकारी भूकम्पले भत्किएको धरहरालाई स्मारकसहित आकर्षक पार्कका रुपमा रुपमा विकास गर्ने पुरातत्व विभागको योजना छ । भाँचिएको धरहराको ठूटोलाई जस्ताको तस्तै संरक्षण गर्ने र त्यसकै अगाडि नयाँ धरहरा ठड्याउने गरी विभागले डिजाइन तयार गरेको छ ।

धरहरा निर्माणका लागि ‘मेरो धरहरा म आफैं बनाउँछु’ अभियानमार्फत ९ करोड संकलन गरिएको छ । धरहरा परिसरमा म्यूजियम, थिएटर, वाटर फाउन्टेन, आकर्षक बँगैचा, रेष्टुराँ, पार्किङ लगायतका सुविधाहरु राखेर निर्माण गर्ने भनिएको छ ।

बाहिरबाट ११ तलाको देखिने धरहराको भित्री संरचना भने २१ तलाको हुनेछ । साथै भर्‍याङ चढेर होइन, लिफ्टबाट धरहराको ‘टप’मा पुग्ने व्यवस्था हुनेछ । आकस्मिक अवस्थाका लागि भर्‍याङको पनि ब्यवस्था गरिनेछ ।

साथै दुई तला अन्डरग्राउन्ड बेसमेन्ट हुनेछ, जहाँबाट लिफ्ट चढेर टुप्पोमा पुग्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment