Comments Add Comment

बेवारिसे शिशुको जिम्मा निःसन्तान आले दम्पतीले लिए

१५ भदौ, पोखरा । एसओएस बालग्राम गण्डकीमा रहेको एक ४० दिने बेवारिसे शिशुलाई पोखरा १५ निवासी ताराबहादुर आले र उनकी श्रीमती कान्ती आलेले धर्मपुत्रको रुपमा जिम्मा लिएका छन् ।

बेवारिसे शिशुलाई पोखरामा आयोजित एक कार्यक्रमकाबीच जिल्ला वाल कल्याण समितिका वाल कल्याण अधिकारी लक्ष्मीदेवी जिसीले आले दम्पतीलाई शिशु हस्तान्तरण गरिन् ।

कार्यक्रममा धर्मपुत्र पाएपछि आले दम्पती खुशीले गद्गद् देखिए । विवाह गरेको करीब १२ वर्षसम्म पनि निःसन्तान रहेका आले दम्पती धर्मपुत्रको रुपमा शिशु पाउँदा खुशीले भावविभोर भए ।

उनीहरुले धर्मपुत्रको रुपमा लिएको शिशुलाई आफ्नै सन्तानजस्तै माया गर्ने बताए । धर्मपुत्र पाउँ भनि जिल्ला वाल कल्याण समितिमा निवेदन दिएका उनीहरुले २० दिनपछि बल्लबल्ल शिशु पाएको भन्दै खुशी व्यक्त गरे ।

शिशु पाएपछि आले दम्पतीले एकै स्वरमा भने, ‘बडो संघर्ष गरेर अभिभावक भइयो, अब आफ्नै सन्तानजस्तै गरेर पाल्छौं ।’ आले दम्पतीले यसो भनिरहँदा वाल कल्याण अधिकारी लक्ष्मीदेवी जिसीले प्रकृया पुर्‍याउँदा केही ढिलाई भएको स्पष्ट पारिन् ।

आफ्नै बच्चाजस्तो गरेर पाल्नेमा ढुक्क देखिएकी जिसीले भनिन्, ‘शिशु धर्मपुत्रको रुपमा पाउँ भनि निवेदन लिएर आएका थिए, प्रकृया पुरा गर्नुपर्छ भन्दा आले दम्पती दुवैजना रुँदै घर फर्केका थिए, अहिले पाउँदा मख्ख छन्, पक्कै राम्रोसँग पाल्छन् ।’

आले दम्पतीले शिशुको नाम सञ्जोग आले राखेका छन् । विवाह गरेको दशक वित्दा पनि सन्तान नहुँदा चिन्तित आले दम्पतीले संयोगवश बच्चालाई धर्मपुत्रको रुपमा पाएकाले सञ्जोग राखेको बताए ।

बेवारिसे शिशु स्याङजाकी एक विवाहित महिलाले अवैध गर्भबाट जन्माएर छाडेको श्रोतले बताएको छ । काठमाडौं बसेर जागिर खाँदै गरेकी ती महिलाको एक युवासँग अवैध सम्बन्ध रहँदा गर्भ रहेको थियो ।

श्रोतका अनुसार ती गर्भवती महिला करीब ६ महिनाको गर्भ लिएर पोखरा आएकी र उनले पोखरामै शिशुलाई जन्म दिइन् । शिशु जन्मेपछि महिलाले सुत्केरी हुँदा सहयोग गर्ने आफ्नै साथीलाई बच्चा सुम्पिइन् र आफूचाहीँ काठमाडौं फर्किइन् ।

यता शिशुको जिम्मा लिएकी ती साथीले अर्कै एक महिलालाई बच्चा जिम्मा दिइन् । शुरुमा श्रीमानसँग सल्लाह गरेर शिशु लगेकी ती महिलाले पछि ससुराको विरोधपछि फेरी अर्कै एक दम्पतीलाई शिशु सुम्पिए । एकपछि अर्को गर्दै शिशु चौथो कोखमा परेपछि भने शिशुले असल अभिभावक पायो । त्यो चौथो व्यक्ति हुन् हाल धर्मपुत्रको रुपमा शिशु ग्रहण गर्ने आले दम्पती ।

निःसन्तान आले दम्पतीले शिशु पाएलगत्तै करीब २० दिनअघी जिल्ला वाल कल्याण समितिमा स्थायी संरक्षक हुन पाउँ भनि निवेदन दिए । त्यसपछि समितिले १५ दिने हकदाबीको सूचना निकालेर प्रकृया पुर्‍याई शिशु आले दम्पतीलाई सुम्पिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment