Comments Add Comment

प्रिमियममा सेयर पाउन लगानीकर्ताले खर्चिए ११ अर्ब ५९ करोड


१६ भदौं, काठमाडौं । बैंक तथा वित्तीय संस्थाले जारी गरेका सेयर पाउन लगानीकर्ताहरुले ११ अर्ब ५९ करोड रुपैयाँसम्म प्रिमियम मूल्य तिरेको देखिएको छ ।

राष्ट्र बैंकले प्रकाशित गरेको गत आव २०७३/७४ को असारसम्मको विवरण अनुसार बैंक तथा वित्तीय संस्थामा प्रिमियममा सेयर बेचेर प्राप्त भएको आम्दानी ११ अर्ब ५९ करोड रुपैयाँ सञ्चिती रहेको देखिएको छ ।

बैंक तथा वित्तीय संस्थाले जारी गर्ने हकप्रद सेयर र नयाँ निष्कासन (एफपीओ) मा अंकित मूल्य १ सय रुपैयाँ नै रहने गरेको छ । तर, एफपीओ निष्कासनको क्रममा नै अंकित मूल्य बाहेक कम्पनीहरुले प्रिमियम मूल्य तोक्ने गर्छन् ।

एफपीओ जारी गर्दा कम्पनीमा नयाँ सेयर लगानीकर्ता भित्र्न्छन् । यस्ता नयाँ लगानीकर्तालाई पनि १ सय रुपैयाँमा नै सेयर बिक्री गर्दा पुराना सेयर लगानीकर्तालाई अन्याय हुने मानिन्छ । पुराना लगानीकर्ताले कम्पनीको उतार चढावमा साथ दिएको हुने र लामो अवधिदेखि कम्पनीमाथि विश्वास देखाएकोले नयाँ भित्रने लगानीकर्तालाई उही व्यवहार गर्न नहुने मान्यतामा प्रिमियम मूल्य तोक्ने गरिन्छ ।

त्यसबाहेक प्रिमियमवापत उठ्ने रकम सोझै चुक्ता पुँजीमा गणना गर्नु पर्दैन र तत्काल सञ्चितीमा देखाएर पछि पुन : पुराना र नयाँ दुवै लगानीकर्ताहरुलाई लाभांशको रुपमा बाड्न सकिन्छ ।

यही कारण पनि कम्पनीहरुले सजिलै चुक्ता पुँजी पुर्याउँन प्रिमियममा सेयर जारी गर्ने प्रवृत्ति पनि बढेको देखिन्थ्यो । लाभांशको रुपमा बोनस सेयर बाड्दा चुक्ता पुँजी पनि बढ्छ ।

बैंक तथा वित्तीय संस्थाले जारी गरेको हकप्रद सेयर बिक्री नभएमा पनि बोलकबोल मार्फत मूल्य बढाबढमा पुनः बिक्री गर्ने गरिन्छ । यसरी मूल्य बढाबढको आधारमा गरिने बिक्रीमा अंकित मूल्यभन्दा बढि हुने रकम पनि सेयर प्रिमियमको रुपमा सञ्चितीमा राखेर पछि बाड्न सकिन्छ ।
बैंकहरुले प्रिमियम रकम बढाउन हकप्रदमा दाबी लाग्ने लगानीकर्ताहरुलाई जानकारी नै नदिने गरेको आरोप समेत लाग्ने गरेको थियो । अहिले भने धितोपत्र बोर्डले यसमा केही कडाइ गरेको छ ।

कुनमा कति प्रिमियम सञ्चिती ?

सञ्चालनमा रहेका बैंकहरुमध्ये २७ वाणिज्य बैंकमा गत असार अन्त्यसम्ममा १० अर्ब ८८ करोड सेयर प्रिमियम सञ्चिती रहेको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंकमा ३ अर्ब १० करोड, स्ट्याण्डर्ड चार्टर्डमा ३ अर्ब ४ करोड, कृषि बिकास बैंकमा ५४ करोड, सिटिजन्स बैंकमा ४३ करोड, एनआइसी एशियामा ४१ करोड रहेको छ । अन्य वाणिज्य बैंकमा ८ करोड देखि २६ करोडसम्म सेयर प्रिमियम रकम सञ्चितीको रुपमा रहेको छ ।

यता, विकास बैंकहरुमध्ये २३ वटामा कुल ६४ करोड रुपैयाँ सेयर प्रिमियम सञ्चित रहेको छ । वेष्र्टन डेभलपमेन्ट बैंकको सबैभन्दा धेरै १४ करोड, मुक्तिनाथ बिकास र ज्योती विकासमा ५/५ करोड रुपैयाँ रहेको छ ।

वित्त कम्पनीहरुमध्ये १४ वटामा कुल ६ करोड ४६ लाख सेयर प्रिमियम सञ्चिती रहेको छ । सबैभन्दा धेरै यो सञ्चिती रहनेमा आइसीएफसी फाइनान्स रहेको छ । कम्पनीको सेयर प्रिमियम सञ्चिती २ करोड ५७ लाख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment