Comments Add Comment

आत्मकथा लिएर आए मदनकृष्ण, हरिवंशले गरे विमोचन

काठमाडौं । बरिष्ठ हास्यव्यंग्य कलाकार मदनकृष्ण श्रेष्ठ आत्मकथा ‘महको म’ लिएर पाठकमाझ आएका छन् । मंगलबार एक कार्यक्रमबीच उनका जोडी हरिवंश आचार्यले उक्त आत्मकथा विमोचन गरे ।

‘आत्मकथा लेख्न सजिलो हुन्छ होला भन्ठानेको थिएँ , ‘मदनकृष्णले कार्यक्रममा भने, ‘तर मलाई ६ वर्ष लाग्यो ।’ आत्मकथा लेख्न सुरु गरेको बेलामा श्रीमतीलाई क्यान्सर भएर उपचारतिर लाग्नु परेकाले ढिलाई भएको उनले बताए ।

मदनकृष्णका अनुसार पार्किन्सन्स रोगले गर्दा लेख्ने काम निकै कष्टप्रद बनेको थियो ।

‘लेख्दै जाँदा अक्षर सानो–सानो हुँदै जान्थ्यो,’ उनले भने, ‘एउटा हातले अर्को हातलाई सहारा दिनुपर्थ्यो ।’

आफूलाई पुस्तक लेख्न सहयोग गर्नेहरुलाई धन्यवाद दिने क्रममा मदनकृष्णले धेरै व्यक्तिको नाम लिए । तर, हरिबंशको नाम छुटाए । फेरि मञ्चमा फर्किंदै उनले हरिबंशलाई धन्यवाद दिए ।

‘हरिबंश मेरो जीवनको अद्वितीय र असाधारण साथी हो,’ उनले भने, ‘मलाई हरिबंश जस्तो असाधारण साथी दिएकोमा उनको बुवा–आमालाई पनि धन्यवाद दिन चाहन्छु ।’

कार्यक्रममा बोल्दै हरिबंशले मदनकृष्णलाई आफ्नो ‘जीवन दाई’ को संज्ञा दिए । उनले ठट्यौली पारामा भने, ‘सबैभन्दा नजिकको व्यक्तिलाई जीवनसाथी भनिन्छ । तर, हामी दुवैजना पुरुष भएकाले जीवनसाथी भन्न मिलेन । म उहाँलाई जीवन दाई भन्न चाहन्छु ।’

महजोडीसँग निकट लघुकथाकार रवीन्द्र समिरले हरिबंशको आत्मकथाभन्दा मदनकृष्णको आत्मकथा धेरै फरक भएको बताए । उनले भने, ‘दुईजनाको आत्मकथामा धेरै कुरा रिपिट होलान् भन्ने लाग्न सक्छ । तर, चिना हराएको मान्छे भन्दा यो किताब शतप्रतिशत नौलो छ ।’

विमोचन कार्यक्रम संगीतमय बनाइएको थियो । सुरुमा मदनकृष्णले लेखेका गीत छोरा यमन श्रेष्ठ र छोरीले पालैपालो गए । त्यसपछि मदनकृष्ण आफैंले आफ्ना दुई गीत सुनाए ।

यो पुस्तकलाई फाइन प्रिन्टले बजारमा ल्याएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment