News Summary
Generated by OK AI. Editorially reviewed.- वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको बायोपिक फिल्म 'म मदनकृष्ण' मा हरिवंश आचार्यको भूमिकामा अभिनेता अरुण क्षेत्रीले अभिनय गर्ने पक्का भएको छ ।
- निर्देशक मिलन चाम्सले निर्देशन गर्ने उक्त फिल्ममा मदनकृष्ण श्रेष्ठको मुख्य भूमिकामा महेश त्रिपाठी र श्रीमती यशोदाको भूमिकामा केकी अधिकारी देखिनेछन् ।
- भिन्टेज मोसन पिक्चर्सले निर्माण गर्न लागेको यस फिल्मको छायांकन भदौको दोस्रो साताबाट सुरु गर्ने तयारी गरिएको छ ।
काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित हुने बायोपिक फिल्म ‘म मदनकृष्ण’ मा हरिवंश आचार्यको भूमिकामा को हुनेछ भन्ने कौतुहलता ब्यापक थियो ।
मदनकृष्णका सहयात्री हरिवंशको रोल फिल्मको कथामा मेरुदण्ड भएकैले यसको कास्टिङलाई लिएर पर्खाइ थियो । प्रतीक्षाको समय सकिएको छ र मेकरले हरिवंशको भूमिकामा खेल्ने कलाकार पक्का गरेका छन् ।
यो फिल्ममा हरिवंशको भूमिकामा अभिनेता अरुण क्षेत्रीले अभिनय गर्ने भएका छन् । ‘महापुरुष’मा दर्शकले हरिवंश र अरुणलाई एकसाथ देखेका थिए ।
क्षेत्रीले मदनकृष्णको बायोपिक फिल्म साइन गरेका छन् । निर्देशक मिलन चाम्सले हरिवंशको रोलमा अरुणलाई साइन गराइएको बताए ।
मदनकृष्णको वास्तविक जीवनमा आरोह र अवरोहलाई समेटेर यो बायोपिक फिल्म बनाउन लागिएको हो । यो सँगै निर्देशक चाम्सले बायोपिक फिल्म निर्देशनमा ह्याट्रिक गर्नेछन् ।
उनले गतवर्ष फुटबल खेलाडी एन्जिला तुम्बापो सुब्बाको जीवनकथामा ‘अञ्जिला’ निर्देशन गरेका थिए । त्यसअघि सृष्टि केसीको जीवनमा आधारित ‘ब्लाइन्ड रक्स’ निर्देशन गरेका थिए ।
मदनकृष्णको बायोपिकमा मदनकृष्णको भूमिका अभिनेता महेश त्रिपाठीले निर्वाह गर्नेछन् । यो बायोपिकको शीर्ष भूमिकामा दर्शकले केकी अधिकारीलाई देख्न पाउनेछन् । उनले मदनकृष्णकी श्रीमती यशोदाको भूमिका निर्वाह गर्नेछिन् ।
मदनकृष्णको बाल्यकाल, सरकारी जागिरे जीवन, हरिवंशसँगको सहकार्य, अन्तरजातीय विवाहलगायतको कथासमावेश हुनेछ । फिल्ममा राजाराम पौडेल, किरण केसी, रुषा न्यौपाने, यमन श्रेष्ठ, देशभक्त खनालको पनि अभिनय रहनेछ ।
भिन्टेज मोसन पिक्चर्सको प्रस्तुति बायोपिक ‘म मदनकृष्ण’लाई राजकुमार श्रेष्ठले निर्माण गर्नेछन् । भदौ दोस्रो सातादेखि छायांकन तयारी छ ।
प्रतिक्रिया 4